काठमाडौं/ डोक्लाममा भारत र चीनबीच उत्पन्न बखेडाका कारण स्थिति निकै तनावपूर्ण छ । तनाव सुरु भएको दुई महिनाभन्दा बढी भैसकेको छ । दुवै देशका सैनिक आमने–सामने छन् । दुवै देशका नेता र सञ्चार माध्यमले एकअर्कालाई धम्की र गाली पनि गर्दै आएका छन् । तर यति हुँदा पनि यी दुवै देशका सेनाले एकअर्काविरुद्ध गोली हानाहान किन गर्दैनन् रु यसै विषयमा आधारित रहेर बीबीसी हिन्दीमा आदर्श राठौरले एउटा रोचक रिपोर्ट लेखेका छन् ।

रिपोर्टमा भनिएको छ, ‘‘माहोल निकै तनावपूर्ण छ तर अहिलेसम्म दुवै देशका सैनिकले संयम देखाउँदै आएका छन् । यति ठूलो तनाव भएर पनि हिंसाको कुनै समाचार आएको छैन । सम्बन्धमा तिक्तता आउँदा पनि भारत र चीनको सीमामा जुन किसिमको मौनता छ, त्यस्तो पाकिस्तानको सीमामा किन देखिँदैन ?’’

रिपोर्टमा अगाडि लेखिएको छ, ‘‘भारत र पाकिस्तानको सीमामा प्रायः फायरिंगका खबरहरू आउँछन् । हालका दिनमा दुवै पक्षका केही जवान मारिएको पनि सुनिएको छ । चीनसँग चाहिँ तनाव भए पनि हात हालाहालभन्दा बढी हुँदैन । यस्तो स्थितिमा प्रश्न उठ्छ, पाकिस्तान र भारतको सीमामा त्यस्तो संयम किन देखिँदैन, जुन भारत र चीनको सीमामा विद्यमान छ ?’’

रिपोर्टमा वरिष्ठ पत्रकार सैबल दासगुप्ताको भनाइ उद्धृत गर्दै लेखिएको छ, ‘‘भारत र चीनले एउटा सम्झौताअन्तर्गत के कुरामा सहमति जनाएका छन् भने जस्तोसुकै मतभेद भए पनि हामीले सीमामा उत्पन्न उत्तेजनामाथि नियन्त्रण राख्नेछौं ।’’

दासगुप्ताका अनुसार भारतका तत्कालीन प्रधानमन्त्री अटलविहारी वाजपेयी चीन पुगेका बेला दुवै देशले एउटा आधारभूत राजनीतिक मापदण्ड बनाएका थिए, जसलाई पछि बनेको मनमोहन सिंहको कार्यकालमा पुनः दोहोर्याइयो ।

दासगुप्ताका अनुसार सीमाको फ्रन्टलाइनमा जो सैनिक खटिन्छ, उससँग हतियार नै हुँदैन । स्तर र पदअनुसार हतियार पायो भने पनि उसले आफ्नो बन्दुकको मोहडा जमिनतिर फर्काएर राख्नुपर्छ ।

रिपोर्टमा लेखिएको छ, ‘‘त्यसैले तपाईं आजभोलि भिडियोमा भारत र चीनका सैनिकको कुस्ती देख्नसक्नुहुन्छ, तर उनीहरूबीच कहिल्यै गोली चल्दैन ।’’ रिपोर्टमा बताइएअनुसार यस्तो सम्झौता पाकिस्तानसँग अझै हुन सकेको छैन ।

भारत र चीनका सैनिकबीच पकरापकरको परिस्थिति पनि आउँछ । तर पकरापकर गर्दा पनि कतिपय कुरा ख्याल राखिन्छ । दासगुप्ताका अनुसार चीन र भारतका सैनिकहरूको जुन भिडियो सार्वजनिक हुन्छ, त्यसलाई ध्यानपूर्वक हेर्ने हो भने उनीहरू केटाकेटीजस्तै कुस्ती खेलेको देखिन्छ । उनीहरू एकअर्कोलाई धकेल्छन्, पछारिन्छन् र फेरि उठुछन् तर कसैले कसैलाई थप्पड हिर्काउँदैनन् । थप्पड हान्नु अपमानको प्रतीक हो । त्यसैले उनीहरू लडाइँमा आफ्नो हात समालेर राख्छन् । हात उठ्यो भने उनीहरूको रिस नियन्त्रणबाहिर जान सक्छ ।

भारतका अवकाशप्राप्त मेजर जनरल अशोक मेहताका अनुसार भारत र चीनले पटकपटक अनेकौं सम्झौता गरेर सीमारेखामा आउने समस्यालाई नियन्त्रित गरेका छन् ।

सन् १९९३, १९९६, २००३, २००५ र पछिल्लो पटक २०१३ मा यस्ता सम्झौताहरू भएका छन् । मेहताका अनुसार, जहाँ भारत र चीनको सीमा निश्चित छैन, त्यहाँ दुवै देशले शान्ति कायम गर्छन् । वास्तवमा यी दुई देशबीच भएका यिनै सम्झौताका कारण यहाँ गोली नचलेको हो ।

बाह्रखरीबाट