विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा गरिएको शल्यक्रिया ७ वर्षीय बालक जेनिश पाठकका लागि जीवनभरको अभिशाप बनेको छ ।

नाकभित्र पलाएको मासु (पोलिप) हटाउन अस्पताल पुगेका जेनिशले चिकित्सकको गम्भीर लापरबाहीका कारण आफ्नो दाहिने आँखाको उज्यालो सधैँका लागि गुमाएका छन् ।  बच्चाको थप उपचारको लागि काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पताल लगिएको परिवारजनले जनाएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१ हाँसपोसाका पाठक परिवारले मङ्सिर ४ गते छोराको नाकमा देखिएको सामान्य समस्याको उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरेका थिए । भोलिपल्ट मङ्सिर ५ गते डा. प्रज्वल श्रेष्ठ, डा. कविराज बास्तोला र डा. कुन्दन खनाल संलग्न टोलीले शल्यक्रिया ग¥यो । तर, शल्यक्रियापछि जेनिशको अवस्था सुध्रिनुको सट्टा झनै भयावह बन्यो । उनको दाहिने आँखाको ज्योति पूर्णरूपमा गुमिसकेको थियो ।

“डिस्चार्ज रिपोर्टमा भिजन लक भएको छ भनेर हस्पिटलले दिएको स्चिार्ज पेपरमै स्वीकार गरिसकेको छ” मामा श्रीकृष्ण प्रसाईंले भने । आफ्नो गल्ती र त्यसबाट उत्पन्न गम्भीर परिणामलाई ढाकछोप गर्न अस्पताल प्रशासनले भोलिपल्टै बालकलाई हतार–हतार डिस्चार्ज गरिदियो । “हामीलाई विभाग प्रमुखले शल्यक्रिया गर्ने आश्वासन दिएका थिए, तर सिकारु डाक्टरको जिम्मा लगाएर मेरो भान्जाको भविष्यमाथि खेलवाड गरियो” जेनिशका मामा श्रीकृष्ण प्रसाईंले पीडा पोखे, “आँखामा समस्या देखेपछि उनीहरूले आफै उपचार गर्ने वा विशेषज्ञलाई देखाउने कुनै पहल गरेनन्, उल्टै ‘आँखा अस्पताल लैजाऊ’ भन्दै गैरजिम्मेवार तरिकाले पन्छाइदिए ।”

नोबेलको व्यवहारबाट शङ्का लागेर परिवारले जेनिशलाई विराटनगर आँखा अस्पताल पु¥याउँदा उनीहरूको आशङ्का भयानक यथार्थमा बदलियो । आँखा अस्पतालका चिकित्सकहरूका अनुसार, शल्यक्रियाका क्रममा बालकको आँखाको भित्री भागको हड्डीसहितको संरचना नै गम्भीररूपमा क्षतिग्रस्त भएको छ । ज्योति फर्कने सम्भावना २ प्रतिशतभन्दा पनि कम रहेको चिकित्सकले सुनाएपछि परिवार स्तब्ध बनेको छ ।

अस्पतालको चरम् लापरबाही र गैरजिम्मेवारीपनविरुद्ध पाठक परिवारले जिल्ला प्रशासन कार्यालय मोरङमा नोबेल अस्पताल र उपचारमा संलग्न चिकित्सकत्रय श्रेष्ठ, बास्तोला र खनालविरुद्ध किटानी जाहेरी दिएको छ । उनले जिल्ला प्रहरी कार्यालय मोरङमा ठाडो निवेदन दिएको उनले फोनमार्फत जानकारी दिए । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले घटनालाई अत्यन्तै गम्भीरतापूर्वक लिइएको र तत्काल छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिए । “उजुरी प्राप्त हुनासाथ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा फाइल पठाइसकेका छौँ” प्रजिअ कट्टेलले भने, “प्रहरीको प्रतिवेदनका आधारमा नेपाल मेडिकल काउन्सिलसँग समन्वय गरी कारबाही अघि बढाइनेछ ।”

यस गम्भीर आरोपबारे प्रतिक्रिया लिन खोज्दा नोबेल मेडिकल कलेज जेनेरल प्रमुख दिपेश राईले घटनाका विषयमा बुझेर मात्र भन्न सकिने बताए । “सोमबार डिपार्टमेन्ट प्रमुखसँगको छलफल रहेको छ । यस विषयमा त्यसपछि उहाँहरूसँग बुझेर मात्रै भन्न सकिन्छ”–उनले भने ।