विजयपुर । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।

सोमबार निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा १४ लाख १४ हजार ७२९ रुपैयाँ खर्च भएको उल्लेख छ ।

विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । उनले निर्वाचन प्रचार प्रसारका क्रममा सवारीसाधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा २ लाख ३३ हजार ५००, हवाई भाडामा पाँच पटकका लागि ३५ हजार रुपैयाँ तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा २६ हजार ९७० खर्च भएको उल्लेख छ ।

वडास्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियान सञ्चालन गर्न चार लाख ५० हजार खर्च भएको छ । नमूना मतपत्र छपाइका लागि ४४ हजार ५५० रुपैयाँ खर्च उल्लेख छ । निर्वाचन अभियानका क्रममा कार्यालय सञ्चालनका लागि पानी खर्च शीर्षकमा दुई महिनामा ९० हजार र स्टेशनरी खर्च शीर्षकमा २९ हजार ६७० रुपैयाँ खर्च भएको जनाइएको छ ।

त्यसैगरी प्रचार सामग्री छपाइ (कपडा तथा ब्यानर) मा एक लाख ७५ हजार ३४, प्रचार सामग्री ढुवानी तथा टिकटमा एक लाख १९ हजार ५०५ खर्च भएको उल्लेख छ । उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ । खर्च विवरण शाहका प्रतिनिधि नवीन भण्डारीले हस्ताक्षर गरी जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् ।