विराटनगर । कोशी प्रदेशमा जनताले सुम्पिएको पाँच वर्षको जनादेशलाई बीचैमा लत्याएर ‘शक्ति र ओहोदा’ को लोभमा सङ्घीय संसद् (प्रतिनिधिसभा) छिर्ने दाउमा रहेका उम्मेदवारहरूलाई मतदाताले नराम्ररी पछारिदिएका छन् । 

कार्यकाल बाँकी छँदै प्रदेशसभा सदस्य, मेयर र गाउँपालिका अध्यक्षजस्ता गरिमामय पदबाट राजीनामा दिएर चुनावी दौडमा निस्किएकाहरूलाई यस पटकको निर्वाचनमा मतदाताले अस्वीकार गर्दै घर फर्काइदिएका हुन् । झापा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रत्यक्ष निर्वाचित कोशी प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलाले कार्यकाल बाँकी छँदै गत माघ ४ गते राजीनामा दिएर प्रतिनिधिसभाको लागि चुनावमा उठ्ने निर्णय गरेका थिए । राप्रपाबाट झापा ४ मा उम्मेदवार बनेका उनी सोचेभन्दा निकै खराब नतिजाका साथ पाँचौँ स्थानमा खुम्चिएका छन्  ।

उनले जमानत जोगाउन सकेनन् । उनले जम्मा २ हजार ८० मत पाउँदा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शम्भुप्रसाद ढकाल ४३ हजार ६ सय ३९ मतका साथ विजयी भए । मोरङको रङ्गेली नगरपालिकामा दुई पटकसम्म नेतृत्व गरेका दिलीपकुमार अग्रवाल (बगडरिया) को सङ्घीय संसद् छिर्ने सपना पनि अधुरै रह्यो । एमालेबाट निर्वाचित नगर प्रमुख पद त्यागेर मोरङ २ मा चुनावी मैदानमा उत्रिएका उनी १५ हजार ६ सय २४ मत ल्याएर पराजित भए । यस क्षेत्रमा रास्वपाका कृष्ण कार्की ४० हजार ९ सय २४ मतका साथ विजयी भए । अग्रवालले २०७४ मा माओवादी र २०७९ मा एमालेबाट मेयर जितेका थिए ।

गाउँपालिका अध्यक्ष र उपप्रमुखको लज्जास्पद हार

ओखलढुङ्गाको लिखु गाउँपालिकाकी उपप्रमुख अस्मिता थापाले पनि प्रतिनिधिसभा सदस्यमा उठ्ने भएपछि पदबाट राजीनामा दिएकी थिइन् । एमालेकी उम्मेदवार बनेकी उनी १० हजार ७ सय २० मतका साथ चौथो स्थानमा सीमित भइन् । सो क्षेत्रमा रास्वपाका नेता तथा पूर्व एआइजी विश्वराज पोखरेल विजयी भए । उता उदयपुरको लिम्चुङ्बुङ गाउँपालिकाका अध्यक्षबाट राजीनामा दिएर उदयपुर २ बाट स्वतन्त्र उठेका मेजरकुमार राईको त जमानत नै जफत भएको छ । माओवादीबाट अध्यक्ष जितेका उनले जम्मा ९० मत मात्रै प्राप्त गरे ।

यस्तै, सोलुखुम्बुमा थुलुङ दूधकोशी गाउँपालिकाको अध्यक्ष त्यागेर उठेका असीम राई पनि ९ हजार ४१ मत ल्याएर काङ्ग्रेसका प्रकाश सिंह कार्कीसँग पराजित भए । इलामको सूर्योदय नगरपालिकाको प्रमुख पद त्यागेर प्रतिनिधिसभा ताकेका रणबहादुर राई पनि हालसम्मको मतगणनामा २ हजार ४ सय ३२ मतका साथ पाँचौँ स्थानमा छन् । उता, धरान उपमहानगरपालिका–१७ को वडाध्यक्ष छाडेर सुनसरी १ मा उम्मेदवार बनेका सूर्यबहादुर भट्टराई ६ हजार १ सय ८५ मतका साथ चौथो स्थानमा खुम्चिएका छन् ।

भट्टराई उठेको क्षेत्रमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ३५ हजार ७ सय ४१ मतका साथ विजयी भइसकेका छन् । उनी धरान उपमहानगरपालिकाका प्रमुख थिए । त्यहाँबाट राजीनामा दिएर उनी सङ्घीय सांसद् लडेका थिए ।