धरान । सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारबाट शनिबार बेलुका करिब ५ बजे सुनको सिक्री चोर्दै गरेको अवस्थामा एक बालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा जिल्ला जितपुर घर बताउने ११–१२ वर्षीय बालक रहेका छन् । उनले बजारमा सामान किनमेल गरिरहेका रामधुनी नगरपालिका–३ का ५३ वर्षीय रत्नबहादुर न्यौपानेले लगाएको करिब २ तोलाको सुनको सिक्री चोर्ने प्रयास गरेका थिए ।
सोही क्रममा उनलाई स्थानीयले पक्राउ गरी इलाका प्रहरी कार्यालय रामधुनीमा बुझाएका थिए । प्रहरीका अनुसार बालकमाथि थप अनुसन्धान भइरहेको छ । बालकलाई कानूनी प्रक्रिया पूरा गरी सुनसरीको भोइस अफ चिल्ड्रेन इटहरीमा पठाइएको प्रहरीले जनाएको छ ।