विराटनगर । मुलुकभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर चलेको बेला हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ ले संसद्मा जबर्जस्त उपस्थिति जनाएको छ । स्थापनाको चार महिनामै यो दलले प्रत्यक्षतर्फ तीन सिट जित्दै र समानुपातिकतर्फको ‘थ्रेसहोल्ड’ कटाएर राष्ट्रिय दल बन्ने निश्चित भएको हो ।

कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये ३ सिटमा जित निकाल्दै साम्पाङको दलले आफूलाई पूर्वको वैकल्पिक शक्तिका रूपमा स्थापित गरेको छ । ठूला राजनीतिक दल र तामझामविना नै ‘श्रम’ को एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएको यो दलले सुनसरी १, भोजपुर र खोटाङमा जित हासिल गरेको हो ।

सुनसरी १ बाट पार्टी अध्यक्ष हर्क साम्पाङ आफै ३५ हजार ७ सय ४१ मतसहित विजयी भएका छन् । उनले रास्वपाकी कोशी प्रदेश अध्यक्ष गोमा तामाङलाई ८ हजार ४ सय ९२ मतान्तरले पराजित गरे । तामाङले २७ हजार २ सय ४९ मत पाएकी थिइन् ।

त्यसैगरी, भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले नेकपा (एमाले) का सचिव एवम् पूर्वमुख्यमन्त्री शेरधन राईलाई स्तब्ध पारेका छन् । ध्रुवराजले १६ हजार ६ सय ६३ मत ल्याउँदा एमालेका प्रभावशाली नेता शेरधन १४ हजार ७ सय ५० मतमा खुम्चिए । खोटाङमा पनि सोही पार्टीका आरेन राई १६ हजार ६ सय १२ मतका साथ विजयी भएका छन् । उनले एमालेका देवविक्रम राईलाई पराजित गरे ।

समानुपातिकमा पनि उल्लेख्य मत

प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ पनि ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ । ९२ लाख ३९ हजार ९ सय ४७ समानुपातिक मत गणना हुँदा यस दलले ३ लाख २० हजार २ सय ८१ मत प्राप्त गरेको छ । पछिल्लो रुझान हेर्दा यो पार्टीले समानुपातिकबाट थप ४ सिट पाउने सम्भावना देखिएको छ, जसले गर्दा संसद्मा यसको सङ्ख्या ७ पुग्न सक्छ ।

यसपटक रास्वपा, काङ्ग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा गरी ६ वटा दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ ।

कोशीको नयाँ शक्ति

कोशी प्रदेशका २८ क्षेत्रमध्ये रास्वपा १७ सिटका साथ पहिलो शक्ति बनेको छ भने काङ्ग्रेसले ४ र एमालेले ३ सिट मात्र जितेको छ । श्रम संस्कृति पार्टीले पनि ३ सिट नै जितेर पुराना दललाई कडा चुनौती दिएको छ । अर्कोतर्फ, नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) भने यस प्रदेशमा ‘निल’ भएको छ । सोमबार राति यो सभाचार तयार पार्दासम्म सङ्खुवासभामा मत गणना जारी थियो । त्यहाँ एमाले झिनो मतान्तरले अगाडि थियो । 

राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेल हर्क साम्पाङलाई एउटा निश्चित समुदायको ‘अर्गानिक’ (जैविक) नेताका रूपमा चित्रण गर्छन् । साम्पाङ र उनको टोली सम्बन्धित समुदायसँगै भिजेकाले जनस्तरबाट बलियो साथ पाएको पोखरेलको विश्लेषण छ । “उहाँ मनमा कुरा नलुकाई स्पष्ट बोल्ने मान्छे हुनुहुन्छ, जे छ त्यही रूपमा प्रस्तुत हुनुभयो, त्यसैले उहाँको समुदायले माया गरेको हो” पोखरेल भन्छन्, “पूर्वी क्षेत्रमा पहिचानवादी आन्दोलन र विकल्पको खोजी भइरहेका बेला आन्दोलनकारीहरूले हर्क साम्पाङमा ‘लिडिङ फेस’ (नेतृत्वदायी अनुहार) देखे  ।”

पार्टी गठनको छोटो समयमै प्राप्त उपलब्धिबाट उत्साहित श्रम संस्कृति पार्टीले अब संसद्मा सशक्त प्रतिपक्षीको भूमिका खेल्ने बताएको छ । पार्टीका उपमहासचिव समीर तामाङले जनताले आफूहरूलाई संसद्को पहरेदारका रूपमा पठाएको प्रतिक्रिया दिए ।

“केन्द्रीय समितिले पूर्णता नपाउँदै हामी चुनावमा होमिनुपर्यो, तर कोशीमा पहिलेदेखि नै श्रमदान अभियान सञ्चालन भएकाले जनताले विश्वास गरे” तामाङले भने, “हामी धर्म र वर्गभन्दा माथि उठेर काम गर्छौं । अब दार्चुलामा तुइन विस्थापन गरी श्रमदान अभियान सुरु गर्ने हाम्रो योजना छ ।”