विजयपुर । अभियन्ताबाट राजनीतिमा प्रवेश गरेका धरान–१८ निवासी हर्कराज राई (साम्पाङ) संसद्को यात्रामा पुगेका छन् ।
विद्रोही स्वभावका उनी वैदेशिक रोजगारीबाट नेपाल फर्किएपछि मदन भण्डारी राजमार्गअन्तर्गत धरानमा पर्ने धनकुटे रोडलाई बढाउने विषयमा आन्दोलन सुरु गरेका थिए । धनकुटे रोडलाई बढाउँदा धेरै घर तथा जग्गा जाने भएपछि उनी त्यो आन्दोलनमा सहभागी भएका थिए । यही आन्दोलनबाट उनी विस्तारै आम मानिसको नजरमा पर्न थाले । उग्र तरिकाले प्रस्तुत हुने कारण पनि उनलाई धेरैले सुरुमा बेवास्ता गरेका थिए ।
तर, उनको यही उग्रवादी प्रवृत्ति नै उनलाई संसद् यात्रामा पु¥याउने बाटो बन्यो । खोटाङबाट धरान झरेका उनले विभिन्न क्षेत्रमा हात हाले । तर असफल भएपछि उनी इराक र अफगानिस्तानसम्म पुगे । त्यहाँबाट फर्केर आई धरानका पूर्व उपप्रमुख कृष्णनारायण पलिखेको जनसरोकार मञ्चमा पनि हिँडे । मञ्चले भ्रष्टाचार र धरानको खानेपानीको विषयमा आवाज उठाउँदै आएको थियो । त्यही आवाजमा उनी पनि मिसिएका थिए । सोही मुद्दालाई उनले पनि बोके । हाते माइक बोकेर धरानका चोक तथा गल्लीमा गई धरानको खानेपानीको विषयमा आवाज उठाउँदै गए ।
२०७६ को उपनिर्वाचनमा नगर प्रमुखको पदमा पनि लडे । तर सफलता पाउन सकेनन् । खानेपानीको एक सूत्रीय मुद्दालाई कहिल्यै छाडेनन् । २०७९ को स्थानीय तहको चुनावमा धरानमा स्थापित दलहरूलाई पराजित गर्दै नगर प्रमुख बने । त्यहीँबाट उनको जीवनको यु–टर्न बन्यो । प्रमुख बन्दा उनले श्रम अभियानलाई तीव्रता दिए । विदेशमा रहेका लाहुरेहरूको सहयोगमा खानेपानी खुवाउनका लागि हरसम्भव प्रयास गरे । उनको प्रयासका विषयमा केही आलोचना पनि हुने गरेका छन् तर उनले त्यो आलोचनालाई बिर्सदै जेन जी आन्दोलनपश्चात् नयाँ पार्टी दर्ता गरी चुनावमा होमिएका थिए ।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले धरानको प्रमुख पदबाट माघ ४ गते राजीनामा दिई संसद्को यात्रामा अघि बढेका थिए । कतिपयले हार्छन् भन्ने टिप्पणी गरिरहेका बेला फागुन २१ गते सम्पन्न चुनावमा उनले ३५ हजार सात सय ४१ मत प्राप्त गर्दै संसद् यात्रामा पाइला हालेका छन् ।
क्रान्तिकारी छवि
करिव १२ वर्षअघिदेखि विभिन्न विकृति विसङ्गतिविरुद्ध चर्को आवाज उठाउँथे । २०६८ सालमा धरान उपमहानगरपालिकाले सम्पत्ति करमा अत्यधिक वृद्धिको आन्दोलन भएको थियो । वृद्धिविरुद्धको अभियानको नेतृत्व धरानका पूर्व उपप्रमुख कृष्णनारायण पलिखेले गरेका थिए । उक्त अभियानमा हर्कराज राई पनि जोडिए र नेतृत्व गरे । २०७४ सालको स्थानीय तह चुनावमा धरान प्रमुखमा निर्वाचित तारा सुब्बाको निधन भएपश्चात २०७६ सालमा भएको उपनिर्वाचनमा हर्कले पनि धरान नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिए ।
निर्वाचनमा कुल ५ सय २२ मत मात्र प्राप्त गरे । पराजित भए पनि उनले अभियान रोकेनन् । निरन्तर गरी नै रहे । खानेपानी अभियानमा झनै खरोरूपमा उत्रिए । एक्लै कहिले नगरपालिकाको गेट तोडफोड गर्न पुग्थे भने कहिले खानेपानीको पाइप नै काट्न पुग्थे ।
खानेपानीको पाइप काटेको आरोपमा उनी हिरासतमा समेत पुगेका थिए । उनी विशेष गरेर एसियाली विकास बैङ्कको ऋण अनुदानमा सञ्चालित खानेपानी परियोजनामा अनियमितता भएको भन्दै आन्दोलन गर्थे । हामी रिपोर्टिङमा पुग्दा उक्त खानेपानी परियोजनाका कागजात झिकेर देखाउँदै भ्रष्टाचार भएको आरोप लगाउँथे । तर, उनका पछाडि अहिलेजस्तो युट्युबरहरू पनि थिएनन् ।
धेरथोर भए पनि मूल धारका मिडियाले नै उनका भ्रष्टाचारविरुद्धको अभियानको समाचार कभरेज गर्थे । २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उनले उम्मेदवारी दिएका थिए । जसलाई जनताले अनुमोदित गरे । खानेपानीको दीर्घकालीनरूपमा समाधान गर्न लागेनन् । कोशीबाट खानेपानी ल्याउनका लागि सरकारले ८५ प्रतिशत अनुदान र १५ प्रतिशत ऋणको आयोजना अस्वीकार गरे । यसअघि एसियाली विकास बैङ्कको ऋण अनुदानमा सञ्चालित परियोजनामा भ्रष्टाचार भएको आरोप पुष्टि गर्न पनि सकेनन् ।
सधैँ नागरिकलाई अमूर्तरूपमा भ्रष्टाचार गरेको आरोप मात्र लगाइरहे । उनीभन्दा अगाडिका जनप्रतिनिधिलाई गाली मात्र गरिरहे । उनी त्यो बेलासम्म दलीयतन्त्रले मुलुक ध्वस्त पारेको बताउने र दलमा लाग्न नहुने तर्क गर्थे । उनी दल र दलका कार्यकर्तालाई ‘झोले’ उपनाम दिन्थे । उनी नगर प्रमुख बनेपश्चात् झनै अभियन्ता बने ।
श्रमदानमार्फत् खानेपानी, वृक्षरोपणजस्ता अभियान चलाए । लागूपदार्थ दुव्र्यसनविरुद्धको अभियान पनि चलाए । धरानमा सामुदायिक सहभागितामा विकास गर्ने शैलीका कारण उनी राष्ट्रियस्तरमै चर्चित बने । खानेपानी अभियान सञ्चालन गरे तापनि पूर्णरूपमा समाधान गर्न सकेनन् । उनले अल्पकालीन योजनामा नै ३ वर्ष समय बिताए ।
भदौ २३ र २४ मा जेन जीहरूले सामाजिक सञ्जाल बन्दविरुद्ध आन्दोलन गरे । उनीहरूको भ्रष्टाचारविरुद्ध सुशासन मुख्य माग थियो । २३ गतेको आन्दोलन जनको २४ गते ठूलो धनको क्षति भयो । भदौ २७ गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न पुग्यो । भदौ २७ गते पूर्वप्रधानन्यायधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो र २१ फागुन निर्वाचन तोक्यो । निर्वाचनमा सहभागी हुनकै लागि हर्कराजले श्रम संस्कृति पार्टी दर्ताका लागि २०८२ असोज १२ गते निर्वाचन आयोगमा निवेदन दिए ।
र, अन्ततः उनी दलीय राजनीतिमा प्रवेश गरे । उनले २०८२ कात्तिक १६ गते आयोगबाट पार्टीले आधिकारिकता पायो र प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न धरान प्रमुखबाट २०८२ माघ ४ गते राजीनामा दिई उम्मेदवार बने । उनले नगरको बजेटबाट धरानको खानेपानी समस्या समाधान गर्न असम्भव भएकाले सङ्घीय सरकारबाट नै समाधान गर्नका लागि आफू उम्मेदवार बनेको बताउने गरेका छन् ।
मुलुकभरि नै रास्वपाको लहर चल्दा पनि सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्कराजले उल्लेखनीय मतसहित विजय हासिल गरी संसदीय राजनीतिको यात्रा तय गरे । उनले निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ८ हजार ४ सय ९२ मतान्तरसहित ३५ हजार ७ सय ४१ मत प्राप्त गरी विजयी भएका छन् । उनले निर्वाचित भएसँगै संसद्मा खरो कुरा उठाउने प्रतिक्रिया दिएका छन् ।






























