विराटनगर/मोरङको विराटनगरको अरनिको कलेजमा स्थापित ह्याक क्लबको आयोजनामा ‘डे ड्रिम विराटनगर’ कार्यक्रमअन्तर्गत दुई दिने ‘टिन ह्याकाथन’ आइतबारदेखि सुरु भएको छ ।
कार्यक्रममा झापा, मोरङ र सुनसरीका ३० भन्दा बढी कलेजका २५० विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ । आयोजकका अनुसार कार्यक्रमका लागि अनलाइनमार्फत ५०० भन्दा बढी विद्यार्थीले आवेदन दिएका थिए ।
छनोट भएका २५० जना विद्यार्थीहरूबाट ३–३ जनाको ४० वटा टिम निर्माण गरिएको छ । यी टिमले अब २४ घण्टाभित्र आयोजकले प्रदान गरेको थिममा आधारित भएर आ–आफ्नो प्रोजेक्ट तयार गर्नेछन् ।
यस ह्याकाथनमा उत्कृष्ट हुने टिमहरूलाई पुरस्कृत गरिनेछ । प्रथम हुने टिमले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सहभागीहरूका लागि खाना र बसोबासको निःशुल्क व्यवस्था गरिएको छ भने सबै सहभागीले टिसर्ट, स्टिकर जस्ता उपहारहरू पनि पाउनेछन् ।
कार्यक्रमको निर्णायक मण्डलमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विभागीय प्रमुख पुकार कार्की, एम्स कलेजका प्रिन्सिपल प्रशान्त पोखरेल, उद्योग संगठन मोरङका निर्देशक चूडामणि भट्टराई र विराट मल्टिपल क्याम्पसका आईटी प्रमुख सुशान्त भट्टराई रहेका छन् ।