भद्रपुर । अन्य क्षेत्रहरूको तुलनामा झापा क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) का लालप्रसाद साँवाको यस पटकको चुनावी मैदानमा को बन्ला बाधक भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । उनले दुई पटक उक्त क्षेत्रबाट चुनावमा झण्डा गाड्दै आएका थिए ।

एमालेको ‘लालकिल्ला’ मानिने यो क्षेत्रमा पछिल्ला दुई निर्वाचनमा साँवाले जितेका थिए । साँवा अहिले ह्याट्रिक पूरा गर्ने दाउमा छन् । तर उनका पछिल्ला दुई प्रतिस्पर्धामा प्रतिद्वन्द्वी बनेका नेपाली काङ्ग्रेसका झापा सभापति देउमान थेवे नयाँ इतिहास रच्ने दाउमा छन् । यो क्षेत्रमा २०४८ यता चार पटक एमालेले जितेको थियो भने एक पटक नेकपा (माओवादी केन्द्र) ले जितेको थियो भने एक पटक काङ्ग्रेसले जित हासिल गरेको थियो । उही उम्मेदवारबीच प्रतिस्पर्धा भए पनि यसपटक मतदाताको मन फेरिने सम्भावना प्रबल रहेको मतदाताहरू बताउँछन् ।

एमालेका लालप्रसाद (एलपी) साँवा लिम्बूले २०७४ र २०७९ को निर्वाचन जितिसकेका छन् । यसपटक उनले जितको ह्याट्रिक पूरा गर्छन् कि अरू कुनै उम्मेदवारले भन्ने विषय अहिले चर्चामा छ । एलपी साँवा लिम्बू र काङ्ग्रेसका झापा सभापति देउमान थेवेबीचको यो प्रतिस्पर्धा लगातार तेस्रो हो । २०७४ को निर्वाचनमा थेवेलाई पराजित गरेका थिए । २०७९ को निर्वाचनमा पनि त्यही दृश्य दोहोरियो । साँवाले २९ हजार ३ सय १५ मत प्राप्त गर्दा थेवेले २२ हजार ४ सय ४८ मत पाएका थिए । रास्वपाका शम्भु ढकाल १४ हजार ४९ मतका साथ तेस्रो भए ।

२०५१ मा काङ्ग्रेसका चक्रप्रसाद बास्तोला र २०६४ मा माओवादीकी धर्मशीला चापागाईंले एमालेलाई पराजित गरे पनि त्यसयता एमालेले निरन्तर जित दोहो¥याउँदै आइरहेको छ । यो पटक पनि साँवाले पुनः टिकट पाएपछि एमालेले ह्याट्रिक जित निकाल्ने एमालेजनको दाबी छ । जे भए पनि यसपटक त्रिपक्षीय भिडन्तको सम्भावना देखिन्छ । एलपी साँवा समर्थकहरू उनलाई स्थानीय मुद्दा बुझ्ने नेता भएकोले अधुरा योजनाहरू पूरा गर्ने अवसर दिनुपर्ने बताउँछन् । सडक, सिँचाइ, शिक्षा र स्वास्थ्य क्षेत्रमा उनले सुरु गरेका पहललाई निरन्तरता दिनका लागि पनि उनको जित चाहिएको जनाउँछन् ।

दुईपटक पराजय व्यहोरेका थेवे यसपटक ‘हिसाब बराबर’ गर्ने मनस्थितिमा देखिन्छन् । काङ्ग्रेस समर्थकहरूका अनुसार पार्टी कमजोर हुँदा पनि थेवेले मतदातासँगको सम्पर्क जारी राखेका कारण यो पटक थेवेका लागि नभई पार्टीका लागि दिनुपर्ने बताउँछन् । तेस्रो शक्तिको रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल (सुस्केरा) र नेकपाका पुरुषोत्तम चुडालजस्ता उम्मेदवारहरू जितको दाबी गर्दै एमालेको ‘लालकिल्ला’ तोड्न अग्रसर देखिएका छन् । अघिल्लो निर्वाचनमा ढकालले १४ हजार ६९ मत प्राप्त गरेका थिए ।

अब पुस्तान्तरण जरुरी रहेकोले नयाँ शक्तिलाई समर्थन रहने मतादाता बताउँछन् । एउटै अनुहारभन्दा पनि समय र परिस्थिति फरक भएकोले यो पटक मत परिवर्तन जरुरी रहेको अम्बिका थापा बताउँछिन् । जितेर गएका नेताले खासै विकास निर्माणमा चासो नदेखाएकोले जनताले मत परिवर्तन गर्ने सम्भावना देखिएको उनको भनाइ छ । यो क्षेत्रमा एमाले, काङ्ग्रेस र रास्वपाको बढी चहलपहल देखिए पनि एलपी साँवाको पकड बलियो देखिएको लोकनाथ खनाल बताउँछन् । अधुरो रहेको कन्काई पुल राज्यबाट सहयोग नभएकोले निर्माण रोकिएको उनले बताए । सोही पुल अहिले चुनावी एजेण्डा बन्दै गएको उनको भनाइ छ ।   

झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका सबै वडा, कनकाई नगरपालिकाको १ देखि ७ र गौरीगञ्ज गाउँपालिकाको वडा १ र २ तथा गौरादह नगरपालिकाको वडानम्बर ९ समेटिएको यो क्षेत्रमा १ लाख ३० हजार ७ सय १२ मतदाता छन् । यसपटक ७ हजार ५ सय ८८ जना नयाँ मतदाता थपिएका छन् ।