धरान । खानेपानी व्यवस्थापन बोर्डका स्वघोषित अध्यक्ष बनेका धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हर्कराज राईले बोर्डमा आफूखुसी कर्मचारी नियुक्त गरेको पाइएको छ । 

विगतमा नेकपा (एमाले) बाट निर्वाचित भएका स्वर्गीय तारा सुब्बा र नेपाली काङ्ग्रेसबाट निर्वाचित पूर्व नगर प्रमुख तिलक राईले अपनाएको शैलीलाई उनले पनि पछ्याएका छन् । उनी आफूलाई भ्रष्टाचार विरोधी छवि बनाए पनि अन्ततः बोर्डका स्वघोषित अध्यक्ष भएका साम्पाङले २२ जना आफन्त तथा कार्यकर्तालाई जागिर खुवाएको पाइएको हो । 

उनी आफू पदमा रहँदा कानूनी मापदण्ड तथा प्रक्रिया नपु¥याई ठाडो आदेशमा कर्मचारी नियुक्त गराइएको पाइएको हो । बोर्डको विभिन्न पदका लागि कर्मचारी नियुक्त गरिएको भेटिएको छ । प्राप्त पत्रअनुसार सहायककर्ता प्रमुख, कार्यालय सहयोगी, चौकीदार, माली, प्लम्बरलगायतमा जागिर खुवाएको देखिन्छ ।

नियुक्तमध्ये एक जना सुपरभाइजर र एक जना कम्प्युटर अपरेटरमा नियुक्त गरेको छ । जसमध्ये दुईजनालाई खरिदारसरहको तलब स्केल बुझ्ने गरेको पाइएको छ भने बाँकी २० जनाले कार्यालय सहयोगीको तलब बुझ्ने गरेका छन् । खरिदार स्केलअनुसार मासिक ३२ हजार नौ सय दुई रुपैयाँ र कार्यालय सहयोगीको मासिक २४ हजार सात सय २ रुपैयाँ तलब बुझ्ने गरेका छन् ।

यसअघि एमाले र काङ्ग्रेसले पनि आफ्ना कार्यकर्ता नियुक्त गरेको भन्दै चौतर्फी विरोध भएको थियो । एमालेका नगर प्रमुख स्वर्गीय तारा सुब्बाले आफ्ना नजिकका कार्यकर्ताका श्रीमतीलगायतलाई पनि काममा लगाएको विषय बाहिरिएको थियो ।

नगर प्रमुख साम्पाङ वैशाख ३० गते निर्वाचित भएपश्चात् उनले २०७९ चैत १ गतेदेखि २०८२ साउन ७ गतेसम्म २२ जना कर्मचारी नियुक्त गरिएको छ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । 

यो विषयमा उनले सामाजिक सञ्जालहरूमार्फत् प्रतिक्रिया दिएका छन् । उनले सर्दूको संरक्षणका लागि कर्मचारी राखेको भनी प्रतिक्रिया दिएका छन् ।