नेपालको विद्यालय शिक्षाले हाल स्थायीत्व र गुणस्तरको गम्भीर प्रश्न सामना गरिरहेको छ । विद्यार्थीतहको शिक्षा मात्र परीक्षा पास गर्न सीमित हुनु र नयाँ ज्ञान सिर्जना गर्न नसक्नुले नेपालको शैक्षिक भविष्यलाई चुनौती दिइरहेको छ । शिक्षा भनेको जीवनभरको प्रक्रिया हो, जहाँ विद्यार्थीसँग समस्या समाधान गर्ने, स्वतन्त्र अध्ययन गर्न सक्ने, अनुसन्धान गर्न सक्ने र सिर्जनात्मक सोच्ने क्षमता विकास हुनु जरुरी हुन्छ ।
तर आजको हाम्रो विद्यालय प्रणालीमा यी कुरा सोच्न वा सिकाउन खासै स्थान छैन । शिक्षण प्रक्रिया अझै पनि रटानमा आधारित पद्दतिमा केन्द्रित छ । विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा सीमित राखेर सिकाइको नाममा कण्ठ गर्न लगाइन्छ, जुन २१ औं शताब्दीको शिक्षाको मर्म विपरीत छ । यस समस्याको एउटा प्रभावकारी समाधान हुनसक्छ— विद्यालय पुस्तकालय स्रोत केन्द्र (Learning Resource Center – LRC) को स्थापना ।
यस विषयमा अब विद्यालयहरूमा बहस चलाउनु उपयुक्त हुनेछ ।
पुस्तकालय स्रोत केन्द्र भनेको के हो ?
पुस्तकालय स्रोत केन्द्र (Library Resource Center) भन्नाले विद्यालय वा शैक्षिक संस्थामा स्थापित त्यस्तो स्थान हो, जहाँ विद्यार्र्थी शिक्षक र अन्य शिक्षासँग सरोकार राख्ने व्यक्तिहरूले अध्ययन, अनुसन्धान र सिकाइका लागि आवश्यक स्रोत सामग्रीहरू पहुँच गर्न सक्छन् । यो सामान्य पुस्तकालयभन्दा फरक र विस्तारित अवधारणा हो — जहाँ केवल किताबहरू मात्र नभई विविध शैक्षिक सामग्री, डिजिटल उपकरण, श्रव्य–दृश्य साधन र स्वतन्त्र अध्ययन तथा समूहगत गतिविधि गर्ने वातावरण पनि उपलब्ध हुन्छ ।
यसका मुख्य विशेषताहरूः
पुस्तकहरूः पाठ्यक्रमसँग सम्बन्धित र पाठ्यवाह्य पुस्तकहरू — कथा, जीवनी, कविता, विज्ञान, इतिहास आदि ।
डिजिटल स्रोतहरूः कम्प्युटर, ई–बुक, भिडियो सामग्री, अनलाइन र अफलाइन डिजिटल पुस्तकालय ।
शैक्षिक सामग्रीहरूः चार्ट, मोडल, नक्सा, पत्रपत्रिका, अनुसन्धान लेख आदि ।
स्वतन्त्र अध्ययनका लागि स्थानः विद्यार्थीले एक्लै वा समूहमा अध्ययन गर्न सक्ने शान्त वातावरण ।
शिक्षक सहयोग केन्द्रः शिक्षकहरूका लागि शिक्षण रणनीति, सामग्री र प्रयोगात्मक स्रोतहरूको सङ्ग्रह ।
पुस्तकालय स्रोत केन्द्रको उद्देश्यः
मुख्य उद्देश्य भनेको सिर्जनात्मकता विकास गर्न विद्यार्थीलाई प्रेरित गर्ने हो । यसबाट स्वतन्त्र सिकाइ (Independent Learning) को संस्कृति प्रवद्र्धन गर्ने हो । पाठ्यपुस्तकमा सीमित शिक्षालाई विविध स्रोतमा आधारित शिक्षामा रूपान्तरण गर्न यसको महŒव छ । आलोचनात्मक सोच, अनुसन्धान क्षमता, भाषा र अभिव्यक्ति सीप विकास यो अपरिहार्य छ ।
विद्यालयमा यसको भूमिका
–कक्षाकोठामा सिकाइका लागि पूरक सामग्री उपलब्ध गराउने ।
–शिक्षकलाई पाठयोजनाको तयारीमा सहयोग गर्ने ।
–विद्यार्थीमा पठन संस्कार विकास गर्ने ।
–समय उपयोग र सिर्जनशीलता प्रवद्र्धन गर्ने ।
–परीक्षामुखी शिक्षाबाट क्षमतामुखी शिक्षातर्फ लैजाने ।
पुस्तकालय स्रोत केन्द्र किन आवश्यक ?
पुस्तकालय स्रोत केन्द्र भनेको केवल किताब राख्ने कोठा होइन । यो संरचना शिक्षण र सिकाइ प्रक्रियामा क्रान्ति ल्याउन सक्ने माध्यम हो । यसले विद्यार्र्थीलाई पाठ्यपुस्तकबाहेक अन्य स्रोतहरूसँग जोड्दछ—जस्तैः अनुसन्धानपत्र, डिजिटल सामग्री, कथा–कविता, विज्ञान प्रयोगहरू, ऐतिहासिक दस्तावेज आदि ।
वास्तविक सिकाइ भनेको आफै अध्ययन गरी बुझेर, विश्लेषण गरेर, विचार निर्माण गर्नु हो । यस्ता सीपहरूको विकास पुस्तकालय स्रोत केन्द्रको प्रयोगबाट मात्र सम्भव हुन्छ । विद्यार्र्थीहरूलाई स्वतन्त्र अध्ययन, अनुसन्धान र नयाँ ज्ञान सिर्जना गर्न उत्प्रेरित गर्न यस्ता स्रोतको पहुँच अत्यावश्यक छ ।
नेपालका अधिकांश सामुदायिक विद्यालयहरूमा अहिले पनि पूर्णरूपमा कार्यान्वयनमा आएका पुस्तकालय स्रोत केन्द्र छैनन् । पाठ्यपुस्तकमा आधारित रटानमा आधारित सिकाइ संस्कारले विद्यार्थीहरूको सिर्जनशीलता कुण्ठित बनाएको छ । यस्तो पद्दतिले विश्व प्रतिस्पर्धामा टिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न सक्दैन ।
हालको अवस्था र समस्या विश्लेषण
कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा स्रोत केन्द्रको अभावका कारण विद्यार्थीहरू पाठ्यपुस्तकमा मात्रै निर्भर छन् । विद्यालयहरूमा ‘स्मार्ट’ वा ‘नमूना’ भन्ने ट्याग त लागेका छन्, तर शिक्षण विधि उही पुरानै छ । नमूना विद्यालय र सामान्य विद्यालयका विद्यार्थीहरूबीच सिकाइ सीप र गुणस्तरमा खासै भिन्नता नदेखिनु त्यसकै प्रमाण हो ।
स्रोत केन्द्र नहुनु, शिक्षण विधिमा नवीनता नआउनु, शिक्षक र व्यवस्थापकहरूमा चेतनाको अभाव हुनु र नीति निर्माताहरूको प्राथमिकतामा पुस्तकालय नरहनु प्रमुख समस्याहरू हुन् । स्थानीय तहहरूले शैक्षिक स्रोत वा सिकाइ संरचनाभन्दा पहिले भौतिक पूर्वाधार, भवन निर्माण र यातायातलाई प्राथमिकता दिन्छन् । यस्तो सोचले विद्यालय शिक्षालाई रूपान्तरण गर्ने आशा गर्न सकिँदैन ।
निष्कर्ष
‘पुस्तकालय मात्र ज्ञानको भण्डार होइन, सृजनशील भविष्यको ढोका हो । त्यसैले यसको स्थापनामा ढिलाइ होइन, प्राथमिकता दिन आवश्यक छ । चेतनाअभिवृद्धि कार्यक्रमले सोच बदल्नेछ र स्रोत केन्द्रले विद्यार्र्थीो भविष्य बदल्ने छ ।
पुस्तकालय स्रोत केन्द्र भनेको विद्यालयको ‘ज्ञान केन्द्र’ पनि हो । जसले शिक्षा प्रणालीलाई केवल ‘रटान’ बाट हटाएर ‘बुझाइ, प्रयोग र सिर्जनशीलता’ तर्फ उन्मुख गराउँछ । यसले विद्यार्थीहरूलाई आजको प्रतिस्पर्धी युगका लागि आवश्यक पर्ने सीपहरू सिक्न सहयोग पुर्याउँछ ।
अन्त्यमा, २१ औं शताब्दीको शिक्षा प्रणाली सिर्जनशीलता, समस्या समाधान, स्वतन्त्र अध्ययन र अनुसन्धानमा आधारित हुनुपर्छ । यदि हामी आजका विद्यार्थीहरूलाई भविष्यका लागि तयार पार्न चाहन्छौं भने हाम्रो शिक्षण पद्दतिलाई पुस्तकालय स्रोत केन्द्र जस्ता संरचनाबाट समृद्ध बनाउनै पर्छ ।
नेपालका सामुदायिक विद्यालयहरू खासगरी नमूना विद्यालयहरूले शिक्षा रूपान्तरणको नेतृत्व लिन सक्नुपर्छ । यस्ता विद्यालयहरूले नीतिगत परिवर्तनको उदाहरण बन्नुपर्छ, जसबाट अन्य विद्यालयहरूले प्रेरणा लिन सकून् । पुस्तकालय स्रोत केन्द्रको स्थापना र चेतनाअभिवृद्धिको यो पहल, कोशी प्रदेश मात्र होइन, सम्पूर्ण राष्ट्रका लागि शैक्षिक भविष्य निर्माणको महत्वपूर्ण कदम बन्नेमा दुईमत छैन ।
(लेखक कार्की सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल कोशी प्रदेशका अध्यक्ष तथा धरानस्थित पब्लिक हाइस्कुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् ।)