धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित हिमालय पेट्रोलपम्प नजिकै टिपरले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार को.१ ख ७५०९ नम्बरको टिपरले फोहोर टिप्दै हिँड्ने पहिचान नखुलेकी एक महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्कालै प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेको थियो । तर, उपचारको क्रममा उनको निधन भएको हो । इटहरीतर्फ जाँदै गरेको टिपरले घुमाउरोमा ठक्कर दिन पुगेको थियो ।
टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस्तै धरान–८ सिद्धकाली चोकमा दुई स्कुटीबीच ठक्कर खाँदा चालकहरू घाइते भएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–७ प्रतीक चौधरीले चलाएको प्रदेश १–०२–०५२ प ६२४५ नम्बरको स्कुटर र सुनसरीको धरान उपमहानगरपालिका–१५ विनम अधिकारीले चलाएको को.३७ प ५२० नम्बरको स्कुटर ठक्कर खान पुगेको थियो । दुवै जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।