धरान । गाँजा तस्करीको मुख्य नाका मानिएको धरान उपमहानगरपालिका वडा नं. २० स्थित भञ्ज्याङ्बाट ५० केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । 

आइतबार दिउँसो अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा को. १ ज २१७८ नम्बरको यात्रुवाहक पिकअप गाडीबाट गाँजा बरामद गरेको हो । 

चेकजाँच गर्ने क्रममा उक्त गाडीको पछाडिपट्टिको डालामा पाँचवटा कालो झोलामा सो परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा दुईजना व्यक्ति गाडीबाट हाम्फालेर भागेको प्रहरीले जनाएको छ ।

गाडी तथा धनकुटा साँगुरीगढी–९ का खड्गबहादुर मगराती र सह–चालक दुर्गा विकलाई भने नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा पठाइएको छ । फरार भएका अन्य व्यक्तिहरूको भने खोजी गरिरहेको प्रहरीले जनाएको छ ।