धरान । सुनसरीको धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीहरूले धरान–१६ को मानव सेवा आश्रममा आश्रितलाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेका छन् ।
विद्यालयको वार्षिक कार्यक्रम ‘शिक्षासँगै संस्कार र मानव सेवा’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले आश्रित सहाराविहीन ३१ जनालाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेको छ । विद्यार्थीहरूले गत दशैँमा टीका लगाएको दक्षिणा र तिहारमा देउसी खेलेर सङ्कलन गरेको रकमबाट आश्रमलाई सामग्री हस्तान्तरण गरेका हुन् । करिब ५५ हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको जनाइएको छ । आश्रममा आश्रितलाई २१ थान कम्बल, २५ केजी चामल, १० लिटर खानेतेल, फलफूल वितरण गरेको हो ।
यस्तै सरसफाइका लागि सामग्रीहरू प्रदान गरिएको स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । उनले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानका साथसाथै असल संस्कार र असहायप्रति निःस्वार्थ सेवा तथा करुणाभाव अभिवृद्धि गर्ने उद्देश्यले सामग्री प्रदान गरिएको जानकारी दिए । कक्षा–९ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको स्वेच्छिक सहयोगबाट सहयोग गरिएको हो । सामग्री हस्तान्तरण कार्यक्रम धरान उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत ध्रुव खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सामग्री हस्तान्तरणसँगै विद्यार्थीहरूले आश्रित बालबालिकासँग अन्तरक्रिया पनि गरेका थिए । यसअघि पनि विद्यालयले ज्ञानचक्षु विद्यालय र इटहरीस्थित ‘माया घर नेपाल’ लाई सहयोग गरेको थियो । आगामी दिनमा पनि यस्ता मानवीय कार्यहरूलाई निरन्तरता दिने प्रिन्सिपल श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्न र असल संस्कार सिक्नको लागि अत्यन्तै महŒवपूर्ण सिकाइ अनुभव दिएको संयोजक शिक्षक भवानीप्रसाद खतिवडाले उल्लेख गरे ।
































