धरान । सुनसरीको इनरुवा नगरपालिका–७ मा माछा मार्ने विषयलाई लिएर भएको झडपमा तीन जना घाइते भएका छन् ।

शनिबार बिहान करिब पौने ९ बजेतिर भएको घटनामा स्थानीय २६ वर्षीय नितेश चौधरी, सोही उमेरका साजन चौधरी र १६–१७ वर्षीय सुजन ऋषिदेव घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय चाँदबेलाका अनुसार नितेश र साजनले आफ्नो खेत नजिकको कुलोको पानी बगाउँदा सुजन ऋषिदेवसँग माछा मार्ने विषयमा विवाद भएको थियो । सोही विवादले उग्र रूप लिएपछि झडप तथा कुटपिट हुँदा तीनै जना घाइते भएका थिए ।

झडपमा नितेश चौधरी र साजन चौधरीको टाउकोमा चोट लागेको छ । उनीहरू स्थानीय क्लिनिकमा उपचारपश्चात् घर गएका छन् । यता सुजन ऋषिदेवको टाउकोमा चोट लागेको र उनको उपचार जिल्ला अस्पताल इनरुवामा उपचारका लागि पठाइएको थियो ।

उक्त स्थानमा उपचार सम्भव नभएपछि उनलाई मोरङको विराट टिचिङ अस्पताल पठाइएको छ । घटनास्थलमा प्रहरी सहायक निरीक्षक सुनिल शर्माको कमान्डमा खटिएको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।