भद्रपुर । झापा भद्रपुर नगरपालिका–९ का तत्कालीन उद्योगका नाइके दिलकुमार राईको समूहलाई पारिश्रमिक नदिएर श्रमशोषण गरेको घटना बाहिरिएको हो । पीडित राईलगायतको समूहले घटना बाहिर ल्याइदिन ब्लाष्टकर्र्मीको सम्पर्कमा आएर घटना विवरण सुनाए । राईले दिएको घटना विवरणअनुसार दक्षिण बाराही इँटा उद्योग परिवर्तित नाम दक्षिण बाराही इण्ड्रष्टिज प्रा.लि. दधिकोट सूर्यविनायक–४ भक्तपुरमा २०५९/०६० सालदेखि नाइके भई इँटा उत्पादन गर्ने समयमा मजदुरलाई लिएर ठेक्कामा उनले काम लगाउँदै आइरहेका थिए ।
उद्योगका सञ्चालक काठमाडौँ महानगरपालिका–५ का हिराकाजी महर्जनले इँटा उत्पादनको रकम र मजदुरहरूको ज्याला दिँदै आइरहेकोमा ०७५/७६ बाट पछि मिलाउँला भन्दै रकम दिन आलटाल गर्दै आएको राईले बताए । महर्जनले रकम नभएको भनेपछि व्यक्तिगतरूपमा ऋण खोजेर केही रकम मजदुरलाई भुक्तानी गरेको उनको भनाइ छ । आर्थिक वर्ष ०७८/७९ को रकम उपलब्ध गराइदिन जानकारी गराउँदा महर्जनले उल्टै गालीगलौज गरेको उनको आरोप छ । उनका अनुसार उद्योगबाट ४१ लाख ६० हजार दुई सय १८ रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
यता इँटा उद्योगका सञ्चालक महर्जनले भने आफूले कुनै पनि रकम दिन बाँकी नरहेको दाबी गरेका छन् । उनले हाजिरी गरेअनुसार पाउनुपर्ने रकम लगिसकेको दाबी गरे । नाइके राईले २० वर्षसम्म एकै परिवार जस्तो भई विश्वासका साथ आफूसँग काम गर्दै आएकोमा पछि धोका दिएको बताए । राईले आर्थिक वर्ष ०७७/७८ मा इँटा उत्पादन तथा पारिश्रमिकबापत बाँकी २० लाख ५४ हजार ८ सय, ०७८/७९ को १२ लाख ४० हजार, बुट्टा केक पिस बोकेबापत ८ लाख, ज्यामी बढेको ज्याला बाँकी रहेको १४ हजार ५८, हिलो पेलेको बाँकी ५१ हजार तीन सय ६० र नाइके भई बीस वर्ष काम गरेबापतको तलबसमेत नपाएको बताए ।
पटक–पटक रकम माग गर्दा पनि नदिएपछि न्यायका लागि भद्रपुर नगरपालिका, जिल्ला प्रहरी कार्यालय भक्तपुर, सूर्यविनायक नगरपालिकामा प्रक्रिया पु¥याएर छलफलका लागि निवेदन दिए पनि सञ्चालक महर्जन नआएको उनले जनाए । महर्जनले पठाएको वारेसलाई समेत पूर्ण अधिकार नदिएपछि प्रक्रिया रोकिएको उनको भनाइ छ ।
पीडित राईले २०७९ चैतमा भद्रपुर ९ नम्बर वडा कार्यालयमा पारिश्रमिक रकम उपलब्ध गराइदिनका लागि निवेदन पत्र दर्ता गराएको जनाए । सो पत्रमाथि भद्रपुर न्यायिक समितिले प्रतिवादी हिराकाजी महर्जनलाई छलफलमा बोलाउँदा अटेर गरी अपशब्दसमेत प्रयोग गरेको पत्रमा उल्लेख गरी २०८० भदौ १२ गते सूर्यविनायक नगरपालिकाको न्यायिक समितिमा प्रतिवादीलाई उपस्थित गराई विवादको टुङ्गो लगाउन पत्रचार गरिएको थियो ।
पछिल्लो समय २०८२ असार २२ गते सूर्यविनायक नगरपालिकाले छलफलका लागि पटक–पटक पत्राचार गरे पनि महर्जन उपस्थित नभएको भनी राईलाई सम्बन्धित पालिकाको सिफारिसबाट न्यायका लागि अदालत जान लिखित पत्र दिएको पत्रमा उल्लेख छ ।
यता सञ्चालक महर्जनले हाजिरी गरेअनुसार पाउनुपर्ने रकम लगिसके पनि आफूलाई विभिन्न निकायमा निवेदन हालेर दुःख मात्रै दिने काम गरेको बताए । उनले उद्योगमा आफूले कुनै पनि मजदुरलाई श्रमशोषण नगरेको दाबी गरे । यता पीडितहरूले करिब एकसय जना मजदुरको रकम उद्योगले नदिएर दादागिरी देखाएको जनाएका छन् ।
२० वर्षसम्म साहुको विश्वासिलो पात्र भएर नाइकेको रूपमा काम गरे पनि हाल आएर सेवा सुविधा परै जाओस् काम गरेको ज्यालासमेत नदिएको उनको आरोप छ । चिने जानेका नेता, इँटा उद्योग व्यवसायी समितिलगायत दर्जनभन्दा बढीलाई पीडा सुनाए पनि सुनुवाइ नभएको उनले बताए ।
दश वर्षभन्दा माथि काम गरेका राईका मजदुरले जनही ४० हजार रुपैयाँभन्दा बढी रकम पाउन बाँकी रहेको मजदुरको भनाइ छ । मेसिन खराबीका कारण हात काटेपनि साहुले उपचार नगराएको उनीहरूको आरोप छ ।






























