ज्येष्ठ नागरिक समाजका जिउँदा इतिहास हुन् । घर, समाज र राष्ट्र निर्माण कार्यमा उनीहरूको महŒवपूर्ण योगदान रहेको हुन्छ । उनीहरूको अनुभव र सिकाइ समाज विकासका लागि महत्वपूर्ण सम्पत्ति बन्न सक्छ । यो महत्वलाई बुझेर संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १४ मा प्रत्येक वर्षको अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय ग¥यो जस अनुसार १९९१ देखि अक्टोबर १ तारिखमा ज्येष्ठ नागरिक दिवस मनाइन्छ । वि. सं. २०७८ मा ज्येष्ठ नागरिक कोषको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय ग¥यो । २०५१ सालमामनमोहन अधिकारीको नेतृत्वमा रहेको नेकपा (एमाले) को सरकारले ७५ वर्ष पुगेका नागरिकहरूलाई मासिक एकसय रुपैयाँ वृद्धभत्ता दिन सुरु गरेको थियो ।
सोही कार्यक्रमको निरन्तरता स्वरूप हाल सरकारले विभिन्न जाति, समुदाय, क्षेत्रका आधारमा फरक–फरक उमेर समूहका व्यक्तिहरू र अपाङ्गता भएका (फरक क्षमता भएका) व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ताको रूपमा रकम उपलब्ध गराउँदै आएको छ । २०५१ सालको पुस ११ गते वृद्धभत्ताको निर्णय भएकोले सोही दिनलाई आधार मानेर पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो ।
६० वर्ष पुगेका मानिसहरू ज्येष्ठ नागरिकमा गणना गरिने भए पनि विभिन्न सेवाबाट अवकाश पाउने उमेर हद, राज्यबाट पाउने विभिन्न सेवासुविधासमेतमा फरक–फरक मापदण्ड पाइन्छ । विश्वमा हाल ज्येष्ठ नागरिकहरूको सङ्ख्या करिब १ अर्ब १२ करोड जति छ र नेपालमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूको सङ्ख्या करिब ३० लाख रहेको छ । यो सङ्ख्या नेपालको कुल जनसङ्ख्याको झण्डै १०.५ प्रतिशत हो । सरदर आयु बढेसँगै यो सङ्ख्या पनि बढ्दै जानेछ भने बर्सेनि घट्दै गएको जन्मदरका कारण प्रतिशतमा पनि वृद्धि हुँदै जानेछ ।
पछिल्ला वर्षहरूमा सरकारले ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ताका अतिरिक्त निःशुल्क स्वास्थ्य बिमा, यातायात क्षेत्रलगायत उद्यानहरूमा छुट, विभिन्न अस्पतालहरूमा उपचारमा सहुलियत (जेरियटिक सेवा) उपलब्ध गराउँदै आएको छ । तर यो मात्र पर्याप्त हँुदैन । उनीहरूलाई घर समुदायबाट पाउनु पर्ने माया, सम्मान उचित हेरचाह, स्याहारसम्भार आवश्यक पर्छ भने उनीहरूलाई परिवारका सदस्यहरूले पर्याप्त समय पनि दिनुपर्ने हुन्छ । यी कुराहरू गर्न कतिपय मानिसहरूलाई गरिबी र अज्ञानताका कारण असम्भव जस्तो लाग्न सक्छ । तर राज्यले दिने सेवा सुविधाका बारेमा ख्याल राख्ने र समयलाई ध्यान दिने हो भने यो असम्भव विषय होइन । समाजका अग्रजहरूले पनि ज्येष्ठ नागरिकहरू संरक्षणको विषयलाई प्राथमिकतामा राखेर ध्यान दिनु पर्छ ।
यो वर्षको पुस ११ गते ‘हाम्रो साझा अभियान ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ पाँचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । हाम्रो देशमा राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको विषय ज्यादै कम मानिसहरूलाई मात्र थाहा छ । सामाजिक क्षेत्रमा काम गर्ने वा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने संस्थाहरूले पनि यो विषयमा खासै ध्यान दिएको पाइँदैन । हामीले वर्षमा १ दिन वा २ दिन दिवस मनाएर वा ज्येष्ठ नागरिकलाई सम्झेर वा सम्मान गरेर मात्र पुग्दैन । यो दिनलाई विशेष दिन सम्झेर वर्षभरिका कामको समीक्षा गर्ने, आगामी वर्षको कार्यक्रम बनाउने गर्नुपर्छ ।
संस्कृतमा एउटा भनाइ छ–‘मातृ देवो भवः पितृ देवो भवः’ अर्थात् जन्म दिने आमा बुबा देवीदेवता समान हुन् । यसलाई ज्येष्ठ नागरिक जिउँंदा देवता हुन् भनेर बुझ्दा अत्युक्ति नहोला । यो मान्यतालाई बुझेर राज्यले ज्येष्ठ नागरिकको हकहित र संरक्षणका लागि विभिन्न नीतिगत र कानूनी व्यवस्था गरेको छ । विश्वमा पनि ज्येष्ठ नागरिकका सम्बन्धमा विभिन्न अभियानहरू सञ्चालन भइरहेका छन् । ज्येष्ठ नागरिक दिवसका अतिरिक्त, ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहार विरुद्धको चेतना दिवस प्रत्येक वर्षको जुन १५ तारिखमा मनाइन्छ । यसरी ज्येष्ठ नागरिकका सम्बन्धमा राष्ट्रिय, अन्तर्राष्ट्रिय अभियान सञ्चालन, कानूनी व्यवस्था भए पनि त्यसलाई व्यवहारमा उतार्ने कार्यमा भने कमी रहेको छ । हामी सबैले ज्येष्ठ नागरिक उमेर समूहमा प्रवेश गर्नुपर्छ भन्ने कुरालाई मनन् गरेर ज्येष्ठ नागरिकमैत्री व्यवहार गरौँ, ज्येष्ठ नागरिकहरूलाई श्रद्धा र सम्मान गरौँ ।
ज्येष्ठ नागरिक समाजका अमूल्य सम्पत्ति हुन् । उनीहरूले जीवनभर आर्जन गरेको ज्ञान, सीप र अनुभव समाज तथा राज्यका लागि अत्यन्त उपयोगी हुन्छ । त्यसैले ज्येष्ठ नागरिकलाई संरक्षण गर्नु र उनीहरूका सीप–अनुभवको सदुपयोग गर्नु राज्य र समाज दुवैको दायित्व हो ।
सबैभन्दा पहिले ज्येष्ठ नागरिकको संरक्षणका लागि राज्यले प्रभावकारी नीति र कार्यक्रम ल्याउनु पर्छ । सामाजिक सुरक्षा भत्ता, निःशुल्क वा सहुलियतपूर्ण स्वास्थ्य सेवालाई अझ सहज र सरल बनाउनु पर्दछ । सुरक्षित आवास तथा वृद्धाश्रमको व्यवस्था उनीहरूका लागि अनिवार्य हो । साथै परिवार र समाजमा उनीहरूप्रति सम्मान र सहानुभूतिको भावना विकास गर्नुपर्छ । ज्येष्ठ नागरिकमाथि हुने उपेक्षा, दुव्र्यवहार र हिंसालाई रोक्न कडा कानूनी व्यवस्था र जनचेतना कार्यक्रम पनि बाञ्छनीय छ ।
ज्येष्ठ नागरिकका सीप र अनुभवको उपयोग गर्न राज्य र समाजले विभिन्न उपाय अपनाउन सक्छ । उदाहरणका लागि, उनीहरूलाई विद्यालय, कलेज वा समुदायमा परामर्शदाता, प्रशिक्षक वा मार्गदर्शकका रूपमा सहभागी गराउन सकिन्छ । शिक्षण, कृषि, व्यापार, हस्तकला, प्रशासनजस्ता क्षेत्रमा उनीहरूको अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शन बन्न सक्छ । यसले ज्ञानको पुस्तान्तरण मात्र होइन, ज्येष्ठ नागरिकलाई आत्मसम्मान र सक्रिय जीवन बिताउन पनि सहयोग गर्छ ।
त्यसैगरी स्थानीय तहमा ज्येष्ठ नागरिक सल्लाहकार समिति गठन गरी विकास योजना, सामाजिक कार्यक्रम र नीति निर्माणमा उनीहरूको सुझाव समावेश गर्न सकिन्छ । स्वयम्सेवी कार्य, सामाजिक अभियान र सांस्कृतिक संरक्षणमा पनि उनीहरूको भूमिका महŒवपूर्ण हुन्छ । परम्परा, भाषा र संस्कृतिको संरक्षणमा ज्येष्ठ नागरिकको योगदान अमूल्य छ । उनीहरुमा भएका विज्ञता उपयोग गर्ने राज्यले नीति बनाउनु पर्दछ ।
यसरी ज्येष्ठ नागरिकको संरक्षण गर्दै उनीहरूका सीप र अनुभवको उचित उपयोग गर्नसके समाज समृद्ध, सन्तुलित र मानवीय बन्छ । ज्येष्ठ नागरिक सम्मानित र सुरक्षित महसुस गर्ने समाज नै सभ्य र विकसित समाज हो ।
(लेखक कोशी प्रदेश सभासदस्य हुन् ।)
































