विराटनगरको नोबेल अस्पतालमा एक सात वर्षीय बालकले जुन हबिगत भोगेका छन्, त्यो लापरबाहीको हद हो भन्ने हिच्किचाउनु पर्दैन । यस्ता घटनाका कारणले गर्दा पनि स्वास्थ्यसंस्थाप्रति आम मानिसको धारणा नै परिवर्तन हुन थालेको छ । सुनसरी इटहरीका सात वर्षीय बालकको नाकमा आएको मासुलाई फाल्नका लागि गरिएको शल्यक्रियापश्चात् जुन परिणाम आयो, त्यो परिणामले परिवारमा मात्रै हैन, बालकको जीवनमाथि नै बज्रपात भइदियो । उनको आँखाको ज्योति गुमेको भनी सम्बन्धित अस्पतालले मात्रै हैन, विराटनगर आँखा अस्पतालले पनि उक्त कुरालाई पुष्टि गरिदिएको छ । स्वास्थ्योपचार मानिसका लागि जीवनदान हुनुपर्छ । तर नोबेलमा भएको यस घटनाले स्वास्थ्य संस्थाप्रतिको आमविश्वासलाई उडाएको छ ।
प्रारम्भिक उपचारका आधारमा उनको दाहिने आँखाको ज्योति सधैँका लागि गुमेको भनिएको छ । परिवारजनले उनलाई थप उपचारका लागि काठमाडाँैस्थित तिलगङ्गा आँखा अस्पताल लगेका छन् । परिवारले एउटा समस्याको उपचार गर्न जाँदा अर्को समस्याबाट जुध्नु परेको छ । आर्थिक क्षति सँगसँगै मानसिक क्षति र समयको क्षतिको आँकलनभन्दा बाहिर छ । यसतर्फ अस्पतालले कसरी सोच्ला ? उसले सामान्य जवाफ दिएर पुग्ने अवस्था छैन । एउटा बालकको सिङ्गो जीवनलाई अस्पतालले क्षतिपूर्ति दिनुपर्छ । किनकि उसको गुमेको आँखा पुनः फर्काउन सक्ने अवस्था छैन । डाक्टरलाई भगवान्को अर्को रुप मानिन्छ । मानिसले अन्तिम अवस्थामा पनि डाक्टरलाई आश राखेका हुन्छन् । उनीहरुप्रति मानिसको आमविश्वास हुन्छ । तर यहाँ स–साना घटनाका कारणले डाक्टरप्रतिको विश्वास मर्दै गएको हो कि भन्ने भान पर्न थालेको छ ।
यस्ता घटनाले पनि हाम्रो स्वास्थ्य प्रणालीको संवेदनशील र कहालीलाग्दो पाटोलाई उजागर गरेको छ । यो घटना सामान्य आँखाले हेर्दा पनि क्षमायोग्य छैन । नोबेलले बिरामीको अवस्थालाई मध्यनजर गर्दै अन्यत्र पठाउनुपर्नेमा डिस्चार्ज गरेर मानवीयतालाई समेत तिलाञ्जलि दिएको छ । यसले पनि नोबेल कति गैरजिम्मेवार छ भन्ने प्रष्ट हुन्छ । बालकको आँखाको भित्री भागको हड्डीसहितको संरचना नै गम्भीररुपमा क्षतिग्रस्त भएको भनिएको छ । यसले गर्दा उनी जीवनभर अपाङ्ग भएर बाँच्न विवश हुनेछन् । यसका लागि आफन्तजनले न्यायको ढोका ढक्ढक्याउनु आवश्यक देखिएको छ । उनीहरुले जिल्ला प्रशासन तथा प्रहरीमा उजुरी दिएर मात्रै पुग्दैन । ती बालकको जीवनभरको क्षतिपूर्ति नोबेलले दिनुपर्छ ।
यस्ता घटनाहरु नेपालमा धेरै भएका छन् । काठमाडौँको वीर अस्पतालले एक महिला कर्मचारीको उपचारमा लापरबाही गरेको विषयमा अन्ततः न्यायालयबाट क्षतिपूर्ति प्राप्त गरिन् । यसकारण परिवार तथा आफन्तजनले पनि यो घटनालाई अदालतको ढोका ढक्ढक्याउन आवश्यक छ । यति मात्रै हैन, उपचारमा संलग्न चिकित्सकहरुलाई कारबाही पनि हुनुपर्छ । यो घटना समग्र स्वास्थ्य सेवा प्रणालीका लागि एउटा पाठ हो । चिकित्सकले गर्ने हरेक शल्यक्रिया र उपचार पद्दतिमा उच्चतम् मापदण्ड र सतर्कता अपनाउनु अनिवार्य छ भन्ने देखाएको छ । जेनिशको पीडालाई केवल एक दुर्घटना भनेर टार्न खोजियो भने भोलि यस्ता घटनाहरुले निरन्तरता पाउनेछन् । सरकार, नियामक निकाय र स्वयम् स्वास्थ्यसंस्थाले बुझ्नुपर्छ कि कुनै पनि बालकको भविष्य र जीवनको उज्यालो पैसाभन्दा लाखौँ गुणा मूल्यवान् हुन्छ ।
































