धरान/मान्छेको जीवनको चक्र पनि कस्तो–कस्तो ? सवओभरसियर गरेका भोजपुर तिम्मा गाविस–३ का २८ वर्षीय जोसन राईलाई नै हेरौं न । उनले २०६३ मा धनकुटाको पाख्रिबासबाट सवओभरसियर सके । ढेडवर्ष काम पनि गरे । भेडेटारको प्रहरी चौकी बनाउन उनको ठूलो योगदान छ । तिनै सवओभरसियर अहिले त्यो भन्दा विल्कुल फरक पेशामा आवद्ध बनेका छन् । सायद बाउबाजे कृषिमा रमाएकैले होला उनको मनमा पनि कहीँकतै कृषिले आर्कषित गरेको हुन सक्छ ।
यी जोसिला युवालाई न वैदेशिक रोजगारीको मोह ले नै तान्यो, न त छाती नापेर आर्मी बन्ने रहर नै जाग्यो । उको एउटै उद्देश्य थियो देशमै केही गरेर बस्ने । त्यसैले हुन सक्छ उनले २०६९ सालदेखि रहरै रहरमा मौरीपालन सुरु गरे । सव ओभरसियर राईलाई मौरीले तान्यो । सानोमा किताबहरुमा पढेका थिए ‘मौरीले बालीनाली सर्पानमा र परागसेचन गर्नमा मद्दत गर्छ’ भनेर । त्यसले पनि उनलाई केही हदसम्म तानेको हुनुपर्छ । तर, रहरे व्यवसाय गर्नु अघिसम्म यो व्यवसायमा हात हाल्छु भन्ने उनलाई कहिल्यै लागेको थिएन् । तर, यति थाहा थियो मौरीले वेफाइदा गर्दैन् फाइदै फाइदा गर्छ भन्ने । डेवा (बढाबाउ) ले मौरी पालेको देखेरै उनमा रहर भरिए । तीनवटा घारबाट २०६९ मा साढे १२ हजार खर्चिएर सुरु गरे । त्यो रहर अहिले व्यवसायमा परिणत भएको छ । उनले सवओभरसियरको ज्ञान र प्रविधिलाई मौरी पालनमा खर्चिदैछन् । तीनवटा घारबाट सुरु गरेका उनले १० घार थपेर १३ घार पुर्याएका छन् । सानो कद, श्यामस्वेत वर्णका जोसनको दिनरात मौरी पालन मै बित्छ । मेहनत त्यसैमा खर्चिन्छन् ।
एक सिजनमा दुईदेखि अढाईसय केजीसम्म मह उत्पादन गर्छन् । बजार पुर्याउँछन् । भालढुंगा कृषि सहकारी मार्फत् उनको मह बजारिकण हुन्छ । तर, अझै बजारको अभाव खट्न्छिन् उनलाई । भन्छन्, ‘महको बजार राम्रो हुने हो भने थोरै लगानीमा धेरै उत्पादन हुने व्यवसाय हो यो ।’ त्यसैले पनि हुनसक्छ उनलाई विदेशको रहर कहिल्यै लागेन् । तर, यसो भनिरहँदा उनले भने, ‘विदेश जाउँ जस्तो मलाई कहिल्यै आएन । यही केही गर्नुपर्छ भन्ने थियो ।’ धेरै युवाहरु अरव तथा कोरिया तिर भासिरहँनेहरुलाई उनको कटाक्ष छ, ‘कसैले यो गर्दिएन्, त्यो गर्दिएनन् भन्छन् । कतिले सरकारले गरिदिएन भन्छन् । आफूले केही गर्नुपर्यो नी । अहिलेको युवाहरु ७, ८ लाख रुपैया तिरेर विदेश जान्छन् । त्यो लगानी यही गरेर आफैले सुरुवात गर्ने हो भने देश आफै बनिहाल्छ नी ।’ देशमा सम्भावनै सम्भावना देख्छन् उनी । अविवाहित यि युवाले बाँकी रहेको समय स्कुलमा क्यान्टिल चलाएर बिताउँछन् ।
धरानको सगरमाथा बोर्डिङ स्कुलमा क्यान्टिन चलाउँछन् । घरखर्च त्यसैले टार्छन् । भोजपुरबाट धरान–११ मा बसाई सरेका उनले मौरीपालनमा भविश्य देखेका छन् । महलाई विदेशसम्म निर्यात गर्न सके आर्थिक रुपमा मात्रै हैन, यहाँको महले देशलाई चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्छन् । मौरी व्यवसायमा ७ महिना खटिनुपर्ने उनी बताउँछन् । अरु व्यवसाय जस्तो दैनिक दुःख गरिरहनु पर्दैन । एकपटक लगेर राखेपछि चारपाँचदिनको फरकमा निरीक्षण गरे पुग्छ । १५ देखि २० दिनमा एकपटक मह काढ्नु पर्ने उनी बताउँछन् । उनको १३ घारमा एकपटकमा सय केजीसम्म मह उत्पादन हुने गरेको छ । सात महिनामा चारपटक मह काढ्छन् । विशेष गरी बराहक्षेत्रको बगुवा, सुनसरीको मधुवन गाविस र मोरङको होक्लाबारी मौरी चरण क्षेत्र हो ।
त्यही क्षेत्रमा मौरी पुर्याउने गरेका छन् । तोरीको सिजनमा मोरङको होक्लाबारी लाने गरेका छन् भने अन्य समयमा मधुवन र बगुवामा लाने गरेका छन् । अन्यको तुलनामा यो मह अग्र्यानिक र गुणस्तरीय हुने उनको दाबी छ । तीनवटा घार हुँदा उनले वार्षिक ५० हजार रुपैयासम्म आम्दानी लिन्थे भने अव केही बढ्ने उनी बताउँछन् । ‘तीनवटा घार हुँदा खर्च कटाएर ५० हजार जति आउथ्यो ।’ उनी भन्छन्, ‘अव घार बढेको छ आम्दानी बढ्छ ।’ उनले सरकारबाट आशावादी छैनन् । तर, चरण क्षेत्रका कृषकहरुलाई सचेतना गराउने अभियान चलाइदिए हुन्थ्यो कि भन्ने लाग्छ उनलाई ।
‘मौरीका कारण तोरीमा दाना लागेन् भनेर कृषकहरु गुनासो गरेको सुनिन्छ । तर, यथार्थमा मौरीका कारण नै दाना लाग्ने हो भन्ने ज्ञान उनीहरुमा हुँदैन् ।’ उनी भन्छन्, ‘त्यसतर्फ सरकारले सचेतना फैलादिए हाम्रो लागि पुग्थ्यो ।’वर्षायामको पाँच महिना मौरीलाई घरमै ल्याएर चास्नी खुवाउँदै राख्छन् । त्यसपछि सात महिना चरण क्षेत्रमा मौरी पुर्याउने गरेका छन् । मौरी पालक नभएको भए सायद उनी सवओभरसियरमै केही गरिरहेका हुन्थे होला । भन्छन्, ‘यसमा नआएको भए अरु नै गरिरहेको हुन्थे होला ।’ कृषिमा केही गर्न खोज्ने यि युवाहरुलाई राज्य पनि लगानी गरेर अघि बढाउने हो कि ?