धरान । सुनसरीको इटहरी आउने क्रममा नेकपा (एमाले) नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ ।

उनीमाथि विराटनगर एयरपोर्टबाट बाहिर निस्कने क्रममा आक्रमणको प्रयास भएको हो । विमानस्थलअगाडि दुईजनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो । मसी प्रहार गर्ने नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता रहेको जनाइएको छ । मसी प्रहार गर्नेमा विराटनगर–१ का सञ्जोग गौतम र विराटनगर–२ का अर्पित कुँवर रहेका छन् । मसी प्रहार गर्ने गौतम नेपाली विद्यार्थी सङ्घका मोरङ जिल्ला सदस्य रहेका छन् । उनीहरू संस्थापन इतरको रहेको जनाइएको छ । उनलाई डा. शेखर कोइराला समूहले महेन्द्र मोरङ क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइ सभापतिमा उठाएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएका गौतम नेविसङ्घ (शेखर समूह) महेन्द्र मोरङ क्याम्पस एकाइ सभापति हुन् । महेन्द्र मोरङमा संस्थापन र कोइराला समूहको छुट्टाछुट्टै समिति छ । प्रहरी नियन्त्रणमा रहेका गौतम पार्टीको जिल्ला सदस्यसमेत थिए । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपतिलाई दुव्र्यवहार गरेपछि उनलाई कारबाही गरिएको नेपाली काङ्ग्रेस मोरङले जनाएको छ । २ महिनाअघि उपकुलपतिमाथि दुव्र्यवहार भएको थियो । गौतम पछिल्लो समय जेन जी आन्दोलनमा समेत लागेको बुझिएको छ । पक्राउ परेका अर्का १९ वर्षीय अर्पित कुँवर पनि नेविसङ्घकै नेता हुन् । भदौ २३–२४ गतेको जेन जी युवा अभियानमा समेत रहेका उनी सरकारसँगको वार्ता टोलीका लागि काठमाडौं आएका थिए । उनीहरू दुवैलाई साँझमा छाडिएको छ ।

यता जेन जीहरूले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनका क्रममा सडकमा टायरसमेत बालिएको थियो । बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार रहेको गाडी क्रस भइसके पछि स्थानीय युवाहरूले टायर बालेर प्रदर्शन गरे । टायर बालिएपछि प्रहरीले तत्कालै ‘क्लियर’ गरेको थियो ।

यो घटनालाई लिएर महेश बस्नेतले आक्रोस पोखेका छन् भने कोशी प्रदेश समितिले विज्ञप्ति जारी गरी भत्र्सना गरेको छ । विमानस्थलबाहिर भएको आक्रमणको प्रयासलाई लिएर कोशी प्रदेश कमिटीले कडा आपत्ति जनाएको हो । कोशी कमिटीले यस्ता गतिविधिलाई लोकतन्त्र, मानवअधिकार र कानूनी शासनमाथिको प्रत्यक्ष प्रहार भनेर उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “राजनीतिक असहमति व्यक्त गर्ने नाममा हिंसा वा आक्रमण गर्ने प्रवृत्ति पूर्ण रूपमा अस्वीकार्य छ ।” एमालेले स्वतन्त्र आवागमन, शान्तिपूर्ण सभा–जुलुस र राजनीतिक गतिविधि लोकतन्त्रका आधारभूत अधिकार भएको उल्लेख गरेको छ ।

यता नेविसङ्घका कार्यकर्ता रहेको समाचारहरू बाहिरिएपछि नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले एमाले नेता बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कारबाही गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, “नेकपा (एमाले) र अखिलसँग हाम्रो सयौं विमतिहरू छन् । लोकतन्त्रमा विरोध सबैको अधिकार हो । तर आज विराटनगरमा महेश बस्नेतमाथि रातो मसी छ्याप्ने कायरता नेविसङ्घको होइन । सङ्गठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिन्छ ।”