विजयपुर । इनरुवा स्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
मंगलबार लौकहीबाट पकलीतर्फ जाँदै गरेको को ३१ प ३२५५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पछाडि सवार इटहरी १७ बस्ने २९ वर्षीय सिद्धार्थ चौधरीको साथबाट ब्राउन सुगर ३५.२६ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले चौधरीसँगै मोटरसाइकल चालक इटहरी–१८ बस्ने २९ वर्षीय जेम्स राईलाई पनि नियन्त्रणमा लिएको छ ।
इनरुवा बसपार्क नजिक अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
दुवै जनालाई बरामद लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरीले जनाएको छ ।































