धरान । धरानमा अल्टिमा लाइफको फ्रेन्चचाइज शाखा शुक्रबारदेखि धरान–३ माछाभौडी लाइनमा खुलेको छ ।
अल्टिमाको यो सातौँ स्टोरको रूपमा रहेको अल्टिमा लाइफ स्टाइलकी जनसम्पर्क अधिकृत साक्षी श्रीवास्तवले जानकारी दिइन् । काठमाडौँमा पाँच वटा र चितवनमा एक गरी कुल ६ वटा अल्टिमाका स्टोरहरू रहेको उनले बताइन् । उक्त क्षेत्रमा कम्पनीको आफ्नै स्टोर रहेको तर धरानमा चाहिँ फ्रेन्चाइजको रूपमा रहेको उनले बताइन् । “ग्राहकलाई लक्षित गर्दै मार्केट बढाउँदै लगिरहेका छौँ” उनले भनिन्, “विशेष गरी युवा वर्गको रोजाइमा परेको छ । मूल्य पनि ठिकै किसिमको छ र गुणस्तरीय पनि छ ।”
अल्टिमा लाइफको एयर बड्स, साउन्डबार, स्पिकर, स्मार्ट वाच, पावर बैङ्कसहित हालै माइक पनि सार्वजनिक गरिएको छ । धरानमा सुशील शाक्यले सञ्चालनमा ल्याएका हुन् । उनले भने, “युवावर्गमा एकदमै रोजाइमा रहेकाले पनि धरानमा केही गरौँ भन्ने हिसाबले खोलिएको हो ।” उनका अनुसार करिब ३० लाख रुपैयाँको लगानीमा फ्रेन्चाइज सुरु गरिएको हो । “यो कोशी प्रदेशमै पहिलो हो” उनले भने ।
अल्टिमा लाइफ स्टाइलका शाखा प्रबन्धक प्रज्ज्वल ढकालले यो वर्षभित्र ५० वटा स्टोरहरू खोल्ने योजना रहेको बताए । उनले धरानलाई फेसनको सहर पनि भनिने भएकाले धरानवासीलाई लक्षित गरेर फ्रेन्चाइज स्टोर खोलिएको बताए । अल्टिमा नेपालमा सन् २०१३ बाट सुरु गरिएको हो ।






























