विजयपुर । संसद, सरकार र राष्ट्रिय राजनीतिको केन्द्रमा देखिने कोशी प्रदेशका प्रभावशाली नेताहरूको संसदीय राजनीतिक यात्रामा ‘ब्रेक’ लागेको छ ।

प्रतिनिधि सभा निर्वाचनको मत परिणामसँगै कोशीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय राजनीतिका प्रभावशाली नेताहरूको संसदीय राजनीतिक यात्रामा ब्रेक लागेको हो । कोशी प्रदेशका क्षेत्रबाट मुलुककै ठुलादेखि साना राजनीतिक दलका अध्यक्ष तथा प्रमुख नेतृत्वहरु निर्वाचनमा पराजित भएसँगै संसदीय यात्रा रोकियो ।

लामो समयदेखि राष्ट्रिय राजनीतिमा पकड जमाएका नेताहरूका कार्यशैलीका कारणले आम नागरिकमा बढेको वितृष्णा र निराशाले नयाँ उदाएका राजनीतिक दलको उभार आएसँगै स्थापित दलका पुराना नेता पछि परेका हुन् । उनीहरू मात्र होइन, उनीहरुका दलको नै संसदमा कमजोर उपस्थिति हुने भएको छ । पूर्वप्रधामन्त्री तथा उपप्रधानमन्त्री, मन्त्रीदेखि प्रधानमन्त्रीका सम्भावित उम्मेदवारसम्मको संसदीय राजनीति समाप्त भएको छ । सबै भन्दा चर्चित एमाले अध्यक्ष तथा पूर्वप्रधामन्त्री केपी शर्मा ओलीको नै संसदीय राजनीतिक यात्रा रोकियो । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग आफ्नै क्षेत्र झापा ५ बाट लज्जास्पद पराजय बेहोरेसँगै संसदीय राजनीति सकिएको हो । सायद ओलीको उमेरका कारणले पनि पुनः सक्रिय संसदीय राजनीतिमा आउने सम्भावना क्षीण देखिन्छ । उनी २०२५ देखि सक्रिय राजनीतिमा लागेर पार्टी अध्यक्षसम्म र गृहमन्त्री हुँदै चौथो पटकसम्म प्रधानमन्त्री बनेका थिए । तर, उनले पूर्ण कार्यकाल चलाउन पाएका थिएनन् ।

झापाबाट नै अर्का शीर्ष नेताको पनि संसदीय राजनीति बन्द भएको छ । नेकपा एमालेबाट नै उम्मेदवार बनेका संघीय संसदका निवर्तमान सभामुख देवराज घिमिरेको पनि संसदीय यात्रा बन्द भयो । उनी पनि रास्वपाकै उम्मेदवार इन्दिरा राना मगरसँग फराकिलो मतान्तरले पराजय भए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र प्रसाद लिङ्देन पनि रोकिएका छन् । उनी झापा ३ बाट रास्वपाकै उम्मेदवार प्रकाश पाठकसँग पराजित भए ।

सुनसरीबाट पनि उपप्रधानमन्त्री तथा मन्त्रीहरु रोकिएका छन् । सुनसरी ३ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विजय कुमार गच्छदार रास्वपाकै अशोक कुमार चौधरीसँग फराकिलो मतान्तरले पराजित भए । उनी संविधान सभा सदस्य तथा उप–प्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री समेत हुने मौका पाएका थिए । सुनसरी ३ मा एमालेबाट उम्मेदवार बनेकी पूर्वमन्त्री भगवती चौधरी पनि पराजित भइन् । उनी तेस्रो स्थानमा छिन् । सुनसरी ४ मा नेपाली कांग्रेसबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पछाडी छन् । पार्टीका प्रभावशाली नेता कार्की पटकपटक मन्त्री बनेका थिए । उनको पनि संसदीय यात्रामा रोकियो । उक्त क्षेत्रमा एमालेबाट उम्मेदवार जगदीश प्रसाद कुसियैत पनि झनै पछाडी छन् । उनी प्रदेश सरकारका मन्त्री बनेका थिए । उक्त क्षेत्रमा रास्वपाका दीपक कुमार साह फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् ।

मोरङ २ मा नेपाली कांग्रेसबाट उम्मेदवार मिनेन्द्र रिजाल पराजित बने । पटक पटक विभिन्न मन्त्री बनेका रिजाल रास्वपाका कृष्ण कुमार कार्कीसँग पराजित बने । उनी तेस्रो स्थानमा छन् । उनी बौद्धिक नेता मानिन्छन् ।

मोरङ ५ बाट नेकपाका उम्मेदवार पूर्वमन्त्री शिव कुमार मंडल संसदीय यात्रामा रोकिएका छन् । रास्वपाको आशा झासँग पराजित उनी चौथो स्थानमा छन् ।

मोरङ ६ बाट कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला पनि संसदीय यात्रामा रोकिए । उनको प्रधानमन्त्रीको उम्मेदवारको रूपमा समेत चर्चा हुने गरेको थियो । पार्टीभित्र सुधारवादी छविका कोइराला पार्टी सभापतिमा पराजित भएका थिए । उनी रास्वपाकी रुबिना आचार्यसँग पराजित बनेका छन् ।

तेह्रथुमबाट पनि पूर्वमन्त्री भानुभक्त ढकाल पराजित बनेका छन् । उनी एमालेका सचिव तथा स्वास्थ्य मन्त्री ढकाल कांग्रेसका सन्तोष सुब्बासँग पराजित बने ।

भोजपुरमा एमालेबाट उम्मेदवार कोशी प्रदेशका संस्थापक मुख्य मन्त्री तथा संघीय सरकारका सूचना तथा सञ्चारमन्त्री भएका शेरधन राई पनि संसदीय राजनीतिबाट रोकिएका छन् । एमालेका केन्द्रीय सचिव समेत रहेका राई श्रम संस्कृति पार्टीका ध्रुवराज राईसँग पराजित बनेसँगै संसदीय राजनीतिमा रोकिएका छन् ।