नेपालको अर्थतन्त्रको एक प्रमुख चिन्ताको विषय भनेको असन्तुलित वैदेशिक व्यापार हो, जहा“ आयात उल्लेखनीय रुपमा उच्च र निर्यात अत्यन्त सीमित र निर्बल छ । पछिल्ला केही वर्षहरुमा नेपालको कुल निर्यातमा उल्लेखनीय वृद्धि भएको देखिए पनि त्यो वृद्धि स्थायी उत्पादनमा आधारित नभई पुनःनिर्यात (re-export) मा आधारित रहेको स्पष्ट देखिन्छ । विशेषतः सोयाबिन (भटमास) तेल र सूर्यमुखी तेलले निर्यात सूचकाङ्कमा आँकडाको हिसाबले उछाल ल्याउने देखिए पनि यसले नेपालको वैदेशिक व्यापार घाटा न्यूनीकरण गर्न कुनै प्रभावकारी योगदान हैन, केही राहत देला । आफैले उत्पादन नगरी कच्चा पदार्थका लागि विदेशमै निर्भर रहनुपर्ने भएकाले यो दीर्घकालीन हुन नसक्ने देखिन्छ ।
नेपालले सन् २०२१–०२२ को अवधिमा भारततर्फ सोयाबिन र सूर्यमुखी तेलको निर्यात अभूतपूर्वरुपमा बढायो । नेपालले ती तेलहरु तेस्रो मुलुक अर्जेन्टिना, मलेशिया वा युक्रेनबाट आयात गरेर सीमित प्रशोधन वा पुनःप्याकिङ गरेर भारत निर्यात गरेको छ । सीमित व्यापारी घरानाबाट गरिएको यो व्यापारको आयतन बढ्न सके व्यापार घाटा कम गराउन विविध उपायहरुको खोजीमा सरकार जुट्नु पर्छ । नेपाल–भारत व्यापार सम्झौता (SAFTA) अन्तर्गत भारतले नेपालबाट निर्यात हुने कृषि उत्पादनमा सीमित वा शून्य भन्सार शुल्क लगाउने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न दुवै मुलुकले अनुगमन गरिरहनु पर्दछ ।
यस्ता निर्यातले न त स्थानीय रोजगारी सिर्जना भएको छ, न कच्चा पदार्थमा स्वदेशी निर्भरता रहेको देखिन्छ । सरकारको स्पष्ट औद्योगिक नीति अभावका कारण, पुनःनिर्यातमा आधारित यो व्यापार भारतले नीतिलाई परिवर्तन गरिरहनाले निर्यात ग्राफ पुनः घट्न थालेकामा २०२४/०२५ (२०८१/०८२) मा यी तेलहरुको निर्यातको उल्लेखनीय वृद्धिले नेपालमै कच्चा पदार्थको उत्पादन गर्नलाई सङ्केत गरेको छ । आँकडागत यस्तो खाले चमकले नेपालको निर्यात रणनीति समृद्ध बनाएको भन्न सकिने अवस्था छैन, बरू अझै पनि कमजोर आधारमा उभिएको व्यापार संरचनालाई थप अनिश्चित बनाएको छ भन्न सकिन्छ । नेपालको आयात २० खर्ब नाघिसकेको अवस्थामा निर्यात भने २–३ खर्बमै सीमित रह“दै आएको छ । यो राष्ट्रिय उत्पादन, प्रतिस्पर्धा र आत्मनिर्भरताको गम्भीर सङ्कटको सूचक हो ।
जसरी घरको खर्च आम्दानीभन्दा धेरै भयो भने उधारो बढ्छ, ठीक त्यसरी नै नेपाल हरेक वर्ष भारी मात्रामा विदेशी मुद्राको बहिर्गमन गर्न बाध्य छ । आयातमा अत्यधिक निर्भरता—जसमा पेट्रोलियम पदार्थ, विद्युतीय उपकरण, तयारी खाद्य वस्तुहरु, औषधि र विलासिताजन्य सामानहरुले समग्र अर्थतन्त्रमा असन्तुलन ल्याएको छ । जडीबुटी, फलफूल, कृषि प्रशोधित वस्तु, हस्तकलाका उत्पादनहरुमा आधारित निर्यात प्रवद्र्धन, सस्तो श्रम र कच्चा माल निर्यात होइन, प्रशोधन, गुणस्तर, प्याकेजिङ र अन्तर्राष्ट्रिय ब्राण्डिङमा ध्यान दिनुपर्छ । भारतमा अत्यधिक निर्भरता नेपालको रणनीतिक कमजोरी हो । औद्योगिक क्षेत्र, पूर्वाधार र भन्सार सुविधामा कमजोरी, ढुवानी, भन्सार प्रक्रियामा ढिलाइ, र विद्युतीय प्रणालीको कमजोरीले गर्दा व्यवसायीहरु प्रतिस्पर्धी हुन सक्दैनन् । उद्योगमैत्री पूर्वाधार विकास अपरिहार्य छ ।
अबको आवश्यकता भनेको आत्मनिर्भर, प्रतिस्पर्धी र दिगो उत्पादनमा आधारित व्यापार रणनीति निर्माण हो । केवल आयातमा आधारित खपत होइन, उत्पादनमूलक अर्थतन्त्र र सन्तुलित व्यापार नीतिमार्फत् मात्र नेपालले आर्थिक रुपान्तरणको यात्रा सुरू गर्न सक्छ । अब सरकार, निजी क्षेत्र र योजनाकारहरु मिलेर नयाँ सोच र व्यावहारिक कार्यान्वयनमा आधारित निर्यात रणनीति लागू नगरेसम्म नेपालको व्यापार घाटामा सुधार सम्भव छैन ।