काठमाडौं/ अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँग नयाँ लडाईं शुरु गर्नका लागि अनेकौं हत्कण्डा अपनाइरहेका छन् ।

उत्तर कोरियालाई ट्रम्पले अचानक प्राथमिकता दिनुका पछाडिका कारणहरूको विभिन्न व्याख्या भेटिन्छन् । यसको परम्परागत विश्लेषण संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्योङयाङविरुद्ध लगाएको प्रतिबन्ध र उत्तरले लगातार क्षेप्यास्त्र परीक्षण गरेकाले रुस र चीनको ढोकैमा ल्याएर क्षेप्यास्त्र प्रतिरक्षात्मक प्रणाली (थाड) जडान गर्ने अमेरिकाको कदमलाई जायज ठहर्‍याउनमा सीमित छ ।

यी तर्कहरू पक्कै पनि जायज छन् र ट्रम्पका हालैका कदमका पछाडि यी नै प्रस्ट कारण हुन् तर यसमा आममान्छेले सोचेभन्दा बढी कुरा लुकेको छ ।

ट्रम्पका लागि रुस, चीन र अन्तर्राष्ट्रिय समुदायसमक्ष उत्तरपूर्वी एसियामा थाड जडानलाई जायज ठहर्‍याउन परेको छैन । बरू उनले दक्षिण कोरियाका नयाँ राष्ट्रपति मून जे–इनलाई यो जडान दक्षिणको भलाइका लागि हो भनी विश्वस्त गर्न आवश्यक छ ।

मून थाडका विषयमा शंकालु थिए र खासमा उनी सार्वभौमसत्ताको नारा दिएका कारणले नै निर्वाचित भएका हुन् । उनको चुनावी अभियानले नै उनलाई परम्परागत अमेरिकीमुखी प्रतिस्पर्धीहरूमाथि विजय दिलायो ।

त्यसमाथि, उनको प्रशासनले अहिलेसम्म थाड जडानलाई रोक्नका लागि वातावरणीय मूल्यांकनको बहाना बनाइरहेको थियो । तर ट्रम्पले उत्तर कोरियाविरुद्ध नयाँ संकट निम्त्याएपछि राष्ट्रपति मूनले थाडलाई रोक्न सक्ने विकल्प गुमाउँदै गएका छन् । यसको मतलब उनले उत्तर कोरियासँग मैत्री गर्ने नीतिबाट पनि पछि हट्नुपर्ने हुन्छ ।

एकअर्कासँग जोडिएका यी दुई कुरालाई दिमागमा राख्दा अमेरिकाले कोरियाली संकट निम्त्याउनुमा एउटा गोप्य कारण भनेको उत्तर कोरियासँग सम्बन्ध विस्तार गर्ने राष्ट्रपति मूनको प्रतिबद्धतामा खलल पुर्‍याउने अनि उनले नचाहेपनि थाड जडानलाई स्वीकार गर्न लगाउने नै हो ।

त्यति मात्र नभई उत्तर कोरियाले गुआम र अमेरिकी मुख्यभूमिमा आक्रमण गर्ने धम्की दिँदा ट्रम्पलाई आफ्नो देशको क्षेप्यास्त्र प्रतिरक्षात्मक प्रणालीमा अर्बौं डलर खर्च गर्नका लागि गजबको बहाना प्राप्त भएको छ । यसले अमेरिकाको हतियार उद्योगलाई धेरै फाइदा पुर्‍याउँछ अनि हतियार कम्पनीमा लगानी गर्ने कंग्रेस र ट्रम्प प्रशासनका व्यक्तिहरूलाई पनि फाइदा पुग्छ ।

त्यसैले त ट्रम्पले किम जोङ–उनलाई भड्काउनका लागि उत्तेजक ट्वीट र टिप्पणी गर्ने गरेका छन् । किमले भड्किएर खतरनाक कुरा गर्दा अमेरिकालाई आफ्नो स्वार्थ पूरा गर्नका लागि सजिलो भएको छ । हो, उत्तर कोरियाले अमेरिकामाथि खतराको स्थिति उत्पन्न गरेको छ र उसले आफूले चाहेमुताबिक अभिव्यक्ति दिनका लागि उसलाई छुट छ । तर उत्तरको भड्काउ शैली ऊ आफैं अनि उसका मित्र देशहरूको स्वार्थका लागि प्रत्युत्पादक छ ।

ट्रम्प आफूलाई अब्बल सम्झौताकार ठान्छन् र उनी कुनै पनि संकटबाट फाइदा उठाइछाड्छन् । उनले यो संकटबाट केही ठोस कूटनीतिक प्रतिफल पाउने आशा गरेका छन् । यसैले शायद अमेरिकाको सैन्य रणनीतिक साझेदार भारतले चीनको डोक्लाङ क्षेत्रमा अतिक्रमण गरेलगत्तै अमेरिकाले कोरियाली प्रायद्वीपमा तनाव बढाएको हुनसक्छ ।

चीनले दुईवटा विपरीत ध्रुवका सीमामा तनावको सामना गरिरहँदा अनि दक्षिण चीन सागरमा अमेरिकासँग उसको विवाद चलिरहँदा बेइजिङले यी सबैमध्ये एउटालाई प्राथमिकता दिनुपर्ने गरी रणनीतिक ध्यान विभाजन गर्नुपर्ने स्थितिलाई ट्रम्पले आँकलन गरेका हुनसक्छन् ।

अहिले चीनले भारतसँगको विवादमा बढी ध्यान केन्द्रित गरेजस्तो देखिन्छ किनकि यी दुई महाशक्तिबीचको संघर्षको दूरगामी र दीर्घकालीन असर देखिनेछ । ब्रिक्स र शांघाई कोअपरेसन अर्गनाइजेसनमार्फत भएको एकतालाई भत्काउने अनि उदीयमान बहुध्रुवीय विश्व व्यवस्थालाई भंग गर्ने क्षमता अहिलेको संघर्षले राख्छ ।

वास्तविकताको यो आँकलन सही हो भने यसले चीन किन कोरियाली संकटप्रति तुलनात्मक रूपमा उदासीन छ अनि किन उसले सुरक्षा परिषद् बाट प्योङयाङमाथि लगाएको प्रतिबन्धलाई समर्थन ग–यो भन्ने प्रश्नको उत्तर दिन्छ ।

यसका अलावा यसले के पनि देखाउँछ भने चीनलाई भारतसँग अल्झाएर उत्तर कोरियाका विषयमा चीनबाट कूटनीतिक फाइदा लिने अमेरिकाको योजना तुलनात्मक रूपमा सफल भएको देखिन्छ । यस योजनाले ट्रम्प र उनको टोलीले अपेक्षा गरेको ठोस प्रतिफल दिलाउने नै देखिएको छ ।

लाेकान्तर