सुनसरी / सुनसरीको रामधुनी नगरपालिका–८ डुम्राहामा माछा मार्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार डुम्राहाका ५१ वर्षीय पदमसिंह खवास सोमबार दिउँसो करिब १२:४० बजे आफ्नै घरअगाडि रहेको सरकारी पोखरीमा माछा मार्ने क्रममा डुबेका थिए। घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि डुम्राहा प्रहरी चौकीबाट प्रहरी टोली खटिएको थियो।

प्रहरी र स्थानीयको सहयोगमा खवासलाई पानीबाट निकाली तत्काल उपचारका लागि जिल्ला अस्पताल इटहरी पठाइएको थियो। तर करिब १:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला अस्पतालमा खटिएको प्रहरी अधिकृतले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुनसरीबाट टोली खटिएको प्रहरीले जनाएको छ। घटनास्थल डुम्राहा प्रहरी चौकीबाट करिब ४ किलोमिटर पूर्वतर्फ पर्छ।

परिवारका अनुसार मृतकका दुई छोराहरु विदेशमा रहेका छन्। छोराहरु भोलि (भदौ २१ गते) नेपाल फर्किएपछि मात्र अन्त्येष्टि गर्ने निर्णय भएको र अहिले शव जिल्ला अस्पताल इटहरीमै राखिएको प्रहरीले जनाएको छ।