विराटनगर । कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये अधिकांशको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै प्रदेशको राजनीतिक समीकरणमा निकै फेरबदल देखिएको छ ।
आइतबार साँझसम्म २५ क्षेत्रको नतिजा आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्चस्व कायम गरेको छ भने स्थापित दलका प्रभावशाली नेताहरू ठूलो मतान्तरले पराजित भएका छन् । निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म घोषित नतिजामा १६ सिटसहित रास्वपा पहिलो शक्ति बनेको छ । नेकपा (एमाले) ले ३ सिट जित्दै २ क्षेत्रमा अग्रता कायम राखेको छ भने नेपाली काङ्ग्रेस र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले समान ३–३ सिटमा जित निकालेका छन् । यसपटकको निर्वाचनमा आधा लाख मत कटाउने रास्वपाका उम्मेदवार मात्रै छन् । परम्परागत दलमा यसअघि केपी ओलीले मात्रै ५० हजारको आँकडा पार गरेका थिए ।
बालेनको कीर्तिमानी जित
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सर्वाधिक ६८ हजार ३ सय ४८ मत प्राप्त गरी विजयी भएका छन् । उनले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतको विशाल अन्तरले पराजित गरे । हालसम्म घोषित परिणाममध्ये यो नै सबैभन्दा ठूलो मतान्तरको जित हो । ओलीले १८ हजार ७ सय ३४ मत मात्र प्राप्त गरे ।
इन्दिराको शानदार नतिजा
झापा क्षेत्र नम्बर २ मा रास्वपाकी इन्दिरा राना मगरले ६० हजार १ सय १० मतसहित जित हासिल गरेकी छन् । उनले पूर्वसभामुख एवम् एमाले नेता देवराज घिमिरेलाई ४८ हजार ७ सय ४२ मतको अन्तरले पछि पारिन् । घिमिरेले ११ हजार ३ सय ६८ मत पाए । इन्दिरा यस निर्वाचनमा महिला उम्मेदवारहरूमध्ये मुलुकभरमै सबैभन्दा बढी मत ल्याउने उम्मेदवारसमेत बनेकी छन् ।
मोरङ र सुनसरीमा पनि उस्तै लहर
मोरङ क्षेत्र नम्बर ६ मा रास्वपाकी रुविना आचार्यले नेपाली काङ्ग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई स्तब्ध पारिन् । आचार्य ५५ हजार ५ सय १३ मतका साथ विजयी हुँदा कोइरालाले १२ हजार ८ सय ५० मत मात्र प्राप्त गरे । आचार्य र कोइरालाबीचको मतान्तर ४२ हजार ६ सय ६३ रहेको छ । त्यस्तै, सुनसरी क्षेत्र नम्बर २ मा रास्वपाका लालविक्रम थापाले ५७ हजार ३ सय ४८ मत ल्याएर विजयी झण्डा गाडेका छन् । उनले काङ्ग्रेसका राजीव कोइरालालाई ३९ हजार २ सय ७७ मतान्तरले पराजित गरे । कोइरालाले १६ हजार ७१ मतमा चित्त बुझाउनुपर्यो ।
ओखलढुङ्गामा ५ मतको रोमाञ्चक जित
कोशीको अधिकांश निर्वाचन क्षेत्रमा फराकिलो मतान्तर देखिए पनि ओखलढुङ्गामा दुर्लभ मतान्तर देखिएको छ । यहाँ रास्वपाका विश्वराज पोखरेलले काङ्ग्रेसका कुमार लुइँटेललाई मात्र ५ मतान्तरले जिते । पोखरेलले १३ हजार ९ सय ५३ मत पाउँदा लुइँटेलले १३ हजार ९ सय ४८ मत प्राप्त गरे । यस विषयमा काङ्ग्रेसले आयोगलाई निवेदन दिने भएको छ । कोशीमा ३ क्षेत्रको नतिजा आउन बाँकी छ, जहाँ तीव्र प्रतिस्पर्धा भइरहेको छ ।































