“रात रहे अग्राख पलाउँछ” भन्ने बूढापाकाको उखान त्यसै निर्माण भएको होइन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जुन जनउभार आएको छ, त्यो हुनुमा धेरैले काठमाडौं महानगरका निवर्तमान प्रमुख बालेन्द्र साह (बालेन) को भूमिका रहेको बताउँदै आइरहेका छन् र यो भनाइहरुमा केही सत्यता पनि छ । किनकि उनी जहाँ जहाँ पुग्थे, त्यहाँ त्यहाँ उनलाई हेर्न र फोटो खिच्नेको भीड लाग्थ्यो । यसकारण रास्वपाको एकाएक उचाइ बढ्यो । मधेश प्रदेशमा उनको जनलहर नै चल्यो । रास्वपाले उनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको थियो । सोहीअनुसार उनी पनि झापा ५ बाट पूर्व प्रधानमन्त्रीलाई हराएर आफू प्रधानमन्त्री बन्न चाहन्थे । उनी त्यहीकारण पनि रास्वपासँग सम्मिलित भएका थिए । रास्वपासँग एक प्रकारको सहमति नै गरेका थिए । रास्वपाले पनि त्यो सहमतिलाई स्वीकार गरेको कुरा मिडियाहरुमा आएका थिए ।
तर, अहिले रास्वपामा अत्यधिक जनलहर र उभार देखिएपछि रास्वपाका केही नेताहरुले हिजोका सहमतिको विपरीत बोल्दै आएका छन् । यसमध्येका डीपी अर्याल एक हुन् । उनले आफूले सहमतिमा बालेनलाई प्रधानमन्त्री दिने भन्ने विषयमा थाहा नभएकोसम्म बताएका थिए । यसले पनि माथिको उखानलाई चरितार्थ गर्छ कि भन्ने आशङ्का जनमानसमा सुरू भएको छ । किनकि नेपाली राजनीतिमा यस्ता गतिविधि विगतमा पनि नभएका होइनन् । विगतका नजीरहरुले पनि बालेनलाई प्रधानमन्त्री नबनाउलान् कि भन्ने आशङ्का बढ्दै गएको छ । हाल समानुपातिक मत गणना भइरहेको छ । अहिले नै कुन दलले कति मत ल्याउँछन् भन्ने निश्चित नभइसकेकाले पनि सरकार निर्माणमा केही ढिलाइ भइरहेको देखिन्छ । जतिसक्दो चाँडो सरकार निर्माण गरेर जनतालाई निकास दिन जरूरी छ । जनताले रास्वपालाई पत्याएका होइनन्, खालि पुराना दलबाट आजित भएर नयाँ दलप्रति आशा जगाएका हुन् । त्यो आशालाई विश्वासमा परिणत गर्ने बेला आएको छ । अब डेलिभरीमा जानुपर्ने अवस्था रहेको छ ।
प्रजातन्त्रको पुनर्बहालीपश्चात् नेपाली काङ्ग्रेसका गिरिजाप्रसाद कोइरालाले तत्कालीन काङ्ग्रेसकै अर्का नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने भनी चुनावी अभियानमा होमिएका थिए । तर त्यसबेला काङ्ग्रेसले प्राप्त गरेको मतका कारण गिरिजाले आफै प्रधानमन्त्री बन्नेतर्फ लागे । यस्ता घटनाहरु विगतमा देखिसकेकाले पनि यहाँ पनि खतरा नहोला भन्न सकिन्न । त्यसकारण अहिले रास्वपाले जसलाई देखाएर जनउभार ल्याएको छ, उसलाई प्रधानमन्त्री दिएर अगाडि बढ्नुको विकल्प छैन । जनताको म्यान्डेटलाई विश्वासमा बदल्न आवश्यक छ । पुराना दलहरुको प्रवृत्तिको अन्त्य गर्न आवश्यक छ । पुराना दलहरुलाई सफाचट गरेको अवस्थामा ती दलहरुको जस्तै प्रवृत्तिलाई भित्र्याइरहने हो भने नयाँ दल हुनुको अर्थ हुँदैन । जनताको जनविश्वासलाई आशा र भरोसामा परिणत गर्ने बेला हो । सरकार बनाउने जिम्मेवारी काँधमा आएको छ । सरकारसँगै अब पाँच वर्ष नेपाली जनताले एउटै सरकार देख्न चाहेको छ । त्यो अवसर रास्वपाले प्राप्त गरेको छ । यस अवसरलाई सदुपयोग गर्दै अगाडि बढ्न आवश्यक छ ।
































