धरान । उपभोक्ताले खाने तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि  धरानमा आउने तरकारी विषादीमुक्त बनाउन धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजार व्यवस्थापन कार्यालयको समन्वयमा विषादी परीक्षण तथा व्यवस्थापनसम्बन्धी छलफल गरिएको छ । 

धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाको अध्यक्षतामा सम्पन्न उक्त छलफलबाट चारै नाकाबाट धरान प्रवेश गर्ने तरकारीको नियमित विषादी परीक्षण गरी खानयोग्य तरकारी मात्र बिक्री वितरणको प्रबन्ध मिलाउन बैठकले कृषिउपज बजारलाई निर्देशन दिएको छ । 

बैठकमा कृषि उत्पादन, व्यवस्थापन र बजारीकरणसम्बन्धी विविध विषयमा छलफल गर्दै महŒवपूर्ण निर्णयहरू लिइएको उपप्रमुख बेघाले जानकारी दिए । उनले खाद्य सुरक्षाका लागि विषादी परीक्षण अनिवार्य भएको बताउँदै सबै सरोकारवाला निकायलाई सहकार्यमा जुट्न आह्वान गरेका थिए । 

कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीका अनुसार विषादी परीक्षण कार्य प्रत्येक बिहान २ बजेबाट सुरु गर्ने र ४ बजेभित्र सम्पन्न निर्णय गरेको छ । धरान तथा अन्य क्षेत्रबाट आएका कृषिउपजका नमुना परीक्षण गरी विषादीको मात्रा र सुरक्षाबारे जानकारी दिनेसमेत निर्णय गरेको अध्यक्ष गिरीले जानकारी दिए । बैठकमा सहभागीहरूले विषादीयुक्त तरकारीबारे गम्भीर चासो लिएको अध्यक्ष गिरीले जनाए । 

धरानमा आउने तरकारी विषादीरहित बनाउन धरान उपमहानगरपालिका, कृषि ज्ञान केन्द्र, इलाका प्रशासन कार्यालय धरानका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, कृषि सहकारी संस्था, व्यवसायी, किसान, विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरूबीच कृषिउपज बजारले छलफल गराएको हो । धरानमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ रहेको छ । दैनिक करिब ३५ हजार आइटमसम्म परीक्षण गर्ने क्षमता रहेको अध्यक्ष गिरीले जानकारी दिए । 

केही समयअघि मकवानपुरको पालुङबाट  कृषिउपज बजारमा ल्याइएको २ हजार ४ सय ४२ केजी फूलकोपीमा ९७.४ प्रतिशत अर्गानोफ्स्फेट नामक विषादी भेटिएको थियो । प्राविधिकका अनुसार ३५ प्रतिशतभन्दा कम विषादी भएकालाई उपभोगयोग्य मानिदै आएको छ ।

३५ प्रतिशतमाथि ४५ प्रतिशत केही दिन क्वारेन्टाइनमा राखेर बजार पठाउने गरिएको छ । ४५ प्रतिशतभन्दा बढी विषादी पाइएमा उपभोगयोग्य मानिँदैन ।  तर हाल भने त्यहाँबाट आउने तरकारीको विषादीको मात्रा कम भएको कृषिउपज बजारले जनाएको छ ।