धरान । देशकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको २६ औँ संस्करण आज (बिहीबार) बाट सुरु हुँदैछ । यस पटक फुटबलप्रेमीहरू विगतका संस्करणभन्दा केही बढी समय रङ्गशालामा बिताउन पाउने भएका छन् ।

किनकि यस पटक आयोजक धरान फुटबल क्लबले विदेशका दुई टिमसहित १० वटा टिमलाई मैदानमा प्रतिस्पर्धा गराउँदै छ । यसकारण पनि फुटबलप्रेमीहरूले धेरै समय मैदानमा प्रतिस्पर्धी टिमलाई हेर्न पाउने भएका हुन् । २०५५ सालमा सुरु हुँदा फुटबलप्रेमीले धरान रङ्गशालामा धेरै समय बिताउन पाउँथे । त्यो क्रम नियमित १३ औँ संस्करणसम्म चल्यो । “त्यसबेला १२ टिमलाई सहभागी गराउँथ्यौँ” बूढासुब्बा गोल्डकप गराउन भूमिका खेलेका पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले भने, “टिम धेरै हुँदा दर्शकले धेरै समयसम्म फुटबल हेर्न र रमाउन पाउँथे ।”

धरान फुटबल क्लबका महासचिव नवीन राईका अनुसार पहिलो संस्करणबाट १३ औँ संस्करणसम्म १२ वटा टिमहरूले प्रतिस्पर्धा गर्दै आएका थिए । त्यसपश्चात् भने ८ वटा टिममा सीमित पारिएको थियो । “१४ औँ र १५ आँै संस्करण ८ वटा टिममा सीमित गरिएको थियो”–महासचिव राईले भने । खासमा क्लबले खर्च धान्न धौ धौ परेकाले पनि थोरै टिम सहभागी गराउने नीति लिइएको थियो । पूर्व अध्यक्षसमेत रहेका किशोर राईले भने, “त्यसबेला खर्च धान्न धौ धौ भएकाले पनि थोरै टिमलाई सहभागी गराउने नीति क्लबले लिएको थियो ।”

बूढासुब्बामा १६ औँ संस्करणमा १० वटा टिमलाई प्रतिस्पर्धा गराइएको थियो । तर १७ औँ संस्करणदेखि गत संस्करणसम्म ८ वटा टिममा सीमित गराइएको थियो । यस पटक फेरि १० वटा टिमलाई प्रतिस्पर्धा गराइँदैछ । यसले घरेलु दर्शकसहित बाहिरका दर्शकलाई आकर्षण थप्ने क्लबले विश्वास लिएको छ । यसपटक भारत र भुटान गरी दुई पाहुना टिम रहेका छन् । पाहुना टिममध्ये भारतको गोर्जिएन फुटबल क्लब र आयोजक धरान फुटबल क्लबबीच उद्घाटन खेल हुँदैछ । गोर्जिएनसँग आयोजकको पहिलो भेट पनि हो । यसअघि यो टिम धरानको प्रतिस्पर्धामा सहभागी भएको छैन ।

आयोजक क्लबले हालसम्म उपाधि नजितेका कारण भने घरेलु दर्शक निराश हुँदै आइरहेका छन् । क्लबले पाँच पटक उपविजेतामा चित्त बुझाएको थियो । आयोजक धरान पहिलो, दोस्रो, चौथो, आठाँै, एक्काइसौँ बूढासुब्बामा उपविजेता बनेको थियो ।

बूढासुब्बामा सात पटक विदेश टिमले उपाधि जितेको छ भने सबैभन्दा बढी थ्री स्टार क्लब काठमाडौँले उपाधि जितेको छ भने काठमाडौँको मनाङ मस्र्याङ्दी क्लब र विभागीय टिम नेपाल पुलिस क्लबले चार–चार पटक उपाधि जितेका छन् । यस पटक भने केही नयाँ टिम भएकाले आयोजक उत्साहित रहेको छ । पछिल्ला दुई संस्करण काठमाडौँको एनआरटी क्लबले उपाधि उचालेको छ । उसले हालसम्म तीन पटक उपाधि उचालिसकेको छ ।

बूढासुब्बा गोल्डकपकै कारण कतिपय स्थानमा गोल्डकपहरू सुरुवात भएका थिए भने विराट गोल्डकप पुनर्जीवित भएको थियो । बूढासुब्बाले कोरोना महामारीका बेला दुई वर्ष प्रतियोगिता गरेको थिएन । २०७७ र २०७८ साल गरी दुई पटक गोल्डकप हुन सकेको थिएन । बूढासुब्बाका कारण धरानको फुटबल जुर्मुराएको छ ।

“स्थानीय फुटबल बाँचेको छ । धेरै खेलाडीहरूलाई जोड्न सकेको छ । फुटबलमै रमाउने संस्कार विकास भएको छ” कोशी प्रदेश फुटबल क्लबका अध्यक्ष किशोर राईले भने, “यो सबै बूढासुब्बा गोल्डकपकै देन हो । बूढासुब्बालाई यहाँसम्म नल्याएको भए त्यो हुँदैनथ्यो ।”

बूढासुब्बाकै नामबाट विभिन्न पाँचवटा देशहरूमा बूढासुब्बा फुटबल गरिँदै आएको छ । उनका अनुसार हङ्कङ, कोरिया, युके, पोर्चुगल, साउदी अरबमा बूढासुब्बाको नामबाट फुटबल हुँदै आएको छ । यो धरानको प्रतिष्ठाको विषय हो ।