धरान । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार आठौँपटक प्रतिनिधि सभा सदस्य बन्ने प्रयासमा पुनः चुनावी मैदानमा उत्रिएका छन् ।

सुनसरी क्षेत्र नम्बर–३ बाट निरन्तर उम्मेदवार बन्दै आएका गच्छदारलाई यसपटक पनि काङ्ग्रेसले टिकट दिएको छ । यसअघि वेदनारायण गच्छदारलाई टिकट दिने निर्णय भए पनि अन्तिम घडीमा सहमतिका आधारमा टिकट फिर्ता गराउँदै विजयकुमारकै उम्मेदवारी फाइनल गरिएको हो । खासमा वेदनारायणलाई गगन थापाले टिकट दिए पनि विजय गच्छदारले उनलाई मनाएर आफू उम्मेदवार बनेका हुन् ।

देउवा पक्षका मुख्य स्तम्भ मानिने गच्छदार युवालाई अवसर दिनुपर्ने दबावका बावजुद फेरि पनि उम्मेदवार बनेका छन् । तर यो उम्मेदवारी केवल चुनावी प्रतिस्पर्धा मात्र होइन, उनको लामो राजनीतिक यात्राको अर्को कठिन मोड पनि हो ।

२०४८ देखि निरन्तर संसद यात्रा
विजयकुमार गच्छदारको संसदीय राजनीति वि।सं। २०४८ सालबाट सुरु भएको हो । सुनसरीको दुहबी क्षेत्रबाट एमालेका लीला श्रेष्ठलाई झण्डै १२ हजार मतान्तरले पराजित गर्दै उनी पहिलोपटक संसद् भवन छिरेका थिए । त्यसयता उनी दशकौँसम्म सुनसरीको राजनीतिमा अपराजेयजस्तै देखिए ।

२०४८ देखि २०७४ सालसम्म उनले एमालेका विभिन्न उम्मेदवारलाई पराजित गर्दै आफ्नो पकड कायमै राखे । काङ्ग्रेस, फोरम लोकतान्त्रिक र फेरि काङग्रेस—पार्टी बदल्दै गए पनि उनको सत्ता र प्रभाव भने कमजोर भएन । २०७४ सालमा उनका प्रतिद्वन्द्वी भगवती चौधरी बलियो भए पनि अन्ततः उनी विजयी भएका थिए ।

२०७९ को चुनावः पहिलो ऐतिहासिक पराजय
निरन्तर चुनाव जित्दै आएका गच्छदारको राजनीतिक यात्रामा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनले ठूलो मोड ल्यायो । सुनसरी–३ बाट उनी एमालेकी भगवती चौधरीसँग ५ हजार १ सय ८८ मतान्तरले पराजित भए । यो उनको संसदीय निर्वाचनको इतिहासमा पहिलो हार थियो ।

संयोग के थियो भने, अघिल्ला दुई चुनावमा झिनो मतले पराजित भएकी भगवती त्यसबेला राज्यसत्तामा गच्छदार रहेकै समयमा हार्दै आएकी थिइन् । उनले राज्यशक्तिको दुरुपयोग भएको आरोप लगाउँदै पुनः मतगणनाको मागसमेत गर्दै आएकी थिइन् । तर सरकार बाहिर रहँदा गच्छदार भने उनै चिरप्रतिद्वन्द्वीसँग फराकिलो मतान्तरले पराजित भए ।

मन्त्री बन्ने रेकर्डः १४ पटक सरकारमा
विजयकुमार गच्छदार नेपाली राजनीतिमा सबैभन्दा धेरै पटक मन्त्री बन्ने नेतामध्ये एकमात्र नेता हुन् । २०४७ पछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सञ्चार राज्यमन्त्री बनेर सत्ता प्रवेश गरेका उनी हालसम्म १४ पटक मन्त्री र ४ पटक उपप्रधानमन्त्री भइसकेका छन् ।

सञ्चार, निर्माण तथा यातायात, पर्यटन, जलस्रोत, भौतिक योजना, गृह, स्थानीय विकासजस्ता महत्ववपूर्ण मन्त्रालय सम्हालेका उनी सधैँ सत्ता वरिपरि घुमिरहे । गिरिजाप्रसाद कोइरालाका ‘दाहिने हात’ मानिने गच्छदार काङ्ग्रेसभित्र मात्रै होइन, काङ्ग्रेसबाट बाहिरिँदा पनि शक्तिशाली नै रहे । गिरिजा पछि उनी देउवा नजिक भएर सत्ताको स्वाद चाखि रहे ।

मधेस आन्दोलन र फोरमको उदय
२०६३ सालको मधेस आन्दोलनपछि उनी काङ्ग्रेस त्यागेर मधेसी जनाधिकार फोरममा प्रवेश गरे । उपेन्द्र यादवसँग पनि उनी धेरै समय टिकेनन् । त्यसपछि उनी मधेसको अधिकार स्थापित गराउने नारासहित फोरम लोकतान्त्रिकका संस्थापक अध्यक्ष बने । संसदीय मोर्चाको नेतृत्व गर्ने सहमतिमा पार्टीप्रवेश गरे पनि उपेन्द्र यादवसँग शक्ति सङ्घर्ष चुलिँदा पार्टी फुटाएर नयाँ यात्रा सुरु गरेका थिए । यो यात्रा पनि सत्ताकै वरिपरि घुमिरहनु नै थियो ।

फोरम लोकतान्त्रिकको ‘नमस्कार’ चुनाव चिन्ह लिएर २०७४ को निर्वाचन जित्दा उनी फेरि सत्तामा फर्किए । तर काङ्ग्रेस पुनः समायोजनपछि २०७९ मा भने जनमतले साथ दिएन ।

ओरालो जनाधार र चुनौतीपूर्ण भविष्य
कुनै समय भारी मतान्तरले जित्ने गच्छदार पछिल्लो समय झिनो मतमा सीमित हुँदै गए । कार्यकर्ता र जनतासँग दूरी बढेको आरोप लाग्दै आयो । सुनसरीमा काङ्ग्रेसकै अर्का नेता ज्ञानेन्द्रबहादुर कार्की गच्छदारको विकल्पका रूपमा उभिँदै गएका छन् । उनका वरिपरि घुम्ने कार्यकर्ताहरूको भीडसमेत यति बेला घटेको छ ।

२०७९ को निर्वाचनमा उनै गच्छदारलाई हराउने महिला नेत्री भगवती चौधरी फागुन -२१ काे निर्वाचनमा पनि उनको प्रतिद्वन्द्व छन् । महिला सशक्तीकरण र गरिव, विपन्न समुदायका लागि लघुवित्त चलाएर अभियान चलाउदैं आएकी चौधरी सुनसरी–३ मा लोकप्रिय बनेकीछन् । विशेष गरि विपन्न महिलाहरुको सशत्तिकरण अभियानले उनलाई आफ्नो क्षेत्रमा सशक्त बनाएको स्थानीयको भनाई छ ।