सडक सुरक्षा आजका दिनमा अपरिहार्य झैं बन्दै गएको छ । नेपालजस्तो विकासोन्मुख देशहरुमा पूर्वाधार अभाव छ । तर सवारीको सङ्ख्या उल्लेख्य बढिरहेको छ । सडक बढ्न सकेको छैन; सवारी मात्रै बढिरहेको छ । यो पनि सडक दुर्घटनामा मुख्य कारण हो । सडक दुर्घटना नेपालको मात्रै चुनौती होइन । यो विश्वको चुनौती बनिरहेको छ । विश्वमा मृत्यु हुने दरमध्ये सडक दुर्घटना पनि एक हो । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कहरुलाई आधार मान्दा विश्वमा हुने मृत्युको कारणमध्ये एउटा सडक दुर्घटना पनि पर्ने गरेको छ । यसकारण सडक दुर्घटना सबै देशका लागि टाउको दुखाइको विषय हो । अझ विकासोन्मुख देशहरुका लागि त सबैभन्दा चिन्ताको विषय हो ।
नेपालमा सडक दुर्घटनामा सबैभन्दा बढी हिस्सा दुई पाङ्ग्रे सवारीको रहेको छ । किनकि मध्यमस्तरका नागरिकहरुले दुई पाङ्ग्रे सवारी नै भरपर्दो र किफायती मान्दछन् । उनीहरुको आयस्रोतअनुसार पनि दुई पाङ्ग्रे सवारी नै भरपर्दो हुन्छ । तर दुई पाङ्ग्रे सवारी साधनको माध्यमबाट हुने दुर्घटनाको ग्राफ भने प्रत्येक वर्ष उकालो लागिरहेको छ । यसप्रति विशेषगरी ट्राफिक प्रहरी चिन्तित बन्ने गरेका छन् । सडक हेर्ने मुख्य जिम्मेवारी पाएका उनीहरुले यस्ता चुनौतीलाई पार लगाउन बेला–बेला अनेकन उपायहरु अपनाउने गरेका छन् । पछिल्लो सयम दुई पाङ्ग्रे सवारी साधनका चालकहरुसँग सडकमै दुई मिनेट संवाद कार्यक्रमलाई अगाडि बढाएका छन् । यो कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरूरी छ । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार मङ्सिर महिनामा मात्रै कोशी प्रदेशमा भएका कुल दुर्घटनामध्ये ५६ प्रतिशत हिस्सा दुई पाङ्ग्रे सवारी साधनको थियो । जसमा मानवीय क्षति पनि बढ्दै गएको देखाएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सुरू गरेको दुई पाङ्ग्रे सवारीका ‘चालकसँग दुई मिनेट ’ भन्ने अभियान सदैव चलाउन जरूरी छ । यो सामयिक र व्यावहारिक पनि छ । जबसम्म चालकहरुको मनस्थिति र उनीहरुको मनोविज्ञानलाई परिवर्तन गर्न सकिँदैन, तबसम्म हामीले दुर्घटनालाई रोक्न सक्दैनौँ । जरिबाना तथा कारबाही मात्रै समस्याको समाधान होइन भन्ने ट्राफिक प्रहरीको बुझाइ एकदमै वस्तुगत छ । चालकको व्यवहारमा परिवर्तन गर्नका लागि यस्ता अभियानहरु सार्थक हुन सक्छन् तर यसलाई डिस्कोर्समा लान जरूरी छ । चालकलाई प्रत्यक्ष संवादमार्फत् सचेतना गराउने शैलीले नागरिकमा केही न केही परिवर्तन आउने नै छ । त्योसँगै ट्राफिक प्रहरी र चालकबीचको सम्बन्धलाई पनि सुधार्छ । ट्राफिक प्रहरीप्रतिको बुझाइ पनि परिवर्तन हुन्छ । नागरिक र प्रहरीबीचको सम्बन्धलाई सुधार्ने यो एउटा उपाय पनि हो ।
यो समय चालकहरुका लागि केही प्रतिकूल समय पनि हो । तराई क्षेत्रमा हुस्सु लाग्ने कारण कमजोरी भिजिबिलिटीले सडक यात्रा थप जोखिमपूर्ण बनाएको हुन्छ । यस्तो समयमा चालक सचेत र चनाखो हुन आवश्यक पनि हुन्छ । अर्कोतर्फ चालकहरुले अनावश्यक रुपमा मोबाइलको प्रयोग गर्दा पनि ठूला दुर्घटनाहरु निम्तिरहेका उदाहरणहरु छन् । हेर्दा सामान्य लाग्ने तर गम्भीर विषयहरुमा चालकले एकदमै ध्यान दिनुपर्छ । सुरक्षित सडक यात्रा सबैको जिम्मेवारी हो । यो ट्राफिक प्रहरीको जिम्मेवारी मात्रै नभई चालक, सह–चालक, पैदलयात्री तथा सडकसँग जोडिएका सरोकारवाला निकाय सबैको जिम्मेवारी हो । एकल प्रयासबाट मात्रै सडक दुर्घटना रोक्छु भन्नु मूर्खता मात्रै हो । यसकारण ट्राफिक प्रहरीलाई सबैले साथसहयोग गर्न आवश्यक छ ।
ट्राफिक प्रहरीका लागि हेल्मेट लगाउने नभई सामाजिक सुरक्षाका लागि हेलमेट लगाउने परिपाटी बसाउन आवश्यक छ । सडक दुर्घटना रोक्नु सबैको साझा दायित्व हो भन्ने ढङ्गले अगाडि बढ्न सके मात्रै विश्वमा बढिरहेको एउटा मृत्युको कारणलाई रोक्न सक्छौँ । यसका लागि विद्यालय तहदेखि नै सचेतना फैलाउने र सडक अनुशासनलाई जीवन पद्धतिका रुपमा विकास गर्ने दीर्घकालीन योजनालाई सबै सरोकारवालाले साथ दिनु आवश्यक छ । अन्ततः नियमको पालना दण्डको डरले भन्दा पनि आफ्नो र अरुको अमूल्य जीवन बचाउने कर्तव्यबोधले गर्दा मात्र सडक दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ ।
































