विजयपुर । भदौ २३ र २४ को जेन जी आन्दोलनको बलमा प्रतिनिधि सभा विघटन भएपछि फागुन २१ मा भएको निर्वाचनमा पाँच जना ‘जेन जी’ उमेर समूहका व्यक्ति संसद् छिर्न सफल भएका छन् ।

सामान्यतया १३ वर्षदेखि २८ वर्ष उमेर समूहका युवालाई जेन जी भनिदै आएको छ । अर्थात्, सामाजिक सञ्जाल, वैकल्पिक राजनीति र परिवर्तनको नारासँग जोडिएका नवयुवाको आन्दोलनको बलमा सम्पन्न निर्वाचनको मत परिणामले प्रत्यक्षतर्फ जेन जी पुस्ताका जम्मा पाँचजना मात्र सांसद् निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा कम उमेरका निर्वाचित प्रतिनिधि सभा सदस्यमा मकवानपुर २ बाट निर्वाचित प्रशान्त उप्रेती छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उप्रेती २५ वर्षको उमेरमै प्रतिनिधिसभामा पुग्न सफल भएका हुन् । स्नातक तह उत्तीर्ण गरेका उप्रेती नवयुवा प्रतिनिधि बने ।

यस्तै, अर्का जेन जी सांसद् छन् कैलाली २ बाट निर्वाचित २६  वर्षीय केपी खनाल । रास्वपाबाट उम्मेदवार बनेका खनाल सामाजिक अभियानमा सक्रिय रहँदै आएको बताइन्छ । यस्तै, २८ वर्षीय बब्लु गुप्ता पनि जेन जी उमेर समूहका सांसद् बने । सिरहा १ बाट निर्वाचित पूर्व मन्त्रीसमेत रहेका गुप्ता रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नवलपुर २ बाट निर्वाचित मनीष खनाल जेन जी उमेर समूहका हुन् । मध्यविन्दु नगरपालिका ६ निवासी २६ वर्षीय खनालले नेपाल ल क्याम्पसबाट कानून विषयमा स्नातक अध्ययन गरेका छन् ।

यस्तै रूपन्देही २ बाट २८ वर्षीय सुलभ खरेल निर्वाचित भएका छन् । खरेलले पनि नेपाल ल क्याम्पसबाट बीए–एलएलबी अध्ययन गरेका छन् । उनी पनि रास्वपाबाट उम्मेदवार भएका थिए ।

निर्वाचनमा सामाजिक सञ्जाल र युवा अभियानले ठूलो चर्चा पाए पनि राजनीतिक दलले उक्त उमेर समूहका युवालाई प्रत्यक्ष प्रतिनिधित्वमा ५ जनामा सीमित बनाएका छन् । परिवर्तनको आवाज उठाउने जेन जी पुस्ताको राजनीतिक उपस्थिति कमजोर बनेको छ । तर ४० वर्ष उमेर समूहका भने धेरै युवा संसद् प्रवेश गरेका छन् ।