धरान/विश्वमै लोपोन्मुख अवस्थामा रहेको गिद्ध (जटायु) लाई आहाराको थप सङ्कट उत्पन्न हुँदै गएको छ । सुनसरीको महेन्द्रनगरमा जटायु रेस्टुरेन्ट स्थापना गरिए पनि गिद्धहरुका लागि आहारा जुटाउनै समस्या हुँदै गएको रेस्टुरेन्ट सञ्चालकहरुले जनाए ।रामधुनी सामुदायिक वनले २०६९ सालमा महेन्द्रनगरमा जटायु रेस्टुरेन्ट स्थापना गरेको थियो ।
स्थापनाकालमा गाईवस्तुमा प्रयोग गरिने डाइक्लोफेनक औषधिका कारण गिद्धको आहारा जुटाउन चुनौती थियो भने अहिले गिद्धको आहाराका लागि गाईवस्तु पाउनै कठिन हुँदै गएको रेस्टुरेन्टका व्यवस्थापक केदार राईले बताए । ‘एकताका औषधिले गिद्धको आहारा जुटाउन मुस्किल थियो । अहिले गाईवस्तु पाउनै कठिन छ । पाइहाले पनि ल्याउन एकदमै खर्चालु भएको छ ।’ उनले भने ।प्रारम्भका दिनमा हिमाली नेचर नामक संस्थाको सहयोगमा रेस्टुरेन्ट स्थापना गरिएको थियो । यसका लागि चराविद् हेमसागर बरालले भूमिका खेलेका थिए तर अहिले हिमाली नेचरको सहयोगसमेत आउन छाडेको व्यवस्थापक राईले बताए । त्यस बेला बूढा गाईवस्तुहरु निःशुल्क रुपमा प्रदान गर्न स्थानीय गाविसहरुमा अभियान नै चलाइएको थियो । स्कुलहरुमा समेत अभियान चलाइएको थियो । चार वर्षअघि रेस्टुरेन्ट शुरु गर्दा ३० देखि ३५ वटा गिद्धहरु मात्रै देखिन्थे भने अहिले झण्डै अढाइ सयको हाराहारीमा गिद्ध देखिन थालेको वनहेरालु कुम्भसिंह राईले बताए । ‘चार वर्षअघि अलिअलि आउँथे । अहिले २५० वटासम्म आउँछन् ।’
उनले भने । सो रेस्टुरेन्टमा डङ्गर (स्थानीय प्रजातिको गिद्ध) र हिमाली गिद्ध मात्रै देखिन्छन् ।नेपालमा ९ प्रजातिका गिद्धहरु पाइन्छन् भने विश्वमा २३ प्रकारका गिद्ध पाइने गरेको अध्ययनले देखाएको छ । विशेष गरी हिमाली गिद्धहरु असोजको अन्तिम सातादेखि मङ्सिरसम्म आउने गरेका छन् तर सहज तरिकाले आहारा नपाइने भएका कारण गिद्धपालन सङ्कटमा रहेको व्यवस्थापक राईको भनाइ छ । भन्छन्, ‘आहाराको कमी छ । बूढा गाईवस्तु खरिद गर्नुपर्ने हुन्छ । खर्चले धान्न गाह्रो छ ।’ बूढा गाईवस्तुहरुको संरक्षणका लागि घर स्थापना गरिएको छ । मर्न लागेका गाईवस्तुहरुबारे गाउँलेले जानकारी गराउने गरेको पूर्ण श्रेष्ठले बताए ।स्थानीय प्रजातिको गिद्धले रामधुनी जङ्गल क्षेत्रमा बच्चा कोरल्ने गरेको छ ।
गत वर्ष १३ वटा बच्चा कोरलेको थियो भने कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा १५ वटा बच्चा कोरलेको व्यवस्थापक राईले बताए । एउटा गिद्धले ४५ देखि ८० दिनभित्र बच्चा कोरल्ने गर्छ छ भने चार महिनामा मात्रै बच्चा उड्न सक्ने अवस्थाको हुने विज्ञहरु बताउँछन् । एउटा गिद्ध प्रजनन् गर्न सक्ने क्षमताको हुन पाँचदेखि ८ वर्षसम्म लाग्ने गरेको गिद्धविज्ञ तुलसी सुवेदी बताउँछन् । डाइक्लोफेनक औषधि प्रयोग गरिएका गाईवस्तुको सिनो खाएमा गिद्धहरु मर्ने गरेको व्यवस्थापक राईले बताए ।नेपाल सरकारले २०६३ सालदेखि पशुमामा डाइक्लोफेनक औषधिको प्रयोगमा प्रतिबन्ध लगाएको छ । औषधि ऐन २०३५ मा पशु उपचारका लागि डाइक्लोफेनक उत्पादन, प्रयोग, बिक्री वितरण, आयातनिर्यात र भण्डारण गरिएमा ३ वर्षसम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ । सन् २०११ मा गरिएको एक अध्ययनले डाइक्लोफेनकका कारण ९१ प्रतिशत गिद्ध घटेको देखाएको थियो ।
नेपालमा हाल ६ वटा जटायु रेस्टुरेन्टहरु सञ्चालनमा छन् । नेपालमा डङ्गर, हिमाली, सुनगिद्ध, खैरोगिद्ध, हाडफोर गिद्ध, सानोखैरो गिद्ध, राजगिद्ध, लामो डुँडे गिद्ध र सेतोगिद्ध पाइने गरेका छन् । गिद्ध एक दिन खाएको आहाराले सात दिनसम्म बाँच्न सक्ने विज्ञ सुवेदी बताउँछन् । नेपालमा डङ्गर गिद्धको सङ्ख्या एक हजारको हाराहारीमा छ भने सानो खैरोगिद्ध ५० वटा मात्रै रहेको विज्ञ सुवेदी बताउँछन् । उनका अनुसार हाडखोर ५ सय र हिमाली गिद्ध १० हजारको हाराहारीमा छन् ।