धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मनोसामाजिक समस्याको दुरुस्त पहिचान, परामर्श र उपचारका लागि विशेष मनोसामाजिक परामर्श डेस्क स्थापना गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्रअनुसार प्रतिष्ठानले कात्तिक २३ गते डेस्क स्थापना गरिएको हो । प्रतिष्ठानको मानसिक रोगका प्रमुख प्रा.डा. धनरत्न शाक्यको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो ।
जेन जी आन्दोलनबाट प्रभावित व्यक्तिमा देखिन थालेका मनोसामाजिक समस्याको दुरुस्त पहिचान, परामर्श र उपचारका लागि सो डेस्क गठन गरिएको प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानले जानकारी दिइन् ।
उनका अनुसार सेवाग्राहीहरूले प्रतिष्ठानको मानसिक स्वास्थ्यको ओपीडीमा सञ्चालनमा आएको डेस्कमा सम्पर्क गरी निःशुल्क तथा नियमित परामर्श सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले कात्तिक २० गते देशभरका ठूला अस्पतालहरूमा मनोसामाजिक परामर्शका लागि पत्राचार गरेको थियो । प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयको परिपत्रलगत्तै कात्तिक २३ देखि नै सेवा दिन थाले पनि हालसम्म कसैले सेवा नलिएको प्रवक्ता प्रधानले जानकारी दिइन् ।
































