धरान । जिल्लास्तरीय अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी कप’ अन्तर्गत सोमबारको खेलमा माउन्ट हर्मन र नेपाल पुलिस स्कुल विजयी भएका छन् । दुवै टिम क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा माउन्ट हर्मनले धरानकै विजयपुर स्कुललाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफ दी म्याच माउन्ट हर्मनका सिकुम लिम्बू घोषित हुँदै ट्रफी पाए । यस्तै दोस्रो खेलमा नेपाल पुलिस स्कुलले धरानकै बुद्ध आदर्श स्कुललाई १०–० को फराकिलो गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दी म्याच पुलिस स्कुलका समिर राई घोषित हुँदै ट्रफी पाए । 

एकेडेमी कपको आर्थिक संयोजक तपकुमार राईका अनुसार आज (मङ्गलबार) हुने पहिलो खेल ज्ञानकुञ्ज स्कुलविरुद्ध प्रभात स्कुल र दोस्रो खेल सैनिक महाविद्यालय स्कुलविरुद्ध सुनाखरी हरियोबीच हुने जनाए । प्रतियोगितामा सुनसरीभरिका १६ टिम सहभागी छन् । जसमा सुनसरीको इटहरीस्थित हिमशिखर बोर्डिङ स्कुल र रामधुनीको लर्ड बुद्ध स्कुल सहभागी रहेको छ । कक्षा १० सम्मका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालय सहभागी रहेका छन् । प्रतियोगिताको फाइनल यही मङ्सिर १७ गते हुँदै छ ।

प्रतियोगिता विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २५ हजार रुपैयाँसहित ट्रफी पाउनेछ । यस्तै सेमिफाइलनमा पराजित भएका दुई टिमले पनि नगद पाँच–पाँच हजार रुपैयाँसहित ट्रफी पाउने सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । यस्तै विधागततर्फ पनि पुरस्कार प्रदान गरिने भएको छ ।