देशकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २६ औं संस्करण बिहीबारदेखि सुरू भएको छ । निरन्तर २५ औं संस्करण प्रतियोगिता गराउनुले धरान मात्र होइन, नेपाली फुटबलकै पहिचान र निरन्तरताको कथा उजागार गरेको छ नै । २०५५ सालमा सुरू भएको बूढासुब्बा गोल्डकप आजसम्म आइपुग्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो ब्रान्ड बन्नु एउटा नेपाली फुटबलका लागि गौरवको विषय हो । बूढासुब्बा गोल्डकपले धरानको फुटबल जोगाएको छ, फुटबल संस्कार विकास गरेको छ र सयौं खेलाडीलाई मैदानसँग जोडेको छ भन्नेमा दुई मत छैन । कोरोना महामारीका कारण दुई वर्ष रोकिए पनि प्रतियोगिताले पुनः लय समातेको छ । यही प्रतियोगिताबाट प्रेरित भएर देशका अन्य स्थानमा गोल्डकपहरु सुरू भएको इतिहास छ । विदेशमा समेत बूढासुब्बाको नामबाट फुटबल खेलिनु धरानको अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको विषय पक्कै हो ।
तर, यही गौरवपूर्ण इतिहाससँगै केही गम्भीर प्रश्न पनि निरन्तर आयोजकमा तेर्सिएका छन् । २६ औं संस्करण पूरा हुँदासम्म आयोजक धरान फुटबल क्लबले उपाधि जित्न नसक्नु केवल संयोग मात्र होइन, आत्मसमीक्षाको विषय पनि हो । पाँच पटक उपविजेता बनेको तथ्यले सम्भावना देखाउँछ, तर निरन्तर असफलताले संरचनागत कमजोरी मात्र औंल्याउँदैन तयारी र आत्मविश्वास पनि कमजोर छ भन्ने देखाउँछ । अझ महत्वपूर्ण कुरा त, यति ठूलो प्रतियोगिता सञ्चालन गर्न सक्षम क्लबले दीर्घकालीन खेलाडी उत्पादन र ग्रासरूट विकासलाई प्राथमिकतामा नराख्नु चिन्ताको विषय हो । प्रतियोगिता आयोजना गर्नु प्रतिष्ठाको विषय हो, तर त्यो प्रतिष्ठा भविष्यका लागि आधार पनि बन्न जरूरी हुन्छ । बूढासुब्बा गोल्डकपबाट उठेको स्रोत, अनुभव र पहुँच स्थानीय एकेडेमी, युवा विकास कार्यक्रम र प्रशिक्षक उत्पादनमा लगानी हुनसके मात्र धरानको फुटबल दिगो बन्ने कुरामा दुई मत छैन । नत्र, हरेक वर्ष पाहुना टिमको सफलतामा ताली बजाउने र घरेलु क्लब निराश हुने चक्र दोहोरिरहनेछ ।
अब घरेलु टिमलाई दरिलो बनाउने र क्लबबाट अन्य स्थानमा हुने प्रतियोगिताको उपाधि जित्ने एउटा स्थायी टिम धरान फुटबल क्लबले तयार गर्न ढिलाइ गर्नु हुँदैन । ठूला धनराशिका देशभर हुने प्रतियोगितामा धरान फुटबल टिमले जित्ने आधार तयार गर्न क्लबले प्रशिक्षण र ग्रासरूटमा खेलाडी उत्पादनलाई केन्द्र भागमा राखेर अगाडि बढ्नु पर्दछ । देशविदेशमा नाम चलेको बूढासुब्वा फुटबल प्रतियोगिता आयोजक क्लब देशमा हुने ठूला प्रतियोगिताको दाबेदार बनिनु पर्दछ । त्यसका लागि खेलाडी उत्पादन आजैदेखि सुरू गर्नु अति जरूरी छ । धरानमै आफ्नै मिहिनेत र लगानीमा ए डिभिजनका क्लबहरुबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका खेलाडीहरु छन् । उनीहरुलाई समेत क्लबले आकर्षित गरेर ए डिभिजनको क्लब बनाउनु बाञ्छनीय हुनेछ । बूढासुब्बा गोल्डकप र धरान फुटबल क्लब धरानको मात्र होइन, नेपाली फुटबलकै साझा सम्पत्ति हो । अब यसलाई केवल सफल प्रतियोगिताको रुपमा होइन, खेलाडी उत्पादनको केन्द्रका रुपमा विकास गर्नुपर्ने समय आएको छ । प्रतिष्ठा जोगाउने जिम्मेवारीसँगै भविष्य निर्माणको दायित्व पनि आयोजकको काँधमा छ । प्रतियोगिता समापनसँगै क्लबले निकट भविष्यमा ए डिभिजन क्लब बनाउने सङ्कल्प गरोस् । यही सन्तुलन कायम गर्नसके मात्र बूढासुब्बा गोल्डकपको अर्थ अझ गहिरो र दीर्घकालीन हुनेछ । यसले धरानको शान बढाउने मात्र होइन, खेलाडीहरुले रोजगारी पनि पाउनेछन् ।






























