विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र साह (बालेन) यतिबेला चुनावी दौडसँगै मठमन्दिरमा धाइरहेका छन् ।
कर्णाली र सुदूरपश्चिमको यात्रा सकाएर दोस्रो पटक कोशी प्रदेश छिरेका बालेनको चुनावी दौडभन्दा बढी मन्दिरमा पुग्ने दौड ज्यादा देखिन्छ । यसक्रममा उनलाई भीडले छपक्कै छोप्ने गरेको छ । उनले उम्मेदवार र मतदाताबीच ‘संवाद’ भने गरेको देखिँदैन । सोमबार बेलुका हवाई मार्गबाट भद्रपुर ओर्लिएर उर्लाबारीस्थित ससुराली घरमा बास बसेका बालेन मङ्गलबार दिनभर आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा केन्द्रित रहे । बुधबार बिहानैदेखि उनको यात्राले पुनः गति लियो । उर्लाबारीबाट सुरु भएको उनको चुनावी र्याली मोरङको दक्षिण सुनवर्षीको डायनियाँ र रङ्गेली बजार हुँदै प्रदेश राजधानी विराटनगर ११ बजे आइपुग्यो ।
विराटनगर–२ स्थित पुष्पलालचोक दक्षिणमा रहेको रास्वपाको पार्टी कार्यालयमा उनलाई स्वागत गर्न समर्थक र नेता–कार्यकर्ताको बाक्लो उपस्थिति थियो । सबैले केही बोल्ने कार्यक्रम होला भन्ने ठाने पनि उनको पुरानो शैली कायमै रह्यो ।
तर, बालेनले फरक शैली अपनाए । उनी गाडीको छतबाटै घण्टी बजाउँदै समर्थकतर्फ हात हल्लाएर सुनसरीतर्फ हुइँकिए । आफ्नो प्रिय नेतालाई नजिकबाट देख्न नपाउँदा कतिपय समर्थकमा निराशा पनि देखियो । “बालेन त गाडीमा हुइँकिएर आए, छतबाटै घण्टी बजाए अनि गए” विराटनगरमा उनलाई पर्खिरहेका एक युवकले खिन्न हुँदै भने, “यी त नेता कम, अभिनेता धेरै रहेछन् । भेटघाट भनिएको छ तर मतदातासँग दुई शब्द बोल्ने फुर्सद छैन ।”
विराटनगरबाट दुहबी र इटहरी हुँदै बालेनको यात्रा सुनसरीको वराहक्षेत्र पुग्यो । त्यहाँ उनले परम्परागत शैलीभन्दा फरक ‘रुट’ रोजे । सप्तकोशी नदीमा जेटबोट चढेर उनी चतरास्थित प्रसिद्ध धार्मिक तथा सांस्कृतिक ढुङ्गा ‘खुवालुङ’ पुगे । किरात सभ्यताको आस्थाको केन्द्र मानिने खुवालुङ पुगेर उनले यसको सांस्कृतिक महŒवबारे सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरे । जल यातायातका लागि खुवालुङ फुटाउने चर्चा चलिरहँदा बालेनले यसलाई ‘सभ्यताको द्वार’ को संज्ञा दिएका छन् ।
“खुवालुङ केवल एउटा ढुङ्गा होइन, यो मुन्धुमी सभ्यताको आधारस्तम्भ र जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक हो” उनले लेखेका छन्, “यसले आदिवासी पहिचान र मानव–प्रकृतिबीचको अटुट सम्बन्धलाई झल्काउँछ ।” विकासका नाममा पहिचानका धरोहर मास्न नहुने उनको सङ्केतलाई अर्थपूर्ण मानिएको छ ।
पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत भएका बालेनले यसपटक ‘धेरै नबोल्ने तर धेरैलाई देखिने’ रणनीति लिएका छन् । उनी जहाँ पुग्छन्, त्यहाँ युवाहरूको सेल्फी लिने हानाथाप हुन्छ । तर, उनले कुनै औपचारिक चुनावी सभालाई सम्बोधन गरेका छैनन् । गाडीको छतबाट घण्टी बजाउनु र हात हल्लाउनु नै उनको मुख्य प्रचार शैली बनेको छ । राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल बालेनको यो शैलीलाई चुनावी माहोल तताउने रणनीतिका रूपमा व्याख्या गर्छन् ।
“अन्य दलका नेताहरू मैदानमा भोट माग्न व्यस्त रहँदा उनी पहाडका कुनाकाप्चा पुगेर आफ्ना उम्मेदवारहरूलाई ‘म तिम्रो साथमा छु’ भन्ने सन्देश दिइरहेका छन्” पोखरेल भन्छन्, “भाषणभन्दा पनि दृश्यमार्फत् नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने उनको यो शैली निकै फरक छ ।” मोरङ क्षेत्र नम्बर ३ का रास्वपा उम्मेदवार गणेश कार्की पनि बालेनको आगमनले चुनावी माहोल आफ्नो पक्षमा बलियो बनेको दाबी गर्छन् ।
































