इटहरी । मोरङ सुन्दरहरैँचा नगरपालिका–३ गछियाका ७८ वर्षीय तिवारी माइलो भनेर चिनिने गङ्गाबहादुर तिवारीले शीतल छहारी पाउन छाडेका छन् । सडकछेउका बर पीपलका छहारी मासिएकोमा उनले दुःखेसो पोखे ।
‘हामीजस्ता बूढापाकाको दुःख–सुख साट्ने ठाउँ भनेको यही एउटा शीतल छहारी थियो, त्यो पनि मासियो’–उनले भने । वैशाखको टन्टलापुर घाममा झण्डै आधा किलोमिटर हिँडेर खुइय गर्दै गछिया चोक आइपुगेका तिवारीले विकासको नाममा विनाशैविनाश भएको बताए । उनले भने, ‘विनाश भएअनुसारको विकास भएदेखि मन पनि आनन्दित हुने थियो ।’ चर्काे घामका बीचमा इटहरीको व्यस्त सडकमा गीत गाउँदै भेटिएका दृष्टिविहीन ३७ वर्षीय सुमल्ल ठकुरी विगतमा शीतल छहारीमुनि बसेर गीत गाउँदाको क्षण सम्झन्छन् । शीतल छहारीमुनि बसेर गीत गाउँदा सुन्ने र हेर्ने मान्छेको भीड लाग्ने गरेको उनलाई साथ दिँदै आएकी रूपा ठकुरी बताउँछिन् ।
उमेरले ८० पुगेका दृष्टिविहीन अमरबहादुर गुरुङको बासस्थान अहिले फेरिएको छ । बिहान र बेलुका इटहरीभरि मागेर हिँडे पनि दिउँसो शीतल ताप्ने उनको आफ्नै छहारी थियो । एसियन हाई–वे निर्माण गर्ने भनी एक वर्षअघि राजमार्ग छेउछाउका रुखहरू ढाल्दा उनको शीतल ताप्ने पूर्व लाइन विष्णु मिष्ठान्न भण्डारअगाडिको पीपलको रुख पनि ढल्यो । उनी तिनै दृष्टिविहीन हुन्, जसले इटहरी क्षेत्रमा मागेर जम्मा भएको रकमले विराटनगर रोडस्थित राधाकृष्ण मन्दिरमा ४० हजार रुपैयाँको घण्टा किनेर दान गरे । आफू सधैँ बस्ने पीपलको रुख सडक आयोजनाले काटिदिएपछि हाल उनी त्यही मन्दिरको एक छेउमा बस्दै आएका छन् ।
इटहरी ज्येष्ठ नागरिक समाजका सदस्य नारायण घिमिरे आफ्नो पालामा हुर्काएर बढाएर जवान बनाएका रुखहरू अहिले आँखैअगाडि लडाउँदा मन कटक्क खाने बताउँछन् । उमेरले ८३ काटेका उनी इटहरी–६ का स्थायीवासी हुन् । झण्डै ८ सय मिटर परबाट हिँड्दै आउनु पर्दा ६ पटक बस्दै उपमहानगरमा अवस्थित ज्येष्ठ नागरिक समाजको कार्यालयमा भजन गाउन उपस्थित हुने गरेको उनले बताए । घरदेखि हिँड्दा रुखकै छहारीमा बिसाउँदै आउने उनी अब सहरमा कुनै रुख नै नरहेपछि शीतल ताप्ने छहारी हराएको गुनासो पोख्छन् ।
त्यस्तै वर्षैपिच्छे सामाजिक सञ्जालमा भाइरल हुने इटहरी उपमहानगरअगाडिको शिरिषको फूल पनि आयोजनाले काटिदिएपछि व्यवसायीहरू रुष्ट देखिएका छन् । रुख काटेको एक वर्ष बित्यो तर आयोजनाको काम इटहरीमा एकछेउ पनि सुरु नभएको भन्दै व्यवसायीहरू रुष्ट बनेका हुन् । ‘हामीले त्यहीबेला तत्काल रुख नकाट्न अनुरोध गरेका थियौँ तर आयोजनाका कर्मचारीले कुरै नसुनी धमाधम सबै रुख काटेर सहरको स्वरूप नै बिगारिदिए’ इटहरीमा कफी हाउस सञ्चालन गर्दै आएका भोजराज प्याकुरेल भन्छन्, ‘हामी २–४ जना व्यवसायीले आयोजनाका कर्मचारीहरूसँग अरू रुख काटे पनि वर्षैपिच्छे भाइरल बनेको शिरिषको रुख नकाट्न अनुरोध गरेको तर, कसैको कुरै नसुनी सबै काटे ।’
सडक फराकिलो बनाउने नाममा सहर नै कुरूप पार्ने गरी काम गरिनु उचित नभएको इटहरीका व्यवसायीहरू बताउँछन् । ‘विकास हुनुपर्छ तर सहरकै स्वरूप बिगारेर गरिने विकास आफैमा घातक छ’–व्यवसायी जीवन न्यौपाने भन्छन् । इटहरी क्षेत्रका रुखहरू सबै मासिएपछि बिहान बिहानै गुञ्जिने विभिन्न प्रजातिका चराचुरुङ्गीहरू पनि पलायन भएको इटहरीका समाजसेवी बाबुराम प्रधानले बताए । रुख कटानसँगै वृक्षरोपण कार्यक्रम अघि बढाइएन भने यसले भविष्यमा मानव जीवनसँगै चराचुरुङ्गीहरू पनि सङ्कटमा पर्ने उनको भनाइ छ ।
इटहरीमा रोकियो सडक विस्तार
तीनवटा ओभर पाससहित बन्ने भनिएको एसियन हाई–वेको काम इटहरीमा भने स्थगित भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडकलाई ४ लेनको बनाउने योजनासहित सुरु भएको परियोजना इटहरीमा विवादपछि स्थगित भएको छ ।
३४ अर्ब ९० करोड रुपैयाँ लागतमा काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक निर्माण गर्नुपर्ने भए पनि इटहरीमा केही घरधनीहरूको अवरोधका कारण निर्माणको काम रोकिएको सडक आयोजनाका प्रमुख जगत प्रजापतीले बताए ।
गत २०८० माघ १७ गते झापाबाट सुरु भएको आयोजनाले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरिसकेको प्रमुख प्रजापतीले बताए । इटहरीमा एक दर्जन बढी घर भत्काउनुपर्ने र योजनाअनुसारको ओभर पासमा विवाद देखिएको कारण तत्काललाई निर्माणको काम स्थगित भएको प्रमुख प्रजापतीको भनाइ छ । स्थानीयहरूले चलनचल्तीको मुआब्जा मागेको र ओभरपास गरेर निर्माण गर्दा सहरलाई असर पुग्ने बताउँदै निर्माणमा विवाद भएपछि काम स्थगित गर्नुपरेको उनको भनाइ छ । समस्या समाधानका लागि स्थानीय सरकारसँग सहकार्य भइरहेकाले चाँडै निकास निस्कने उनको भनाइ छ ।
यता उपमहानगरका प्रवक्ता दिवस पोख्रेलका अनुसार स्थानीयसँग मुआब्जा र ओभरपासको विवाद देखिएको बताए । आयोजनाले ओभरपास बनाउँदा दुवैपट्टि पर्खाल बनाउने अडान राखेका छन् भने नगरवासीले पिलर खडा गरेर ओभरपास बनाउनुपर्ने अडान राखेका कारण सहमति भएको छैन । उनका अनुसार प्रयास जारी राखिएको छ ।
निर्माणाधीन एसियन हाई–वेअन्तर्गत इटहरीमा तीनवटा ओभरपास बनाइने योजना अनुरूप काम थाले पनि अवरोधका कारण इटहरीमा कुनै पनि काम भएको छैन । हालसम्म रुख कटान र नापजाँच मात्रै सम्पन्न भएको छ ।