विजयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै खोटाङका ११ जना उम्मेदवारको जमानत जफत भएको छ ।
आफ्नो जमानत जोगाउन प्रत्येक उम्मेदवारले कम्तीमा पनि पाँच हजार ८६३ मत प्राप्त गर्नुपर्ने थियो । तर, ११ जना उम्मेदवारले त्यो मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो ।
प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा फागुन २१ गते सम्पन्न निर्वाचनमा ६२ हजार २५७ मत खसेको थियो । जमानत जोगाउन खसेको मतको १० प्रतिशत ल्याउनुपर्ने कानूनी प्रावधान रहेको छ । जिल्लाका १० स्थानीय तहको १३६ वटा मतदान केन्द्रमा खसेको मतमध्ये ५८ हजार ६३८ मत सदर भएको छ भने तीन हजार ९२८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत फणीन्द्रप्रसाद पराजुलीले जानकारी दिए ।
जमानत जफत हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सुनिल चाम्लिङ, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ध्यानप्रसाद ढकाल, मङ्गोल नेसनल अर्गनाइजेसनका उम्मेदवार प्रयाग राई छन् । यस्तै, राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राई, मितेरी पार्टी नेपालका उम्मेदवार केशरमान चाम्लिङ, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर बुढाथोकी ‘शैलेश’, जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राकेश राई, स्वतन्त्र उम्मेदवारहरू तिलकचन्द्र राई र डा राजकुमार राईको जमानत जफत भएको हो । उम्मेदवारले आफ्नो नाम दर्ता गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको रकम जफत गरेर राज्यकोषमा जाने कानुनी प्रावधान छ ।
प्रत्यक्षतर्फ एक लाख ४७ हजार १२० मतदाता रहेको जिल्लामा १६ हजार ६१२ मतसहित श्रम संस्कृति पार्टीका महासचिवसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य उम्मेदवार आरेन राई विजयी भए । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका २९ वर्षीय आरेनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका अध्यक्षसमेत रहेका निकटतम प्रतिस्पर्धी देवविक्रम राईलाई तीन हजार ८९८ मतले पछाडि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । एमाले उम्मेदवार देवविक्रमले १२ हजार ७१४ तथा नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा हरि रोकाले नौ हजार ४४३ मत प्राप्त गरे । दुई जना स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको जिल्लामा पुरानै राजनीतिक दल (नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी)बीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताउँदै आएका थिए ।
यसैबीच, समानुपातितर्फको मत परिणामअनुसार खोटाङमा श्रम संस्कृति पार्टी १८ हजार १३७ मतसहित पहिलो राजनीतिक दल बनेको छ भने नेपाली कांग्रेस ११ हजार ३८५ मतसहित दोस्रो बनेको छ ।
विसं २०७९ को निर्वाचनमा सबैभन्दा बढी २४ हजार २७१ मत ल्याएर जिल्लामा ठूलो पार्टी बनेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) १० हजार ७०५ मतसहित तेस्रो बनेको छ ।
प्रत्यक्षतर्फ देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङमा समानुपातिकतर्फ आठ हजार ८७९ मतसहित जिल्लाको चौथो दल बनेको छ । २०७९ सालको निर्वाचनमा ११ हजार ८४५ मतसहित तेस्रो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सात हजार २७४ मत ल्याएर पाँचौँ बनेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रबिन मगरले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ८३७, राष्ट्रिय परिवर्तन पार्टीको एक हजार २४४, जनता समाजवादी पार्टी (जसपा)को २०२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को ९५, जनता समाजवादी पार्टी नेपालको ७२, नेपाल मजदुर किसान पार्टीको ३७ मत खसेको छ । जिल्लामा उम्मेदवार नै नभएका पार्टीका लागिसमेत समानुपातिक मत खसेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
समानुपातिकतर्फ एक लाख ४८ हजार ४१९ मतदाता रहेको जिल्लामा फागुन २१ गते सम्पन्न निर्वाचनमा ६३ हजार २५७ मत खसेको थियो । खसेको मतमध्ये ६० हजार १०० मत सदर भएको छ भने तीन हजार १५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।






























