राजविराज । सप्तरीको रूपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार नेपाली सेनाले छोडेको बेवारिसे बम विष्फोट हुँदा चार जना बालक गम्भीर घाइते भएका छन् । 

दुधैला खोलामा पिकनिक (वनभोज) गएका स्थानीय बालकहरू बम विष्फोट हुँदा छर्रा लागेर गम्भीर घाइते भएका हुन् । 

रूपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवका अनुसार रूपनी–६ का साजन आले मगरको छोरा वर्ष ११ का साहास मगर, मनोज थापा मगरको छोरा वर्ष ९ का प्राशिस थापा मगर, कर्णबहादुर थापा मगरका छोरा वर्ष १६ का कविर थापा मगर र पदमबहादुर विकको छोरा वर्ष १३ का सुरज विक बम विष्फोटमा परी घाइते भएका छन् । 

शनिबार बिहानै वीरेन्द्र बजारबाट करिब २ किमी उत्तरमा पर्ने वनमा पिकनिक गएका उनीहरू बिहान साढे ११ बजे एक्कासि बम विष्फोटमा परी घाइते भएको स्थानीयले बताएका छन् । घाइते चारै जनालाई मधेस प्रदेश प्रहरी अस्पताल रूपनीमा उपचारका लागि भर्ना गरिएको थियो । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उनीहरूको उपचार भइरहेको अध्यक्ष यादवले जानकारी दिए ।  

घाइतेमध्ये साहास र प्राशिसको पैतालामा गम्भीर चोट लागेको तथा शरीरका विभिन्न भागमा बमको छर्रा लागेको छ भने कविर र सुरजको शरीरका विभिन्न भागमा बमको छर्रा लागेको स्थानीयले बताएका छन् । घाइतेहरूको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

उक्त स्थान नेपाली सेनाको अभ्यासस्थल रहेको र सेनाले बिर्सिएर छोडेको बम विष्फोट भएको बताइएको छ । अभ्यासमा रहेका नेपाली सेना १ महिनाअगाडि फिर्ता गएको तथा बम हराएको भन्दै १०–१५ जनाको टोली मात्र त्यस स्थानमा बस्दै आएको स्थानीयले जानकारी दिएका छन् । सेनाले बम खोजिरहेको भए पनि हालसम्म फेला पार्न सकेको थिए । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्स्पेक्टर प्रमोद साहको कमाण्डमा खटिएको टोलीले प्रारम्भिक अनुसन्धानपछि सेनाले छाडेको बम विष्फोट भएको निष्कर्ष निकालेको छ । 

विष्फोटपछिको अवस्थालाई मध्यनजर गर्दै नेपाली सेना श्री बरख गणबाट सहायक सेनानीको कमाण्डमा बम स्क्वाड टोली घटनास्थलमा खटाएको बताइएको छ । सुरक्षाका सबै मापदण्ड अपनाउँदै विष्फोटको प्रकृति, अवशेष र स्रोत पहिचान गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।