विजयपुर । बागलुङको रायराँयकोट यतिबेला चर्चामा छ ।

गुराँसको जङ्गलबीच रहेको धार्मिक तथा पर्यटकीयस्थल रायराँयकोटमा पूर्वाधार थपिएसँगै त्यहाँ पुग्ने पर्यटक बढेका हुन् । रायराँयकोटमा सडक, विद्युत्लगायतका पूर्वाधारको विकास भएको छ भने सत्तल पनि निर्माण भएको हो ।

रायराँयकोट पञ्चकोटसँग जोडिएकाले पनि पर्यटक आकर्षित गर्न सहज भएको हो । बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा रहेको रायराँयकोट आसपासको क्षेत्र गुराँसले ढकमक्क भएको स्थानीय लालबहादुर गौतमले बताए । यहाँ वैशाख र जेठमा स्थानीय समुदायले वर्षादेवका रुपमा समेत पूजाआजा गर्दै आएका छन् ।

बागलुङ नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयबाट यहाँको पूर्वाधार निर्माणमा सहयोग आएको छ । अहिले त्यहाँ सडक पुगेकाले सहज भएको छ । स्थानीय गौतमले भने, “पदमार्ग, खानेपानी, शौचालय र सत्तलजस्ता धार्मिक पूर्वाधारहरु निर्माण भएका छन्, अहिले गुराँससँग फोटो खिच्ने, टिकटक बनाउने र हिमशृङ्खला हेर्न यहाँ आउने बढेका छन् ।”

गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयअन्र्तगत रायराँयकोटमा अहिलेसम्म २० लाख रुपैयाँको पूर्वाधार निर्माण भइसकेको छ । मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण, सत्तल निर्माण, पर्खाल निर्माण र मैदान बनाइएको छ । यस्तै पञ्चकोटदेखि संसारकोट पुग्ने पदमार्ग निर्माणका लागि रु ५० लाख बजेट सङ्घीय सरकारबाट आएको छ ।