वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ अन्तर्गत चतराघाट कोशी पुल क्षेत्रमा रहेका होटल तथा पेडा पसलहरूका खुला भान्सालाई व्यवस्थित गर्न अनुगमन टोलीले निर्देशन दिएको छ । 

उपभोक्ताहरूबाट सार्वजनिक स्थानमा खुला चुलोमा खाना तथा मिठाई पकाउने गरेको गुनासो आएपछि गरिएको बजार अनुगमनका क्रममा नगरपालिकाले १५ दिनभित्र चुलो व्यवस्थित गर्न निर्देशन दिएको हो ।

नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख मातृका तिवारीका अनुसार, सडकछेउको खुला चुलोबाट धुलो, फोहोर र प्रदूषण फैलिने खतरा भएकाले अब सबै चुलो सुरक्षित र सरसफाइयुक्त वातावरणमा राख्नुपर्नेछ ।

निर्देशनको अवज्ञा भएमा सम्बन्धित पसलहरू बन्द गरिने चेतावनीसमेत दिइएको छ ।

बुधबार गरिएको अनुगमनको क्रममा दर्जनभन्दा बढी पसलमा राखिएको म्याद नाघेको पेय पदार्थ फेला पारिएको थियो । ती सामग्रीहरू तत्काल नष्ट गरिएको जनाइएको छ । साथै, खुला चुलो, म्याद नाघेका सामग्रीको प्रयोग, दर्ता नभएका पसलहरूको अनियमितता र ४० माइक्रोनभन्दा कम मोटाइ भएका प्लास्टिक झोलाको प्रयोगलाई नियन्त्रणमा लिने उद्देश्यले चेतावनी र सचेतना दुवै अभियान एकैसाथ चलाइएको नगर उपप्रमुख नन्दकुमारी सुनुवारले जानकारी दिइन् । 

अनुगमन टोलीको नेतृत्व नगर उपप्रमुख सुनुवारले गरेकी थिइन् । टोलीमा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका खाद्य अनुसन्धान अधिकृत उज्वल कोइराला, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्र, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय पत्रकारहरू सहभागी थिए ।

नगरपालिकाले सार्वजनिक स्वास्थ्य, उपभोक्ता सुरक्षा र सरसफाइप्रति कडाइ गर्ने नीति लिएको जनाउँदै स्थानीय व्यापारीहरूलाई स्वच्छ र सुरक्षित व्यवसाय अभ्यास गर्न आग्रह गरिएको जनाएको छ ।