धनकुटा । सहभागितामूलक सामाजिक लोकतन्त्र र पहिचानको आन्दोलनलाई बलियो बनाउन नेपालमा पछिल्लो समयमा पहिचानवादी मोर्चा गठन गर्नुपरेको बताएका छन् ।

पहिचानवादी मोर्चा केन्द्रीय समितिको आयोजनामा सोमबार धनकुटामा सम्पन्न पत्रकार सम्मेलनमा स्थानीय पत्रकारहरूसँग कुराकानी गर्दै मोर्चाका केन्द्रीय अध्यक्ष डा.महेन्द्र लावतीले त्यस्तो बताएका हुन् । उनले पत्रकार सम्मेलनमा मोर्चाको अवधारणा, सिद्धान्तहरू, कार्यनीति र भावी कार्यदिशाको बारेमा खुलेर छलफल चलाएका थिए । पत्रकारहरूसँग कुराकानी गर्दै मोर्चाका केन्द्रीय अध्यक्ष डा. लावतीले २ वटा राजनीतिक अवधारणालाई जनतामाझ अघि सारेका छन् ।

‘देशमा बहुसांस्कृतिकवादभित्र स्वशासन, स्वयत्तता र सहभागितामूलक सामाजिक लोकतन्त्रलाई नयाँ अवधारणाको रूपमा अघि सारेका छन्’ डा. लावतीले भनेका छन्, ‘सामाजिक लोकतान्त्रिक राज्यव्यवस्थामा नागरिकले बढीभन्दा बढी अधिकार पाउनेछन् ।’ युरोपियन देशहरू स्वीजरल्याण्ड, नर्वे, स्वीडेन जस्ता दर्जनौं देशलाई उदाहरणको रूपमा लिन सकिने डा. लावतीले प्रष्ट पारे ।

भ्रष्टाचार निर्मूल पार्न मोर्चा गठन
डा. लावतीले नेपालमा भ्रष्टाचार अत्यधिक मात्रामा बढेकाले पनि भ्रष्टाचार निर्मूल पार्नको लागि मोर्चा खडा गर्नुपरेको स्पष्ट पारेका छन् । अर्को राज्य सञ्चालनमा समानुपातिक प्रतिनिधित्व र समानुपातिक स्रोत साधनको न्यायोचित ढङ््गले वितरण नभएको कारण पहिचानवादी मोर्चा गठन गर्नुपरेको डा.लावतीले स्पष्ट पारेका छन् । ‘नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आए पनि नेपाली समाज बहुजातीय छ, देशमा शासन व्यवस्था भने जहिले पनि एकलजातीय राज्य व्यवस्थामार्फत् विभेद गरिरहेको कारण दिगो विकास, शान्ति अमनचयन कायम हुन सकेको छैन’ डा.लावतीले भने, ‘देशमा दलीय समस्या देखिएको छ, दलका अध्यक्ष आफै छोटे राजा हुन पुग्नु, पार्टी कार्यकर्तामुखी बनाउनु आदि कारणले गर्दा यस्ता खाले अराजक र बेथितिको भण्डाफोर गर्न मोर्चा गठन गर्नुपरेको हो ।’

‘साझा चुनाव चिह्न हुने’
अबको दिनमा मोर्चा कसरी अघि बढ्छ त भन्ने पत्रकारहरूको जिज्ञासामा डा.लावतीले भने, ‘प्रदेश १ मा ‘कोशी’ नाम खारेजीको आन्दोलनमा ४२ वटा घटकहरू क्रियाशील रहेकोमा अब त्यसमा मोर्चा १ थपिएर ४३ वटा घटक भएको छ ।’ जिल्ला–जिल्लामा पहिचानको आन्दोलनमा लागेकाहरू मोर्चामा आबद्ध हुने दाबी गर्दै डा.लावतीले भने, ‘देशव्यापीरूपमा पहिचानवादीहरू एकै थलोमा उभिएर ०८४ को निर्वाचनमा निर्वाचन आयोगमा दल दर्ता गरेर एउटै चुनाव चिह्नमा ढ्वाङ थापिनेछ ।’

उनले भने, ‘मोर्चामा एमाले, काङ्ग्रेस, माओवादी, जसपाका नेता कार्यकर्ताहरू आउने क्रम बढिरहेको छ, यो स्वागतयोग्य कुरा हो । सबैलाई समेटेर समानान्तर रूपमा मोर्चामा पार्टीको जिम्मेवारी दिएर लगिनेछ ।’ डा.लावतीले भने, ‘मिसन ०८४ मा जसको कारण देशभर प्राविधिकरूपमा पहिचानवादीहरूको साझा एउटै चुनाव चिह्नमा ढ्वाङ थाप्न सकियोस् ।’ त्यसो भयो भने मात्र देशव्यापीरूपमा पहिचानवादी मोर्चा बलियो हुने दाबी डा.लावतीको छ ।

‘मोर्चा गठनले पहिचानको आन्दोलन झन् बलियो भयो’
उनले पहिचानको आन्दोलन कमजोर भएको हो कि भन्ने पछिल्लो समयमा कोही कसैलाई लागेको छ भने त्यो भ्रम मात्र हुने बताएका छन् । ‘हालै सम्पन्न भएको इलामको उप–निर्वाचनमा २ हप्ताको चुनाव प्रचार–प्रसारमा पहिचानवादीहरूले ल्याएको भारी मतले पहिचानवादीहरू घटेका छन् कि बढेका छन् भनेर आफै आँकलन गर्न सकिन्छ’–डा.लावतीले भने । तसर्थः उनले भने, ‘पहिचानको आन्दोलन घटेको छैन, निरन्तर अघि बढिरहेको छ, सडक आन्दोलन मात्र हैन, राज्यमा धक्का दिन पनि सक्छौं, मोर्चा बलियो बनाउन सबै एकै ठाउँमा आउनुपर्छ ।’

पत्रकार सम्मेलनमा पहिचानवादी अग्रज वरिष्ठ पत्रकार भवानी बरालले पत्रकार सम्मेलनको औचित्यमाथि प्रष्ट पारेका थिए । सो अवसरमा मोर्चाका केन्द्रीय सदस्यहरू असिम पालुङ्वा, चन्द्र मादेन, खगेन्द्र माक्खिमलगायतको उपस्थिति रहेको थियो ।

साथै स्थानीयहरूमा कोशी नाम खारेज सङ्घर्ष समिति धनकुटाका संयोजक सञ्जयसन्तोषी राई, सदस्यहरू जितेन्द्र माम्पाङ, आकाश राई, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राई, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामालगायत स्थानीय पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।