विजयपुुर । उदयपुरमा कोदोको उत्पादन वृद्धि भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष कोदो उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार कुल पाँच हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको छ । गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएको थियो ।

वर्षा राम्रो हुँदा कोदो उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र उदयपुरका सूचना अधिकारी अनु बिसीले जानकारी दिए । जिल्लाको पहाडी क्षेत्रमा पर्ने ताप्ली, उदयपुर गढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकासहित त्रियुगा नगरपालिकाका पहाडी क्षेत्र, बेलका, चौदण्डी गढी तथा कटारी नगरपालिकाका पहाडी क्षेत्रमा कोदो खेती हुँदै आएको छ ।

त्रियुगा नगरपालिका–१६ सुकौराका डम्बरबहादुर राईका अनुसार गाउँमा धेरै जग्गा पाखोबारी रहेको र बाध्य भएर पनि कोदो खेती गर्नुपर्ने भएकाले उत्पादन राम्रो भएको हो । उनले युवा विदेश पलायन भइरहे पनि गाउँका बुढापाकाले कोदो खेतीमा निरन्तरता दिइरहेको बताए ।

समयमै वर्षा भएकाले कोदो उत्पादन वृद्धि भएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताए । कृषि ज्ञान केन्द्रका अनुसार उदयपुरमा हाल दुई हजार ७६५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ ।रासस