दार्जीलिङअन्तर्गत रमणीय सानो सहर घूम निवासी मञ्जुला तामाङ सुब्बाको दोस्रो मुक्तकसङ्ग्रह ‘अक्षर–तरङ्ग’ भर्खरै पाठकहरुका हातमा आइपुगेको छ । यसअघि उहाँको पहिलो मुक्तकसङ्ग्रह ‘केही अक्षर केही भाव–तरङ्ग’ सन् २०२३ मा प्रकाशित भएको हो । त्यही वर्ष उहाँको शृङ्खला कवितासङ्ग्रह ‘कुहिरोभित्र घूम–जोरबङ्गलो’ प्रकाशित भएको थियो भने त्यसअघि सन् २०२१ मै उहाँको कवितासङ्ग्रह ‘इजा अघ्र्य’ पनि पाठकहरुले पाइसकेका हुन् । गत वर्ष उहाँको पहिलो कथासङ्ग्रह ‘सम्बन्ध र सम्बोधन’ प्रकाशित भयो । जम्मा पाँचवटा मौलिक कृतिहरु दिइसक्नुभएकी मञ्जुला तामाङ सुब्बा यस दृष्टिले अब्बल कवि, कथाकार र मुक्तककारहरुको लहरमा दरिनुभएको यहाँ स्वतः प्रमाणित हुँदैछ । यसबाहेक उहाँका थुप्रै फुटकर लेख र अन्य रचनाहरु सामाजिक सञ्जाललगायत भारत र नेपालका विभिन्न पत्र–पत्रिका, समाचार–पत्र र पोर्टलहरुमा निरन्तर प्रकाशित भएका छन् ।
लेखनशैली र विशेषता
कवि, कथाकार, मुक्तककार मञ्जुला तामाङ सुब्बाको लेखनीको सबैभन्दा पहिलो विशेषताबारे भन्नुपर्दा उहाँ कुनै पनि लेखको थालनी आफ्नै मौलिक हरफहरु अथवा मुक्तकबाट गर्नुहुन्छ, जसलाई उहाँको हस्ताक्षर शैली ९क्ष्नलबतगचभ क्तथभि० भन्न मिल्छ । उदाहरणको रुपमा, पश्चिम बङ्गालकी एक कर्तव्यपरायण समाजसेवी सुमनको बारेमा लेख सुरू गर्नुअघि उहाँले यसरी मुक्तक लेख्नुभएको छः
मुस्कान छ मुहारमा, दया र सन्तुष्टि छ सुमनको मनमा
हर पल रमाउँछिन्, असहायहरुको सेवा निःस्वार्थ धनमा
छुट्टै संसार छ, नर्थ बेंगल मेडिकल कलेज अज्ञात कक्ष
आमा स्वरुपमा सुमन, मान्दिनन् घिन असहायको तनमा ।
मञ्जुला तामाङ सुब्बाको कुनै पनि लेख यसरी मुक्तकबाट सुरू भएको हुन्छ, जसलाई उहाँको मौलिक वा हस्ताक्षरशैली भन्नैपर्ने हुन्छ । थोरै लेखक–लेखिकाहरुमा मात्रै यस्तो हस्ताक्षर शैली हुन्छ, जस्तैः राजनारायण प्रधानको हस्ताक्षर शैली हो, लेखन र व्यवहारमा उनका अत्यन्त छोटा–छोटा टिमिक्क परेका वाक्यहरु, एउटा उदाहरणः ‘‘यही त हो चौरस्ता १ फेरि भानुभक्तलाई हेरेँ । कत्रो जिउ १ मोटो घाटो, बलियो बाङ्गो । जिउ त यस्तो हुनुपर्छ नि । मर्दाना जस्तो... आफ्नो जिउ हेरेँ । लुतेलाङ्ग्रे, सुइँखुट्टे ।’’ (एउटा आइतबार यसरी बित्यो, पृष्ठ १ बाट) । त्यस्तै मुक्तकबाट सुरू गर्नु मञ्जुला तामाङ सुब्बाको हस्ताक्षर शैली । उहाँको लेखनीको अर्को विशेषता हो, सरल अनि ठेट भाषा र शब्दहरु । पढ्नासाथ भनाइको आशय स्पष्टरुपमा बुझ्न समय लाग्दैन । अर्को विशेषता, सान्दर्भिक विषयहरुमाथि छोटोमा मीठा कुराहरु भनिएका हुन्छन् अनि दिइनुपर्ने सन्देश प्रत्यक्ष र परोक्ष रुपमा अथवा कतै व्यङ्ग्यात्मक रुपमा दिइएको हुन्छ।
आफ्नो पाँचौँ कृति मुक्तकसङ्ग्रह ‘अक्षर–तरङ्ग’ लिई प्रस्तुत हुनुभएकी स्रष्टा मञ्जुला तामाङ सुब्बा भारतको पश्चिम बङ्गाल राज्यबाट भारतीय नेपाली साहित्यमा नारी हस्ताक्षरहरुबाट पहिलो मुक्तकसङ्ग्रह दिनुहुने मुक्तककार हुनुहुन्छ, उहाँको त्यो कृति ‘केही अक्षर केही भाव–तरङ्ग’ बारे माथि उल्लेख भइसकेको छ। उहाँपछि पश्चिम बङ्गाल राज्यबाट नेपालीमा मुक्तकसङ्ग्रह दिनुहुने दोस्रो नारी मुक्तककार मगरजोङ (दार्जिलिङ)की स्रष्टा शर्मिला प्रधान (‘फूलका थुँगा र असिनाको चोट’, सन् २०२५) अनि तेस्रो मुक्तककार डा. साङ्मु लेप्चा (‘तृषित जरूवा’, सन् २०२५) हुनुहुन्छ । यस सन्दर्भमा सिक्किमबाट नारी स्रष्टाहरुमध्ये पहिलो मुक्तकसङ्ग्रह दिनुहुने मुक्तककार गीताश्री शर्मा (‘मुक्ता’, सन् २०२१) हुनुहुन्छ ।
सन्दर्भः ‘अक्षर–तरङ्ग’
मञ्जुला तामाङ सुब्बाको पाँचौँ कृति मुक्तकसङ्ग्रह ‘अक्षर–तरङ्ग’ हालै पाठकहरुका हातमा पुगेको छ। यो पुस्तक मुक्तककार र उहाँका श्रीमान् नवीन सुब्बाद्वारा आफ्नी प्राणप्रिय छोरी इजाको स्मृतिमा सन् २०१४ मा स्थापित इजा प्रकाशन, घूम, दार्जिलिङद्वारा यसै वर्ष (सन् २०२५ मा) प्रकाशित भएको हो । जम्मा १ सयवटा मुक्तकहरु सामेल गरिएको यस सङ्ग्रहको गहकिलो भूमिका प्रा. डा. देवी नेपालले लेख्नुभएको छ भने डा. महेश दाहालले पनि पुस्तकमा आफ्नो सुन्दर मन्तव्य व्यक्त गर्नुभएको छ ।
मञ्जुला तामाङ सुब्बाको पाँचौँ कृति ‘अक्षर–तरङ्ग’ मुक्तकसङ्ग्रह नै हो । यहाँ यसलाई मुक्तकसङ्ग्रह नै हो भन्ने कुरामाथि जोड दिनुको आवश्यकता किन आइप¥यो भने धेरै ठाउँमा अथवा कार्यक्रमहरुको अवसरमा हामीले ‘अन द रेकर्ड’ वा ‘अफ् द रेकर्ड’ कुराकानी अथवा औपचारिक कुराकानीहरुमा मुक्तकको संरचनाबारे प्रश्न उठाइएको अथवा रूबाइको कुरा निकालिएको, ‘यो त मुक्तक होइन, मुक्तक कसरी भयो, यो त रूबाइ हो’ भन्ने मन्तव्यहरु अनि वादविवादहरु पनि सुनेका छौँ । लेख्न त मुक्तक नै लेखिएको हुन्छ तर त्यो मुक्तकलाई एक किसिमको अन्योल, दोधारको स्थितिमा पु¥याइन्छ। यसरी कतिपय पाठकहरुले अज्ञानवश अथवा अपूर्ण जानकारीको कारण वा अरुहरुको तर्कहीन कुरामाथि भर परेर ‘अक्षर–तरङ्ग’ मा भएका रचनाहरु पनि ‘मुक्तक होइनन् यी त रूवाइ हुन्’ भन्न बेर नहोला । यसकारण ‘अक्षर–तरङ्ग’ माथि पाठकीय दृष्टिकोण राख्नुअघि रुबाई र मुक्तकबीच समानता र भिन्नताबारे यहाँ संक्षिप्तमा चर्चा गर्नुपर्ने औचित्य देखिएको छ।
रूवाइ
‘रूबाइ’ शब्द अरबी ‘रूवा’ बाट आएको हो, जसको अर्थ हुन्छ – चार । रूबाइ चार हरफमै लेखिन्छ, अर्थात् रूबाइ चार हरफमा लेखिने कविताको लघु रुप हो । एउटा हो भने ‘रूबाइ’ अनि धेरै रूबाइहरु अथवा रूबाइहरुको कृति भए ‘रूबाइयात’ भनिन्छ। उर्दू र फारसीमा यो एक प्रकारको मुक्तक हो तर नियमहरुमा बाँधिएको । पहिलो रूबाइ अरबको देन भए पनि १२ औं शताब्दीमा इरानमा उमर खøयामले रूबाइहरु लेखेर यस विधालाई लोकप्रिय बनाए । तर खøयामले धेरै रूबाइहरु लेखे पनि उनी र उनका रूबाइहरु त्यति प्रसिद्ध भएका थिएनन् । अङ्ग्रेज कवि एड्वर्ड फिड्ज्जेराल्डले उनका रूबाइहरुलाई अङ्ग्रेजीमा अनुवाद गरेपछि उमर खøयाम र उनका रूबाइहरु संसारप्रसिद्ध भए । जसरी महान् चिन्तक, दार्शनिक, सामाजिक क्रान्तिकारी कार्ल माक्र्सलाई अनि उनका दर्शन र सिद्धान्तहरुलाई संसारभरि प्रख्यात बनाउनुमा फ्रेडरिक एङ्गेल्सको भूमिका रह्यो, आदिकवि भानुभक्त र उनका कृतिहरुलाई जनमानससित परिचित र लोकप्रिय बनाउनुमा मोतीराम भट्टले मुख्य भूमिका खेले, उसरी नै उमर खøयाम र उनका रूबाइहरुलाई विश्वप्रसिद्ध बनाउन एड्वर्ड फिड्ज्जेराल्डले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरे ।
रूबाइ पनि छेस्का, युग्मक, अणु कविता, कणिका कविता, हाइकू, एलाक, दुहक, तीहक आदिजस्तै कविताको लघु रुप हो, तर रूबाइका हरफहरु छन्द, लय, मात्रा वा मिटर आदि नियममा बाँधिएका हुन्छन् अनि प्रत्येक हरफ एक–अर्कासित सम्बन्धित रहेका हुन्छन् । रूबाइको निम्ति २४ वटा विशेष छन्द निर्धारित छन्, अनि प्रत्येक रूबाइ यी छन्दहरुमध्ये कुनै एउटा अथवा धेरै छन्दहरुको मिश्रित रुप हुनसक्छ। यसको पहिलो, दोस्रो र चौथो हरफमा तुक्का (काफिया) मिलेको हुन्छ अर्थात् एउटै जस्तो ध्वनि सुनिने शब्दहरु हुन्छन्, तेस्रो हरफको अन्तिम शब्द स्वतन्त्र रहेको हुन्छ अर्थात् तुक्का मिलेको हुँदैन । रूबाइको प्रत्येक हरफलाई ‘मिसरा’ भनिन्छ। रूबाइमा पहिलो मिसराले विषयको उठान, दोस्रोले समर्थन, तेस्रो हरफ स्वतन्त्र रहेर चौथोले प्रहार गरेको हुन्छ, तर प्रत्येक मिसराले स्वतन्त्र रुपमा (एक्लै रहेर) पूर्ण अर्थ नदिन पनि सक्छ अनि एक–अर्कासित सम्बन्धित रहेर मात्रै एउटा विषयवस्तुमाथि प्रकाश पारेका हुन्छन् । ती मिसराहरुलाई तलमाथि पार्दा रूबाइ नै अर्थहीन हुन सक्छ ।
पाठकहरुलाई दार्जिलिङ भेकबाट रूबाइसङ्ग्रह दिनुहुने पहिलो नारी स्रष्टा हुनुहुन्छ– नम्रता संस्कार । उहाँको रूबाइसङ्ग्रह ‘तिम्रो प्रेरणा’ बाट एउटा रूबाइ हेरौँः
सृष्टिको अमूल्य रचना हो नारी
समाजको अलङ्कृत गहना हो नारी
बिक्रीको सामान त पक्कै नि होइन
ईश्वरको अनुपम सृजना हो नारी ।
(तिम्रो प्रेरणा, पृ. ३१)
मुक्तक
मुक्तक पनि कविताको लघु रुप नै हो । अधिकांश मुक्तकहरु प्रायः चार हरफमै लेखिए पनि मुक्तक तर अधिकतम् चार हरफमै हुनुपर्छ भन्ने छैन । छ अथवा आठ हरफमा पनि मुक्तकहरु लेखिन्छन्, लेखिएका छन् । चार हरफको मुक्तक झट्टै हेर्दा र पढ्दा रूबाइजस्तै लाग्छ किनभने रूबाइमा जस्तै मुक्तकमा पनि पहिलो र दोस्रो हरफले विषयको क्रमैसित उठान र समर्थन गर्दछ, तेस्रो स्वतन्त्र रहेको हुनसक्छ अनि चौथोले प्रहार गरेको वा चरम बिन्दु छोएको हुन्छ । अनि, रूबाइमा जस्तै मुक्तकमा पनि पहिलो, दोस्रो र चौथो हरफमा तुक्काबन्दी हुन्छ। तर, मुक्तकचाहिँ लय, छन्द, मिटरको नियमबाट मुक्त रहेको हुन्छ। ती नियमहरुबाट मुक्त रहेको अथवा बन्धनमा नरहेको लघु कविता नै मुक्तक हो । मुक्तकमा चाहिँ प्रत्येक हरफ एक–अर्कासित सम्बन्धित रहेको हुँदैन, अर्थात् प्रत्येक हरफ आफूमै स्वतन्त्र रहेर पनि पूर्ण अर्थ दिइरहेको हुन्छ, जुन प्रायः रूबाइमा हुँदैन, माथि नै भनियो । मुक्तकका हरफहरुको स्थान बदली गर्दा अथवा तलमाथि पार्दा पनि अर्थहरुमा कुनै फरक पर्दैन, पूर्ण अर्थ बोकिरहेकै हुन्छन् । अर्को सजिलो भाषामा रूबाइ र मुक्तकबीच भिन्नता बताउनु हो भने हेर्दा उस्ताउस्तै लागे पनि रूबाइ र मुक्तक जुम्ल्याहा दाजुभाइजस्तै हुन्, जसमध्ये रूबाइ विभिन्न कठोर नियमहरु पालन गर्ने गम्भीर स्वभावको जेठो दाजु हो भने मुक्तक चाहिँ ती नियमहरु पालन नगर्ने, अलि स्वच्छन्द स्वभावको कान्छो भाइ हो । ती दुवै दाजुभाइका हाउभाउ रोचक र चेतनामूलक सन्देश दिने नै हुन्छन् ।
मुक्तकका केही उदाहरण हेर्नुपर्दा नारी स्रष्टाहरुमध्येबाटै दार्जिलिङबाट डा. साङ्मु लेप्चाको मुक्तकसङ्ग्रह ‘तृषित जरूवा’ बाट एउटा लिइहेरौँः
तिमीलाई भेट्न समय बचाएर आएकी हुँ म
मन्दिरमा फूल, भेटी पनि चढाएर आएकी हुँ म
एक सिक्काका दुई पाटासरह हुन् नारी–पुरूष
दलान छोडी तिम्रो हात समाएर आएकी हुँ म ।
(‘तृषित जरूवा’, पृ. ३७)
‘अक्षर–तरङ्ग’ माथि मुख्य पाठकीय दृष्टिकोण
शीर्षकहरुबाटै थाहा लाग्छ, अक्षरहरुको तरङ्ग वा छाल । जसरी समुद्रका तरङ्ग वा छालहरुले मन्द बतास, पवन, सामान्य हावादेखि लिएर हुरी–बतासहरु सृष्टि गर्दछन्, जसले विभिन्न प्रकारका परिदृश्य र परिवर्तनहरु ल्याउँदछन्, उसरी नै प्रस्तुत कृतिमा पनि अक्षर र भावहरु चेतना, चिन्तन, आह्वान, विद्रोह र सुझाउरुपी छालहरु भई उठेका छन्, जसले सकारात्मक परिवर्तनका दिशामा जागरूक गराएका छन् । यस कृतिमा मुक्तककार मञ्जुला तामाङ सुब्बाले प्रगतिशील साहित्यको धारालाई अपनाएकी छन् । प्रगतिशील साहित्यका मुख्य विशेषताहरु हुन् । सामाजिक यथार्थको चित्रण, शोषकवर्गप्रति विरोध, जनसाधारणका भावनाहरुको समर्थन अनि एउटा अझ असल समाजको स्थापनाको निम्ति प्रयास । जात, धर्म, लिङ्ग, राजनीति, कुसंस्कार, रुढीवाद इत्यादिबाट माथि उठेर समाजलाई अग्रगामी दिशामा लैजाने उद्देश्य राखी लेखिने साहित्यलाई प्रगतिशील साहित्य भन्दा अत्युक्ति हुँदैन । यस्तै प्रगतिशील साहित्यभित्र परेका छन् ‘अक्षर–तरङ्ग’ का मुक्तकहरु ।
साधारण व्यक्ति र साहित्य स्रष्टाहरुबीच धेरै धेरै अन्तरहरु हुन्छन् । सोच एउटै भए पनि कल्पना र यथार्थ अनि अभिव्यक्तिको शैली र प्रतिभा फरक हुन्छ । सोच र कल्पना बेग्लै हुनु त सबैभन्दा ठूलो अन्तर हो । यसलाई यसरी बुझौँ– मानौं, कुनै समुद्रमाथिबाट एउटा हवाईजहाज उडिरहेको छ। त्यस हवाईजहाजभित्र साधारण वा निम्नस्तरीय सोच राख्ने अनि नकारात्मक कल्पना गर्ने व्यक्तिहरु पनि हुनसक्छन् अनि त्यही हवाईजहाजभित्र विशिष्ट वा उच्चस्तरीय सोच राख्ने, सकारात्मक र सुन्दर कल्पना गर्ने अनि अभिव्यक्तिको बेजोड प्रतिभा रहेका व्यक्तिहरु पनि हुनसक्छन् । साधारण व्यक्तिले मनमनै यसो भन्छ– “यो हवाईजहाज दुर्घटनाग्रस्त भयो भने मुनिको समुद्रमा खस्नेछ अनि सबैको कति मर्मान्तिक मृत्यु हुनेछ, किनकि समुद्रमा डरलाग्दा मांसाहारी प्राणीहरु छन् ।” साहित्य स्रष्टाले चाहिँ मनमनै यसो भन्न सक्छ– “माथि निलो आकाश, मुनि निलो समुद्र । अहा कति सुन्दर१ यो समुद्रले निलो आकाशको रङ ओढेको हो कि आकाशले निलो समुद्रको रङ चोरेको हो ?” यस्तै विशिष्ट सोच र कल्पनाको उडान भर्नुहुने साहित्यिक स्रष्टाहरुमै पर्नुहुन्छ मञ्जुला तामाङ सुब्बा । उहाँले ‘अक्षर–तरङ्ग’ मा विविध अनुभूतिहरुसँगै सकारात्मक सोच, विचार अनि परिवर्तनकारी आह्वान र सुन्दर कल्पनाहरुलाई समेट्नुभएको छ। उहाँको यस्तै सोचको प्रमाणस्वरुप उहाँको पहिलो मुक्तकसङ्ग्रह केही ‘अक्षर केही भाव–तरङ्ग’ बाट एउटा मुक्तक अघि सारौँः
किपट यी हुन् हाम्रा नबिगारौं ठाउँको नाम
अर्थ मनन् गरौं, बुझौं, जानौं गाउँको नाम
बनौं सतर्क नथपौं, नघटाऔं पुर्खाको देन
थुतिदेलान् जिब्रो अरुले लिँदा बाउको नाम ।
(‘केही अक्षर केही भाव–तरङ्ग’, पृ. ४५)
यस मुक्तकमा मुक्तककारले आफ्ना गाउँठाउँका नामहरु नबिगारौं भन्ने चेतनामूलक आह्वान गर्नुभएको छ । हुन पनि हाम्रा गाउँठाउँहरुका नामहरु धेरैले बिगार्दै गइरहेका छन्, जुन चिन्तनीय र सोचनीय विषय हो । उदाहरणस्वरुप हेर्नुपर्दा, खास नाम त ‘खरसाङ’ हो नि, तर अङ्ग्रेजी र अन्य भाषामा अर्कै भएको छ– ‘कर्सियाङ ।’ ‘तीनधारे’ हो नि, ‘तीनधारिया’ भएको छ । पोख्रेबुङ ‘पोखरियाबोङ’ भएको छ । ‘शिलगढी’ (सिलगढी) अर्थात् शिलाहरुको गढी, ढुङ्गाका किल्लाहरु, ‘सिलिगुडी’ भएको छ। उता ‘मगरजोङ’ लाई पनि कतिले ‘मगरजुङ’ भन्न र लेख्न थालेका छन् । ‘मगरजोङ’ भनेको वीर योद्धा मगरहरुको ‘जोङ’ अर्थात् ‘किल्ला’। सिक्किममा पनि छ, दार्जिलिङ नागरी भेगमा पनि छ मगरजोङ। यस्ता धेरै उदाहरण छन् जसबाट बुझ्न सकिन्छ, हाम्रा गाउँठाउँहरुका नामहरु धेरैले बिगारिरहेका छन् अथवा बिगार्न चाहँदैछन्। जातिको चिनारी र अस्तित्वको सन्दर्भमा यो अत्यन्त दुःखद् र चिन्तनीय विषय हो अनि यस्तै अन्य विषयहरुलाई मुक्तककार मञ्जुला तामाङ सुब्बाले ‘अक्षर–तरङ्ग’ मा समेट्नुभएको छ।
मुक्तकमा भनिएको कुरा स्पष्टै छ, विश्लेषणको आवश्यकता नै छैन । तरै पनि, यति भन्नु उचित हुनेछ– मुक्तककारले यहाँ उठान गर्नुभएको विषय आस्था र विश्वाससित जोडिए पनि त्यो अर्थव्यवस्था, धनको दुरूपयोग अनि नदीनाला र वायु प्रदूषणसित पनि जोडिएको छ । फ्याँक्नुमा हामी साह्रै उस्ताद छौँ । पुरानो समयका सिक्काहरु पुलमाथिबाट खोला–नालातिर फ्याँकेरै सक्यौं । विभिन्न अवसर र पूजाआजामा धेरै पैसा तिरेर पटेका किनेर पड्काएरै, फ्याँकेरै धन नाश र वातावरण विनाश गर्न अनि प्रदूषण फैलाउनमा खप्पिस भएका छन् धेरै मानिसहरु । आस्था र विश्वासबीच रूमल्लिएका यस्तै यस्तै मिल्दाजुल्दा कुराहरुलाई मुक्तककारले उठान र आह्वान गर्न खोज्नुभएको छ । यसै कृतिबाट अर्को मुक्तक हेरौँः
धन्य बन्यौ ब्रह्माण्ड पर्यावरण निःशुल्क दिएर
सहन्छौ कसरी आफ्नै प्रदूषित जलवायु पिएर
हरे१ बुद्धि हामी मानवको अति लज्जाजनक
गर्छौं अभिनय ‘पर्यावरण बचाऔं’ को नारा लिएर । (पृ. १०६)
पर्यावरण प्रदूषणको मुद्दा अहिले सर्वोपरि विश्वव्यापी मुद्दा बनेको छ। पर्यावरण संरक्षण र प्रदूषण न्यूनीकरणका कुरा धेरै हुन्छन् तर काम थोरै अथवा शून्य । प्रकृतिले त आफै बताएको छ नि– ‘हे मानव, मलाई जति दिन्छौ त्योभन्दा अत्यन्त धेरै, असङ्ख्य, अनगन्ती म दिनेछु, चाहे त्यो आदर होस् वा तिरस्कार, सिर्जना होस् वा संहार ।’ पहाड पखेरोमा गएर ‘नमस्कार’ भनेर कराउँदा पहाडमा प्रतिध्वनि हुन्छ र त्यस्तै आदरको ‘नमस्कार’ धेरैपल्ट फर्केर आउँछ। ‘तँ’ भनेर कराउँदा त्यस्ता धेरै धेरै ‘तँ’ हरु फर्केर आउँछन् । धरतीलाई हामीले एउटा बिउ दियौं भने त्यही धरतीको माध्यमबाट प्रकृतिले अजस्र असङ्ख्य अन्न र बिउ प्रदान गर्दछ । यसरी मानवले प्रकृतिलाई जति दिन्छ चाहे त्यो आदर होस् वा तिरस्कार, सिर्जना होस् वा विनाश प्रकृतिले त्योभन्दा धेरै दिन्छ भनी जान्दाजान्दै पनि मानवले टेर्दैन । यस्तै चिन्तनीय कुराबारे यस मुक्तकमा मुक्तककारले दह्रो प्रहार गर्नुभएको छ ।
भाषाशैली र स्तरीयता
‘अक्षर–तरङ्ग’ मा पनि मञ्जुला तामाङ सुब्बाले माथि भनिए झैं सरल र ठेट शब्दहरु प्रयोग गर्नुभएको छ । एक सयवटा मुक्तकहरु सामेल रहेको ‘अक्षर–तरङ्ग’ मा वर्तनी, व्याकरण र वाक्य–विन्यासहरु भारतीय नेपाली भाषा र व्याकरणको दृष्टिले अत्यन्त शुद्ध छन् । भ्रान्तिमूलक अथवा गलत शब्दहरुका प्रयोग कतै भएका छैनन् ।
उपसंहार
साहित्यका विभिन्न विधाहरुमा निरन्तर कलम चलाउनुहुने साहित्य स्रष्टा मञ्जुला तामाङ सुब्बाको पाँचौं कृति मुक्तकसङ्ग्रह ‘अक्षर–तरङ्ग’ मा विविध विषयहरुलाई समेटिएको छ अनि सम्पूर्ण दृष्टिले यो एक स्तरीय कृति बनेको छ। भारतीय नेपाली साहित्य भण्डारमा ‘अक्षर–तरङ्ग’ थपिदिनु भई उहाँले मुक्तक विधाको क्षेत्रमा थप अत्यन्त सराहनीय र उदाहरणीय योगदान दिनुभएको छ। आगामी दिनहरुमा पनि उहाँको कलम यसरी नै ऊर्जाशील र चेतनामूलक बनी यथावत् चलिरहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
(लेखक वरिष्ठ अनुवादक, समीक्षक एवम् पत्रकार हुन्।) सिलिगुडी, भारत ।