धेरैले नेकपा (एमाले) अध्यक्षको पतनका कारण सर्वसत्तावादलाई मान्छन् । अतिवादलाई मान्छन् । चुनावका बेलामा उम्मेदवार बन्न आएका काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र साह (बालेन) लाई किन हार्न पठाएका होलान् भन्दै खिसिट्युरी गरे । ती भिडियोहरू अहिले छ्यापछ्याप्ती सामाजिक सञ्जालमा छन् । तर ओली पतन हुनुको कारण यति मात्रै पनि होइन ।

मैले धरानका एक राजनीतिक बुद्धिजीवीलाई कुनै कार्यक्रममा व्यक्तिगत भेटघाटमा भनेको थिएँ–“एमाले अब पतनको दिशामा जाँदैछ । अब यो पार्टी विनिर्माण भएर आएन भने उठ्नै सक्दैन ।” यो मैले नेकपा (एमाले) को ११ औँ महाधिवेशनको आसपासमा भनेको थिएँ । ती बुद्धिजीवीले अचम्म मान्दै भनेका थिए, “हैन यो त खतरा कुरा आयो त, यो त मैले नसोचेको र अचम्मलाग्दो तथ्य सुनाउनुभयो ।” तर ती बुद्धिजीवीले यो स्तम्भ हेरे भने मैले भनेको वाक्यांश सम्झेलान् भन्ने ठानेको छु ।

यो मैले कुनै लहडमा भनिरहेको छैन । खासमा केपी ओली राजनीतिक चरित्र भएको व्यक्ति नै होइनन् । उनमा राजनीतिक चरित्र नै छैन । उक्त चरित्र नभएकै कारण पनि उनी राजनीतिमा चाहिँ छन् । यो नेपाली राजनीतिका लागि सौभाग्य नै मान्नुपर्छ । यो विचार पढिरहँदा तपाईंहरूको मनमा विभिन्न विचारहरू उद्वेलित हुन सक्छन् । त्यसमा मेरो भन्नु केही छैन ।

अब शीर्षकमा उठान गरेका विषयबारे चर्चा गरौँ । भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीले सपथ खाइसकेपश्चात् उनले निर्वाचनको मिति घोषणा गरिन् । निर्वाचनको मिति घोषणा भइसकेपश्चात् धेरै पार्टीहरू चुनावमा जाने मनस्थितिमा देखिए सिवाय एमाले त्यो मनस्थितिमा देखिएन । जबकि काङ्ग्रेस पनि चुनावमा जाने मनस्थितिमा थियो । तर एमाले पटक्कै थिएन । यसै पनि उसको प्रतिकूल थियो, त्यसकारणले पनि ऊ जाने मनस्थितिमा नभएको यथार्थ हो । तर त्यही बीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले “यो सरकारले चुनावै गराउन सक्दैन” भन्ने जस्ता अभिव्यक्तिहरू दिन थाले ।

ती अभिव्यक्ति अध्यक्षबाट मात्रै हैन, अधिकांश एमाले नेताबाट आएको थियो । यसैलाई हामी पत्रकारिताको भाषामा प्रोपगण्डा भन्छौँ । अर्थात् मिथ्या सूचना दिएर जनतालाई अलमल्याउने । जसले गर्दा मानिसहरूमा एक खालको भ्रम सिर्जना भइरहोस् । तर यसबाट कत्ति पनि विचलित नभई सरकार अगाडि बढिरह्यो । अन्ततः चुनाव सम्पन भई नतिजा तपाईंहामीसामु छ । अब यही चुनावी मैदानको बीचमा एमालेका अध्यक्ष ओलीले के के भुल गरे त ? यतातिर चर्चा गरौँ । 

पहिलो भुलः माफी नमाग्नु
भदौ २३ र २४ गते जुन खालका वितण्डा भए । विध्वंश भए । देश एउटा शोकमा डुब्यो । २३ गते जे भयो । त्यो सरकारको तर्फबाट भएको घटना हो । २४ गते जे भयो । त्यो सरकारका कारण उत्पन्न भएको परिस्थितिजन्य घटना हो । तर, विध्वंश राम्रो होइन । त्यो दण्डित हुने विषय थियो र हुनुपर्छ भन्ने विषयमा हामीसबै एकमत छौँ । तर ओली आफू सामान्य जीवनमा फर्किसक्दा पनि उक्त घटनालाई अतिरञ्जित बनाउने प्रयास गरिरहे । उनले घुसपैठ भएको भन्दै जवाफ दिइरहे । २३ गतेको घटनामा १९ जना बालबालिकाले सहिद भएको विषयमा कहीँकतै माफी मागेनन् । सामान्य चुक भयो पनि भनेनन् । जसबाट जनतामा एक प्रकारको आक्रोस गहिरोसँग भरिएको थियो ।

दोस्रो भुलः घुसपैठमा चट्टानी अडान
सरकारका नेतृत्व गरेका ओलीले भदौ २३ र २४ को घटनालाई घुसपैठ भनिरहे । त्यसलाई स्थापित गर्न लागे । तर, प्रमाणित हुने आधार चाहिँ पेश गर्न सकेनन् । खालि आफ्नो सत्ता गुमेको रिसमा उनले घुसपैठ भन्दै जनतालाई ढाँटिरहे । एउटा सामान्य हिसाबमा हेरौँ । सरकारको प्रमुखले अर्थात् प्रधानमन्त्रीले आफ्नो सरकार भएको बेला सबै पक्ष आफूसँग नियन्त्रित हुन्छ । प्रहरी प्रशासन, सशस्त्र प्रहरी, नेपाली सेना, गुप्तचर निकायलगायत सबै सबै । सबै सबै आफ्नो पक्षमा हुँदा त्यति ठूलो घुसपैठ भएको कुरा थाहा नपाउने प्रधानमन्त्री कस्तो प्रधानमन्त्री हो ? राज्यका सम्पूर्ण निकाय आफ्नो हातमा हुँदा भदौ २३ गते कस्तो र कत्रो हिसाबमा प्रदर्शन हुँदैछ भन्ने थाहा नपाउने अवस्था हुनु आफैमा सोचनीय विषय हो । अर्कोतिर राजीनामा मागिरहँदा पनि भदौ २३ गते राजीनामा दिन तयार देखिएनन् । भोलिपल्ट बाध्यात्मक अवस्था आएपछि मात्रै राजीनामा दिएर सेनाको हेलीमा गए ।

तेस्रो भुलः आफै अध्यक्ष बन्नु
नेकपा (एमाले) मा उनी दुई कार्यकाल अध्यक्षको जिम्मेवारीमा थिए । एमालेको विधानले पनि दुई कार्यकालसम्म अध्यक्ष बन्ने मार्ग कोरेकै थियो । ७० वर्षे उमेर हद थियो । तर ती सबै विधानहरूलाई लत्याएर आफूअनुकूलको विधान निर्माण गरी अगाडि बढे । यसै पनि चितवनमा सम्पन्न १० औँ महाधिवेशनमै उनको उमेर हद लाग्ने अवस्था थियो । तर, अर्ली महाधिवेशन गरेर आफूलाई अध्यक्ष बनाए । चिटको भरमा उपाध्यक्ष, महासचिव तथा अन्य पदहरू वितरण गरे । यतिसम्म त ठिकै थियो । तर जेन जी आन्दोलनपश्चात्को माग के हो ? अब पार्टी रूपान्तरण हुनुपर्छ कि पर्दैन भन्नेसम्म ख्याल नगरी आफै अध्यक्ष बन्ने दौडमा हिँडे । सोहीअनुसार देशभरि निर्देशन गरेर पार्टीका उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट महाधिवेशन प्रतिनिधि बन्नेहरूलाई रोक्न भित्रभित्रै निर्देशन दिए र आफूमाथि योग्य हुँ भन्ने परिदृश्य निर्माण गरी अध्यक्ष बनेर उदाए ।

चौथो भुलः हावादारी गफ
चुनावी घरदैलोको क्रममा आफू प्रधानमन्त्री भए ६ महिनाभित्र घरघरमा ग्याँस भन्दै हौवा पिटे । उक्त हौवा उनले २०७४ पछि प्रधानमन्त्री हुँदा पनि पिटेका थिए । पानीजहाज, रेललगायतका विषय त कति हो कति । यस्ता विषयमा बोल्दा कहिल्यै तथ्य र तथ्याङ्कको आधारमा बोलेनन् । तथ्य के छ ? भन्ने कुरालाई भुले र जनताले सबैकुरा पत्याउनुपर्छ भन्ने भ्रम पालिरहे । आजको जनता सूचनाप्रविधिको युगमा जन्मिएको छ । आज कहाँ के र कति गर्न सक्छ भन्ने कुरा जनताले थाहा पाउँछन् । वार्षिक बजेटबाटै के बन्न सक्छ र के बन्न सक्दैन भन्ने थाहा पाउन सक्ने भएका छन् । त्यसलाई विभिन्न एआईमार्फत्पनि विश्लेषण गर्न सक्ने भएका छन् । जम्माजम्मी २० प्रतिशत जति पुँजीगत खर्च छुट्याउने देश, त्यसमा पनि खर्च गर्न नसकेको अवस्थामा जनताले उनको कुरालाई कसरी पत्याउँछन् ? गर्न सक्ने काम मात्रै गर्नुपर्नेमा त्यसतिर उनले कहिल्यै सोचेनन् । मैले भनेको सबैकुरा अकाट्य हुन् । प्रामाणिक हुन् । सबै तथ्यपूर्ण हुन् भन्ने भ्रम पालिरहे र त्यो भ्रमलाई मलजल गर्ने काम उनका साइबर सेना तथा उनका समर्थकहरूले गरिरहे ।

पाँचौं भुलः गुइँठा बाल्ने
चुनावी अभियानमा होमिइरहेका बेला बालेन्द्र साह (बालेन) लाई व्यङ्ग्यात्मक शैलीमा ‘महोत्तरीजस्तो गुइँठा बाल्ने जिल्ला होइन झापा’ भन्दै अरूलाई खिसिट्युरी गरे । जबकि उनी देशको चार पटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । देशको उच्च पदस्थमा पुगेका नेताले मधेशलाई कसरी हेरेको रहेछ भन्ने भाष्य निर्माण गरिदियो ।

एउटा केन्द्र सरकारमा बसेको प्रधानमन्त्रीले मधेशलाई विकास गर्नै नचाहेको रहेछ भन्ने उक्त भनाइले प्रष्ट पारिदियो । आखिर महोत्तरी पनि त नेपालमै पर्छ । नेपालको हरेक जिल्लालाई समुन्नत बनाउने कसम खाएर गएका उनले मधेश प्रदेशका जिल्लालाई गुइँठा बाल्ने भनेर हेप्न मिल्थ्यो कि मिल्दैनथ्यो । झापाको दमक मात्रै सुन्दर र सफा भनेर व्याख्या गरेर आफैले आफैलाई प्रश्न उठाए । यति मात्रै होइन । आफ्नो कार्यकालमा के गरेछन् त भन्ने प्रमाण दिए । अर्कोतर्फ मधेशमा बस्ने तराईवासीहरूलाई गिज्याए । त्यो आफैमा महाभुल थियो । 

छैटौँ भुल:  एआईले बनाएको 
जेन जी आन्दोलनको क्रममा काङ्ग्रेस सभापति शेरबहादुर देउवाको घरमा देखिएको पैसा आर्टिफिसियल इन्टलिजेन्स (एआई) ले बनाएको भन्दै चुनावी अभियानमा प्रचार गरे । जुन आफैमा महाझुट थियो । त्यो विषयमा सबैजसो नागरिक जानकार थिए तर ओलीले एआईले बनाएको भन्दै एक ठाउँमा हैन, हरेक ठाउँमा भने । त्यसका विषयमा फ्याक्ट चेकसमेत भइसकेका थिए । उक्त तथ्यलाई बङ्ग्याएर उनले एआई भनेपछि मानिसलाई ओलीले कस्तो रूपमा हेर्दा रहेछन् र सोच्दा रहेछन् भन्ने उनको मानसिकतालाई छताछुल्ल बनाइदियो । नेपाली जनता सबै भेडा हुन् भन्ने मानसिकताको उपज थियो त्यो । जसलाई उनले एआईले बनाएको नबनाएको भन्नुपर्ने दरकार नै थिएन । उनले सिधै “त्यो विषयमा अनुसन्धान भइरहेको छ मैले थप बोल्न मिल्दैन” भनेर भनिदिए पुग्ने थियो तर उनले त्यसो गरेनन्, आत्मविश्वासका साथ एआईले बनाएको भनी बोलिदिए ।

यस्ता भुलहरू चुनावको बेलामा गरेका थिए । अरू कुरा मानिसहरूले समयक्रमसँगै भुल्दै जान्छन् । तर, करिब ६ महिनाको अवधिमै यस्ता कुराहरूमा उनी सचेत हुनुपथ्र्यो । उनको अहङ्कार र दम्भले त्यसो गरेन । एमालेको अध्यक्षमा निर्वाचित भएको दम्भ र आफै सर्वोपरि हो भन्ने सोच राखिरहे । जुन उनका लागि प्रत्यूत्पादक बन्दै थियो । एउटा व्यक्तिका लागि प्रत्युत्पादक बन्नु खासै ठूलो कुरो होइन । तर सिङ्गो पार्टीका लागि निकै ठूलो घाटा हो । विधिविधान र पार्टीभन्दा माथि आफूलाई राख्दाको परिणाम तपाईंहामीले चुनावमा देखिसक्यौँ । अहिले तेस्रो पार्टी बन्नका लागि सङ्घर्ष गरिरहेको छ ।

अब उनको निर्वाचन क्षेत्रमा गरेको गल्तीबारे चर्चा गरौँ । उनले आफ्नो चुनावी क्षेत्रमा चार गल्ती गरेका थिए । ती चार गल्तीहरू के के थिए त ?

पहिलो गल्ती : आदिवासी रङ्गशाला
एमाले अध्यक्ष ओलीले कमल गाउँपालिकामा निर्माण हुन लागेको आदिवासी जनजाति रङ्गशालालाई नाम परिवर्तन गरी मदन भण्डारी रङ्गशाला बनाए । जसले गर्दा त्यहाँका आदिवासी जनजातिहरू क्रुद्ध बने । उनले यस कुरालाई नजरअन्दाज गरिरहे । उनले आदिवासी भन्ने नाम नै सुन्न चाहेनन् । आफ्नो अडानमा दत्तचित्त रहे । जसले गर्दा आदिवासी जनजातिहरूमा एक प्रकारको निराशा छाएको थियो । विभिन्न चुम्लुङहरूमा यस विषयमा व्यापक चर्चा परिचर्चा भएको थियो । लेखक तथा अग्रज पत्रकार सेसेमी से नाल्बोले यस विषयमा मलाई भनेका थिए, “आदिवासी रङ्गशालालाई नाम परिवर्तन गरिदिएका कारण यहाँका आदिवासी जनजातिहरू ओलीप्रति सकारात्मक छैनन् ।” तर चुनावी अभियानका बेला आदिवासी रङ्गशालाका विषयमा केही उदार देखिए जस्तो बने ।

दोस्रो गल्तीः दमक सभागृह
दमक नगरपालिकामा बन्न लागेको सभागृहको सुरुको नाम आदिवासी सभागृह राखिएको थियो । २०७२ सालमा प्रधानमन्त्री हुँदा केपी शर्मा ओली स्वयम्ले उक्त सभागृहको शिलान्यास गरेका थिए । उक्त शिलान्यास गरेको शिलालेख अहिले पनि जीवित छ । तर निर्माण सम्पन्न भएपछि भने उक्त आदिवासी सभागृहलाई नाम परिवर्तन गरेर दमक सभागृह बनाउन लगाए । उनले त्यसमा पनि चट्टानी अडान राखेको आदिवासी जनजातिको अगुवाहरू नै बताउँछन् । कुनै पनि हालतमा आदिवासी सभागृह नाम नहुने भनेकै कारणले दमक सभागृह बनाइएको अगुवाहरूको तर्क छ । उनी आदिवासी जनजातिप्रति किन यति धेरै अनुदार छन् भन्ने विषय कसैले बुझ्न सकेको छैन । 

तेस्रो गल्तीः आदिवासी विश्वविद्यालय
स्वर्गीय सुवासचन्द्र नेम्वाङ सभामुख रहँदा दमकको बेलडाँगी नजिकै आदिवासी विश्वविद्यालय बनाउने प्रस्ताव अगाडि बढ्यो । उक्त प्रस्तावमा नेम्वाङले भरपूर सहयोग गरेका थिए । अध्यक्ष ओलीलाई लाखौँ पटक बिन्ती बिसाउँदा पनि उनले उक्त विश्वविद्यालयका बारेमा चुँसम्म बोलेनन् । फलतः उक्त क्षेत्र अहिले पनि खाली छ । सिसौघारी छ । उक्त स्थानमा विश्वविद्यालय बनाउने प्रस्ताव लिएर गएका आदिवासी जनजातिहरू निराश भएर फर्किए । लामो समयसम्म कुरे । पहिलो संविधानसभा, दोस्रो संविधान सभा र संविधान जारीपश्चात् सरकार बनिसक्दा पनि प्रयास गरिरहेका थिए । तर ओलीले त्यस विषयमा कुनै जवाफ नदिएको लेखक नाल्बोको भनाइ छ । यसले पनि आदिवासी जनजातिहरू ओलीप्रति भित्रभित्रै रुष्ट थिए ।

चौथो गल्तीः भ्यूटावर 
भ्यूटावर आवश्यक थियो कि थिएन । विषय त्यो होइन । विषय चाहिँ त्यहाँका बासिन्दाले उक्त भ्यूटावर बन्दा के प्राप्त गरे भन्ने हो । त्यो विषयमा चुनावी अभियानमा विभिन्न महिलाहरूले ओलीलाई प्रश्न गरेको भिडियोहरूले नै प्रष्ट पारेको छ । भ्यूटावर आवश्यक भए पनि त्यहाँ जेजस्ता गतिविधि पार्टीमार्फत् गरियो, त्यो चाहिँ गलत थियो भन्ने अधिकांशको भनाइ देखिन्छ । भ्यूटावर वरिपरिको जग्गाबाट एमालेकै नेता कार्यकर्ताहरू र आसेपासेले फाइदा उठाए । जसको प्रत्यक्ष लाभ त्यहाँको जनताले प्राप्त गर्नुपर्ने थियो तर त्यो हुन सकेन । भ्यूटावर बनेको धेरै समयपश्चात् पनि ठेक्का लाग्न सकेको अवस्था छैन । यसले पनि त्यो आवश्यक थियो कि थिएन भन्ने प्रश्नहरू त सामाजिक सञ्जालहरूमा तपाईंहरूले देख्नुसुन्नु भएकै छ ।

निष्कर्षः 
ओली कस्ता व्यक्ति हुन् भनेर मैले यहाँ भनिरहनु पर्दैन । ओली आफ्नै कर्मका कारण पराजय भोगेका व्यक्ति हुन् । राजनीतिको उत्तराद्र्धमा जुन उचाइ चुम्नु पर्ने थियो, त्यो हुन सकेन । यो चाहिँ सबैभन्दा दुःखलाग्दो पक्ष हो । राजनीतिक जीवनको यो मोडमा आइपुग्दा आफैले खिसिट्युरी गरेको नेताले जित्नु त्यो पनि भारी मतान्तरले जित्नु चाहिँ एकदमै लज्जास्पद विषय हो । यसकारणले समय सबैभन्दा बलवान् छ । समयलाई चिन्न नसक्नु चाहिँ उनको ठूलो भुल हो । महाधिवेशनमा नयाँ पुस्तालाई हस्तान्तरण गरेर संरक्षकको भूमिका निर्वाह गरेको भए आज यो दुर्गति पनि हुँदेनथ्यो कि !