काठमाडौँ। मातृभाषा पत्रकारिताले भाषाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकारवालाले बताएका छन्।

भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले भाषा जीवन्त राख्न मातृभाषा पत्रकारिता आवश्यक रहेको र त्यसलाई प्रविधिसँगै जोडेर लैजान सक्नुपर्ने धारणा व्यक्त गरे।

प्रेस काउन्सिल नेपालद्वारा आज आयोजित पाँच मातृभाषामा अनुवादित आचारसंहिता पुस्तिका एवं संहिता भाषागत पत्रकारिता विशेषाङ्क पुस्तक सार्वजनिकीकरणमा उनले भने “भाषा जोगाउन सबैको सामूहिक प्रयासको खाँचो छ। स्थानीयपन नहुने र मौलिकता छोडियो भने मातृभाषा रहँदैन।  पत्रकारिताको माध्यमबाट मातृभाषाको संरक्षण गर्न जरुरी छ।”

डा. ठाकुरले लेख्यरुप नभएका भाषाको प्रवर्द्धनका लागि प्रेस काउन्सिल नेपाल र भाषा आयोगबिच सहकार्य गर्न तयार रहेको बताए। काउन्सिलले मातृभाषामा पत्रकार आचारसंहितालाई अनुवाद गर्ने कार्य सकारात्मक रहेको बताए । “भाषा एकबाट अर्कोमा अनुवाद गर्नु आफैँमा नयाँ सिर्जना हो। यो एक एड्भेन्चर हो”, उनले भने ।

नेपाली मिडियामा विभिन्न आठ मातृभाषाका आचारसंहिता प्रयोगमा छन्। भाषा आयोगका अध्यक्ष डा ठाकुरसहित काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले पुस्तिका सार्वजनिक गरेका छन्।

भोजपुरी, राई (वान्तावा), तामाङ, डोट्याली, लिम्बू भाषामा अनुवादित पत्रकार आचारसंहिता सार्वजनिक गरेको हो। यसअघि काउन्सिलले थारु, मैथिली र नेपाल भाषामा अनुवादित आचारसंहिता सार्वजनिक गरिसकेको छ।

कार्यक्रममा राससका अध्यक्ष झाले मातृभाषा पत्रकारिताले आर्थिक सङ्कट भोगिरहेकाले फस्टाउन नसकेको धारणा राखेका छन् । उनले भने“कुनै वर्ग तथा समुदायको पहिचान जोगाउने माध्यम नै भाषा हो । भाषा पहिचान, परिचय, सभ्यतासँग जोडिएको विषय हो। स्थानीय निकायलाई पनि भाषा जगेर्नामा जिम्मेवार बनाउनुपर्ने बेला आएको छ ।”

उनले देशका धेरै भूभागमा अझै पनि नेपाली भाषा बुझ्ने समुदाय नभएकाले मातृभाषामा पत्रकारिता गर्नु जरुरी रहेको उल्लेख गरे। “आम जनता सुसूचित गर्न मातृभाषा पत्रकारिताको अर्को विकल्प छैन”, उनले बताए। मातृभाषा र स्थानीयपनलाई वेवास्ता गरिए देशको लोकतन्त्र सबल नहुने उनले बताए।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले भाषाभाषीको संरक्षण तथा सम्वर्द्धनमा काम गर्दे आएकामा यो पनि एउटा महत्त्वपूर्ण कदम रहेको बताए। उनले भने, “भाषागत पत्रकारितालाई कसरी बलियो बनाउन सकिन्छ भन्नेमा बहस जरुरी छ। भाषागत पत्रकारिताले हाम्रो पत्रकारिता सुन्दर बन्न पुगेको छ। सञ्चारको सबैभन्दा नजिकको र बुझिने भाषा नै मातृभाषा भएकाले यसको प्रवर्द्धनका निम्ति काउन्सिलले काम गरेको हो।”

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकार आचारसंहिता पत्रकारले मात्र नभई सबैले बुझ्नुपर्ने बताए। उनले भने “अब पत्रकारिताको गुणस्तरको विषयमा बहस र छलफल हुन आवश्यक छ। भाषाभाषीको संरक्षणमा गोरखापत्रले साथ दिँदै आएको छ। विभिन्न भाषामा सामग्री उत्पादन गर्दै आएको छ।”

सार्वजनिक सेवा प्रसारणका सञ्चालक समिति सदस्य फूलमान बलले  पत्रकारिताको माध्यमबाट मातृभाषा विस्तारका लागि सञ्चारको शैली फेरिनुपर्ने उल्लेख गरे। उनले भने “पत्रकारिताको माध्यम रुपान्तरण हुनुपर्छ। अहिले न्यू मिडियाको प्रचलन छ। यी अनुवाद गरिएकालाई भिजुअल, अडियो वा विभिन्न माध्यमबाट पनि लानुपर्छ। न्यू मिडियामैत्री बनाउनुपर्छ।”