धरान । झापाको दक्षिणी गाउँपालिका कचनकवलमा एउटै रूखमा झुण्डिएको अवस्थामा युवायुवती फेला परेका छन् । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरू प्रेमीप्रेमिका रहेको खुलेको छ । झुण्डिनुपर्ने कारणबारे खुलिनसकेको प्रहरी बताउँछ । कचनकवल गाउँपालिका ४ का २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी एउटै रूखमा एउटै डोरीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । 

मृतकमध्ये गणेशका मामा रघु गणेशले केटी पक्षको दबावका कारण आत्महत्या गरेको आरोप लगाएका छन् । तर, प्रहरीले यस विषयमा अनुसन्धान भइरहेकाले अहिले नै यसै भन्न नसकिने बताएको छ । झापामा केही महिनाअघि एउटै रूखमा तीनजना युवतीहरू झुण्डिएको अवस्थामा फेला परेको थियो ।