धरान । ब्राह्मण समाज धरानले आफ्नो संस्कार संस्कृति प्रवर्धन गर्ने उद्देश्यले धरानमा बुधबारदेखि चार दिने सङ्गीनी भजन प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
धरान–३ स्थित लक्ष्मीनारायण मन्दिरमा सुरु भएको प्रशिक्षण कार्यक्रममा धरानका ४ वटा वडाका ६ समूह सहभागी छन् । समाजका अध्यक्ष उद्धवप्रसाद अधिकारीका अनुसार धरान–१४, १५, १६ र १७ का समूह गरी कुल ३८ जना प्रशिक्षार्थी सहभागी छन् । धरान–१४ र १६ बाट दुई–दुईवटा समूह सहभागी भएको छ ।
“ब्राह्मणको रीति र संस्कारको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो” अध्यक्ष अधिकारीले भने, “विगत तीन वर्षदेखि गर्दै आएका छौँ ।” तालिममा प्रमिला बास्कोटा र अरुणा पोखरेलले सहभागीहरूलाई सङ्गीनी भजनको सहजीकरण गरिरहेका छन् । कार्यक्रमको समापनको अवसरमा समूहहरूबीच प्रतिस्पर्धा गरिने जनाइएको छ ।
कार्यक्रमको उद्घाटन ब्राह्मण समाजका कोशी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य पण्डित केशवप्रसाद अधिकारीले गरे । कार्यक्रममा धरान सरोकार समितिका अध्यक्ष गङ्गाप्रसाद रेग्मी, ब्राह्मण समाजका केन्द्रीय सदस्य हिमप्रसाद ओझा, ममता पौडेल, मैया तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।
































